April 19th, 2020

लकडाउनलाई अबसर मान्नुस् ! बैंकिङ परिक्षाको तयारी गर्नुस्, (तयारी सामग्री सहित)

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने गर्छ । तर, छनौटका क्रममा बैंकहरुले आफूले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता, आवेदकहरु आफू किनछनौट भइएन भन्नेमा अलमल पर्छन् ।

कुनै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । सरकारी बैंकहरुले भ्याकेन्सी खोलेका छन् भने परीक्षाको तयारीका लागि पाठ्यक्रम पनि उपलब्ध गराएका हुन्छन् । निजी स्तरका बैंकहरुले पनि लिखित परीक्षा मार्फत कर्मचारी छनौट गर्दैछन् भने सोहीअनुरुप तयारी गर्नुपर्छ । पहिलो कुरा त तपाईँ कुन पदको लागि एप्लाई गर्दै हुनुहुन्छ र त्यो पदमा रहेर तपाईँले पुरा गर्नुपर्ने जिम्मेवारी केके छन् भन्ने कुरामा नै स्पष्ट हुनुपर्छ । समग्रमा भन्नुपर्दा, बैंकिङ परीक्षाको तयाीगर्दा निम्न कुराहरुमा ध्यान पुर्याउनुपर्दछः

बैंकिङ क्षेत्रको विकासक्रम
बैंकमा जागीर खाने सोँच बनाउने वित्तीकै तपाईँ पहिले नेपालमा बैंकको सुरुवात कहिले र कसरी भयो ? बैंकको सुरुवात हुनुअघि कसरी कारोबार हुन्थ्यो ? बैंकको सुरुवातदेखि हालसम्म केकस्ता परीवर्तनहरु भएका छन् ? लगायतका विषयमा खोजीखोजी अध्ययन गर्नुहोस् ।

नियामक निकाय
नेपालको बैंक तथा वित्तीय संस्थाहरुको नियमन नेपाल राष्ट्र बैंकले गर्छ । यो विषयमा तपाईँ जानकार पक्कै हुनुहुन्छ । तर, नेपाल राष्ट्र बैंकको बारेमा तपाईँलाई अरु केके थाहा छ ? यसको स्थापना, हाल सम्मका गभर्नरहरु, गभर्नर एवम् डेपुटी गभर्नरको निकाय, राष्ट्र बैंकका कार्यहरु, विभागहरु ल्गायतका विषयमा पनि जानकारी लिनुहोस् ।

वेभसाइटबाट हासिल गर्नुहोस् धेरै कुरा :  हेर्नुस् नेपाल राष्ट्र बैंकको वेभ

बैंकिङ प्रविधिहरु
अहिले बैंकिङ क्षेत्रमा द्रुत गतिमा प्रविधिको विस्तार भइरहेको छ । कतिपय प्रविधिहरु त तपाईँ पनि प्रयोग गर्नुहुन्छ होला । ती प्रविधिहरुका बारेमा तपाईँलाई कत्तिको थाहा छ ? बैंकले प्रयोग गर्ने सफ्टवेयरहरुको बारेमा वा बैंकका ग्राहकहरुका लागि ल्याइएका कार्डहरु, मोबाइल बैंकिङ लगायतका विषयमा पनि अध्ययन गर्नुहोस् ।

बैंकबारे जानकारी
बैंक कसरी संचालनहुन्छ ? सर्वसाधारणहरुबाट पैसा लिएपछि व्याज कसरी दिन्छ ? ऋणीहरुलाई ऋण कसरी प्रदान गर्छ ? अन्य केके काम बैंकबाट हुन्छ ?यस्ता सबै जानकारी पनि तपाईँसँग हुनुपर्छ । त्यस्तै, शेयर बजार, बीमा, रेमिट्यान्स लगायतसँग बैंकको सम्बन्ध पनि जान्नुपर्छ ।

बैंकिङ शब्दावलीहरुबारे स्पष्ट जानकारी
हरेक क्षेत्रमा प्रयोग गर्ने शब्दावलीहरु फरक हुन्छन् । त्यस्तै, बैंकिङ क्षेत्रमा प्रयोग हुने थुप्रै शब्दावलीहरु छन्, जुन अन्य क्षेत्रमा प्रयोग हुँदैन । तपाईँ बैंकिङ क्षेत्रमै प्रवेश गर्ने भएपछि यस्ता शब्दावलीहरु खोजीखोजी पढ्नुहोस् ।

विद्यमान बैंकिङ नीति
बैंकिङ क्षेत्र निश्चित ऐन तथा नीति अन्तर्गत रहेर चलेको हुन्छ । हाल कुन ऐन तथा नीति अन्तर्गत रहेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमन गरिरहेको छ भन्ने विषयमा जानकारी प्राप्त गर्नुहोस् ।

चालू मौद्रिक नीति र बजेट
हरेक आर्थिक वर्षमा सरकारले नयाँ बजेट सार्वजनिक गर्छ । सोहीअनुसार, राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्छ । चालू आर्थिक वर्षको बजेट र त्यसले लिएका लक्ष्यका साथै मौद्रिक नीतिको पनि गहन अध्ययन गर्नुहोस् ।

नेपाल राष्ट्र बैंकद्धारा जारी चालु आबको मौद्रिक नीति   

राष्ट्र बैंकका नीति निर्देशनहरु

बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकले समय समयमा निर्देशन जारी गर्ने गर्दछ । कहिले व्याजदर सम्बन्धमा, कहिले मर्जर सन्दर्भमा वा अन्य विषयमा । यस विषयमा जानकारी लिइरहनुपर्दछ । राष्ट्र बैंकले के कस्ता निर्देशन जारी गर्यो र किन भन्ने विषयमा थाहा हुनुपर्दछ ।

अन्तराष्ट्रिय परिवेश
देशको वित्तीय क्षेत्रका बारेमा त जान्नुपर्छ नै । साथमा अन्तरराष्ट्रिय वित्तीय बजारमा केके भइरहेको छ भन्ने कुराको पनि जानकारी लिइरहनुपर्छ । विश्व बैंक, आईएमएफ, एडीबीजस्ता संस्थाको सल्लाह सुझाव लगायत नेपालको बैंकिङ क्षेत्रलाई प्रवाभ पार्न सक्ने हरेक कुराहरुको अध्ययन गर्नुपर्छ ।

एप्लाई गरेको बैंकको बारेमा
तपाईँले एप्लाई गर्नुभएको बैंकको बारेमा तपाईँलाई केके थाहा छ ? स्थापना, वित्तीय अवस्था, शाखा संजाल, अध्यक्ष, सीईओ लगायत साथै बैंकले प्रदान गर्ने सेवा, व्याजदर लगायतका विषयमा जानकारी लिनुहोस् ।

कहाँबाट लिने त जानकारी ?
बैंकमा जागीर खानको लागि बैंकिङ क्षेत्रसँग सम्बन्धित सबै कुराको जानकारी चाहिन्छ । यस्ता जानकारीहरु समावेश गरिएका पुस्तकहरु बजारमा पाइन्छन् । पुस्तकमा नपाइएका कुराहरु नेपाल राष्ट्र बैंकको वेभसाइटमा पाइन्छ । समसामयिक जानकारीका लागि समाचार हेर्नुपर्छ । बैंक सम्बन्धी जानकारीका लागि बैंकको वेभसाइट हेर्न सक्नुहुन्छ ।

विश्लेषणात्मक क्षमता
सबै जानकारी लिएर मात्र हुँदैन, आफूमा विश्लेषण गर्ने क्षमता पनि विकास गर्नुपर्छ । नेपालमा बैंक हुँदा र नहुँदाका फरक, प्रविधिको प्रयोगले ल्याएका सुविधा, बैंकिङ क्षेत्रमा देखिएका कमजोरी, सुधार गर्नुपर्ने कुराहरु लगायतका विषयमा विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता आफूमा विकास गर्नुभयो भने तपाईँले बैंकिङ परीक्षामा राम्रो गर्न सक्नुहुन्छ ।

 

यो पनि अध्ययन गर्नुहोस्

गभर्नर छनौट : विधि र प्रकृया (राष्ट्र बैंक ऐनले तोकेका गभर्नरका अधिकारसहित)

यी कुरामा पनि ध्यान दिनुहोस्

सामान्य अर्थमा रुपैयाँ, पैसा तथा साख सम्बन्धी कारोबार गर्ने कानुनद्धारा मान्यता प्राप्त वित्तीय संस्थालाई बैंक भनिन्छ । बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराँउछ । त्यसैले बैंक जनताको एउटा विश्वासिलो र भरपर्दो संस्थाको रुपमा परिचित छ । बैंक यस्तो संस्था हो जसलाई सीसाको घर पनि भनिन्छ । जहाँ जोखिमको मात्रा बढी हुने गर्दछ । त्यसकारण बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु इमान्दार र नैतिकवान हुनुपर्छ । इमान्दार र नैतिकवान् मात्र होइन योग्य तथा दक्ष जनशक्तिलाई छनोट गर्नु पर्दछ ।

बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणहरुको लगानी तथा निक्षेप बढी हुने भएकाले वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान पुर्याउनु पर्दछ । साथै, वित्तीय संस्थाका कर्मचारीमा विश्वशनीयता हुनु जरुरी छ ।

बैंकका कर्मचारीमा निम्नलिखित गुण हुन जरुरी छ ।
संगठित व्यक्तित्व
बैंकमा काम गर्ने कर्मचारीहरुलाई अत्याधिक दबाव तथा असंख्य दायित्वहरु बीच आफनो जिम्मेवारीमा आएको दैनिक कामहरु गर्नु पर्ने हुन्छ । अन्य दायित्वहरु पुरा गर्दै आफनो दैनिक कामहरु अति नै चालाखी तथा मिहिन कुराहरुमा समेत ध्यान दिएर काम गर्नुपर्ने अवस्था भएकाले बैंकको कर्मचारीहरुको व्यक्तित्व अन्य साधारण कर्मचारीहरुको भन्दा फरक हुनु पर्दछ ।

समस्या समाधानकर्ता
बैंकका कर्मचारी जो समस्याहरुसँग नडराई त्यसको डटेर सामना गर्न तथा आवश्यक परेको बेला कार्यालय समयभन्दा अन्य समयमा समेत काम गरेर समस्याको उचित सामाधान खोज्न सक्ने हुनुर्पछ । त्यस्तो व्यक्तिलाई बैकिङ्ग क्षेत्रमा काम गर्न बढी प्राथमिकता दिईनु पर्छ ।

छिटो सिक्ने
प्रविधिको क्षेत्रमा विश्वले हरेक पल नयाँ अविष्कारहरु गरि रहँदा त्यसको प्रयोग सबैभन्दा पहिले बैकिङ क्षेत्रमा नै भित्रिने गरेका छन् । साथै भित्रिएका प्रविधिहरु पनि लामो समयसम्म रहिनरहने भएकोले बैंकमा कार्यरत कर्मचारीहरुलाई धेरै कुराहरु निरन्तर रुपमा सिकिरहनु पर्ने हुन्छ । यसको अलावा आफुलाई समयानुकुल परिष्कृत गर्नको लागि पनि केहि न केहि दैनिक रुपमा सिकिरहनु पर्ने हुन्छ । तसर्थ, बैंकमा काम गर्ने कर्मचारीहरु सदैव नयाँनयाँ कुराहरु सिक्नको लागि तत्पर रहनुपर्दछ ।

नेतृत्व
बैंकमा काम गर्ने कर्मचारीहरुमा नेतृत्व गर्ने क्षमता हुन आवश्यक छ । कुनै वैंकमा आउने ग्राहकहरु सामाजमा भएको उच्च तथा शिक्षित वर्गमा पर्ने भएकोले त्यस्तो ग्राहकहरुलाई सफलतापुर्वक सेवा दिएर बैकमा पुनः आउनको लागी अभिप्रेरित गर्नको लागि कर्मचारीमा भएको नेतृत्व गर्ने गुण अति नै महत्वपुर्ण मानिन्छ । तसर्थ, बैंकको कर्मचारीहरुमा यो गुण हुन आवश्यक छ ।

कुशल संचारकर्ता
बैंकमा काम गर्ने कर्मचारीहरुमा अर्को नभई नहुने गुणहरु मध्ये एक हो, कुुशल संचारकर्ता । बैंकमा काम गर्ने कर्मचारीहरु ग्राहकहरुसँग निरन्तर संवाद गर्नुपर्ने भएकोले यो गुण हुन आवश्यक मानिन्छ । बैंकको कर्मचारीहरुले आर्थिक कारोबारहरुको सम्बन्धमा ग्राहकहरुलाई नहिचकिचाई तथा झन्झट नमानिकन संचार गरि रहनुपर्ने भएकोले यो गुण कुनै पनि बैंकको कर्मचारीमा हुन आवश्यक हुन्छ ।

स्वतन्त्र
बैंकको कर्मचारीहरु आफनो कामहरु आफु स्वयंले नै गर्न सक्नु पर्दछ । आफ्नो जिम्मेवारीको कामहरु गर्नको लागि अरु कर्मचारीको सहयोग लिने अवस्था नआएको नै राम्रो मानिन्छ । आफुले गर्ने कामको सम्बन्धमा आफुलाई पुर्ण जानकारी छैन भने आफुले गरेको काम सही वा गलत के छ भन्ने कुरा पनि थाहा पाउन सकिँदैन । तसर्थ, बैंकको कर्मचारीले आफनो काम गर्नको लागी अरुमा भर नपरिकन स्वतन्त्र भई काम गर्न सक्ने हुनुपर्दछ ।

सहकार्यको भावना
बैंकमा गर्नुपर्ने कतिपय कामहरु एक्लै गर्न नसक्ने प्रकृतिको हुन्छ । यस्तो प्रकृतिको काम गर्नको लागि केहि कर्मचारीहरुको टिम बनाई काम गर्नुपर्ने भएकोले टिममा बसेर काम गर्न सक्ने गुण भएको कर्मचारीलाई बैंकले अत्याधिक रुपमा रुचाउने गर्दछ ।

सर्तक तथा जागरुक
बैंक भनेको आर्थिक कारोबार हुने कार्यालय भएकोले बैंकको कर्मचारीहरु सदैव सर्तक भई काम गर्नुपर्ने हुन्छ । अहिलेको समाजमा सवै एकै किसिमको मानिसहरु मात्र नभई उछृङ्खल तथा अराजक मानिसहरु पनि बस्ने गर्दछन् । समाजको अराजक तत्वहरु ग्राहकको रुप धारण गरि बैंकमा आएर विभिन्न प्रकारको गैर कानुनी कामहरु गर्न सक्ने सम्भावना पनि उतिकै भएकोले बैंकको कर्मचारीहरु सर्तक तथा जागरुक हुनु पर्दछ ।

इमान्दारीता
बैंकको कर्मचारीहरु इमान्दार हुनु अति नै आवश्यक हुन्छ । कर्मचारीहरु बैंकको आर्थिक कारोबारहरुमा प्रत्यक्ष रुपमा संलग्न हुनुपर्ने भएकोले यो गुण अति नै मह्त्वपुर्ण गुण मानिन्छ । कर्मचारीहरुले कुनै लोभ लालचमा नपरि काम गर्नुपर्दछ । एक पटक गुमेको विश्वास कहिले पनि फिर्ता नहुने भएकोले कर्मचारीको इमान्दारीताको दैनिक रुपमा नै परिक्षण हुने गर्दछ । त्यसकारण बैंकमा काम गर्ने कर्मचारीहरु इमान्दारी हुनुपर्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]