July 5th, 2018

वित्तीय साक्षरता : आवश्यकता र महत्व

माधव निर्दोष, अध्यक्ष, मिडिया इन्टरनेशनल । वित्तीय साक्षरता भनेको खासमा पैसा सम्बन्धि शिक्षा हो । हामीले पैसालाई न त देखेका छौँ, न त पढेका छौँ, न बुझेका नै छौँ, जसले गर्दा हामीलाई पैसा कसरी कमाउने भन्ने विषयमा अन्यौलता भइरहेको छ । आजको समयमा विकासित, समृद्धि र सन्तुष्ट भएका सबै मुलुकहरु वित्तीय सचेतना, साक्षरता एवम् वित्तीय ज्ञानका कारणले त्यो अवस्थामा पुगेका हुन् । यसले हरेक मानिसहरुलाई वित्तीय साक्षरताको ज्ञान हुनु आवश्यक रहेको पुष्टी हुन्छ । 

अहिले स्वीडेन, डेनमार्क जस्ता मुलुकका ७० प्रतिशत भन्दा बढी जनता वित्तीय रुपमा साक्षर रहेका छन् । नेपालमा भने मुस्किलले १८ प्रतिशत जनतामा वित्तीय साक्षरता पुगेको छ । यसको मतलब १६ वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेरसमूहका १८ प्रतिशत नेपालीहरुमा मात्रै वित्तीय सचेतता रहेको छ । जब हामीले वित्तीय शिक्षाबारे बुझ्दैनौ, हामी धनी बन्न सक्दैनौँ । वित्तीय सचेतता जति धेरै भयो मानिसले पैसालाई त्यति धेरै परिचालन गर्न सक्छन् । 

नेपालमा आज वित्तीय साक्षरताको अवस्था १८ प्रतिशत मात्रै छ, तर बैंकिङ पहँुचको अवस्था झण्डै ६० प्रतिशत पुग्न थालेको छ । खाता खोल्नुपर्छ भन्ने थाहा भयो त्यो बैंकिङ पहुँच मात्रै हो । किनकि, खाता खोल्दैमा वित्तीय साक्षरता हुँदैन । वित्तीय साक्षरता भनेको पैसालाई बुझेर त्यसको सही रुपले परिचालन गर्नु हो । काठमाडौंको बानेश्वरदेखि बबरमहलसम्मको बाटो दुई महिनामा बनाउन पाँच करोड लगानी लाग्नुपर्नेमा लागत बढ्यो भने त्यहाँ वित्तीय साक्षरताको कमी भएको स्पष्ट हुन्छ । वित्तीय साक्षरताले पैसा आर्जन गर्न मात्र नभएर खर्चको व्यवस्थापन, बचत र लगानीसम्मको ज्ञान प्रदान गर्दछ । अहिले नेपालको बैंकिङ पहुँचको अवस्थामा झण्डै ५० प्रतिशत सुधार भएको छ । यो अनुपात अझै बढ्ने क्रममा रहेको छ ।  
 
वित्तीय चेतना र उद्यमशीलता 
वित्तीय चेतना भएमा मानिसहरुले उद्यमशिलता सहजै गर्न सक्छन् । आजको समयमा बैंक तथा वित्तीय संस्थाहरु हरेक ठाँउमा पुग्नु आवश्यक छ । बैंकहरुको विस्तार भएर मात्रै पनि हुँदैन । हरेक नागरिकको बैंकिङ गतिविधि सकेत बढ्नुपर्छ । बैंकमा रकम जम्मा गर्ने, उद्यम गर्नका लागि कर्जा निकाल्ने लगायतका कामहरु भइरहनुपर्छ । जस्तै, हुम्लाको सरस्वति कुमारीले बैंकमा लगेर ५० हजार राखिन् र दोलखाको राम बहादुरले बैंकमा गएर ५० हजार कर्जाको रुपमा निकाले । यदि हुम्लाको सरस्वतिले पैसा नराखेको भए दोलखाको राम बहादुरले पैसा निकाल्न पाउदैनथे । एकातिर, सरस्वतिले व्याज पाइन्, अर्कोतिर, राम बहादुरले बैंकलाई व्याज तिरे र बैंकले व्याज सरस्वतिलाई दियो । बीचमा ३÷४ प्रतिशत बैंकले नाफा राख्यो । यसरी बैंकले हुनेहरुसँगबाट पैसा लिएर नहुनेहरुलाई उपलब्ध गराउने काम गर्छ । यी सबै कुराको जानकारी लिनका लागि वित्तीय चेतनाको आवश्यकता पर्दछ । 

वित्तीय चेतना भएका बैंक खाता खोल्ने, पैसा जम्मा गर्ने, र आफुलाई चाहिएको बेला मात्र होइन कर्जा चाहिएमा काम गर्छु भन्ने हिसाबले बैंकलाई फिर्ता हुनेगरि लिखित रुपमा एउटा निवेदन दिएर बैंकसँग सहकार्य गरेर देशमा भएका सबै मानिसहरुले उद्यमशिलता गर्न सक्दछन् । जस्तै, मसँग दुई लाख छ तर म लाई कुनै उद्यम गर्न १० लाख चाहिएको छ भने मैले बैंकबाट कर्जा लिन सक्छु । उक्त उद्यमबाट आर्जन गरेको रकमलेविस्तारै बैंकको ऋण तिर्दै म मुनाफामा जान सक्छु । 

वित्तीय सचेतता हुनु भनेकै अर्थतन्त्र सम्बन्धि जानकारी राख्नु पैसालाई परिचालन गर्न सिक्नु, सिकाउनु पैसाबाट धेरै पैसा आर्जन गर्नु हो । यसका लागि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र माइक्रोफाइनान्स कम्पनी गरी चार प्रकारका बैंकहरुले सेवा दिइरहेका छन् । राष्ट्र बैंकले यी बैंकहरुके विभिन्न काम, कर्तव्य र अधिकार निर्धारण गरिदिएको छ । हरेक सामुदाय, हरेक वर्गलाई, हरेक व्यक्तिलाई लक्षित गरेर यस्ता बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् । यसरी संचालनमा रहेका बैंकहरु, बैंकले दिने सेवा, व्याजदर लगायतका विषयमा जानकारी लिनु पनि वित्तीय चेतनाको पाटो हो ।
 
मुलुकको अर्थतन्त्र र वित्तीय साक्षरता  
नेपालमा राष्ट्र बैंक र वित्तीय संघसंस्थाहरु वित्तीय साक्षरता अभिवृद्धिमा लागी परेका छन् । मिडिया इन्टरनेशनलको संयोजकत्वमा सामुहिक ढंगले राष्ट्रिय स्तरको कार्यक्रम भइरहेको छ । आजको समय भनेको उद्यमशीलताको समय हो । अहिले व्यवस्थापन संकायको पढाई हुने थुप्रै कलेजहरु संचालनमा छन् । व्यवस्थापन संकाय यति लोकप्रिय भइसकेको छ कि शिक्षा, मानविकी जस्ता संकायहरु लोप हुने अवस्था मा पुगेका छन् । विज्ञान पढ्ने विद्यार्थीहरु समेत व्यवस्थापन संकायतर्फ आइरहेका छन् । किनकि, व्यवस्थापनको महत्व एकदमै धेरै छ । अव्यवस्थित ठाँउमा व्यवस्थित बनाउने, राम्रो डेकोरेसन बनाउने, समस्यालाई समाधान गर्ने लगायतका कार्य व्यवस्थापनअन्तर्गत पर्दछ । 

अहिले व्यवस्थापन अध्ययन गर्नेको संख्या धेरै छ । यद्यपि, बैंकसम्बन्धि ज्ञान कमैमा मात्र छ । त्यसैले विभिन्न तालिमहरु लिने, गोष्ठीहरुमा सहभागि हुने, अध्ययन गर्ने, रिर्सच गर्ने आदि कुरालाई प्रभावकारी ढ्ङगले हरेक मान्छेलाई बुझाउन सकियो भने नेपालको अर्थतन्त्रले विकासको गति लिन्छ । यो कुरा नेपालको राजनीतिक नेताहरु एवम् मुलुकको नेतृत्वदायी भूमिकामा रहेका मन्त्री, प्रधानमन्त्री, सचिव लगायतले बुझ्नु अत्यावश्यक छ । अर्थतन्त्र सम्बन्धि विज्ञ मानिस नै राज्यको माथिल्लो निकायमा पुग्न नसकेका कारणले देशको विकास हुनसकेको छैन । आर्थिक रुपबाट आम नागरिकको जीवनस्तर माथि उठ्न सकेको छैन । त्यसैले, विकास मोडालिटीको लागि राज्यले नै वित्तीय सचेतना फैलाउने, तालिम दिने कामहरु गर्नु आवश्यक छ । मुलुकको आर्थिक समृद्धिको पहिलो आधार भने वित्तीय साक्षरता नै हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]