रुपा कोइराला/बैंकिङ खबर । वित्तीय साक्षरता अर्थात फाइनान्सियल लिटरेसीलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि विगतदेखि नै वित्तीय साक्षरतासम्बन्धी कतिपय कार्यक्रमहरु संचालित छन् । नेपालको चालू तेर्हौं त्रिवर्षीय योजनाको आधारपत्रमा वित्तीय साक्षरता, बचत तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रमले प्राथमिकता पाएको थियो । यस्ता कार्यक्रमहरु हरेक वर्षको बजेट र मौद्रिक नीतिमा समेत समावेश हुँदै आएका छन् र केही हदसम्म कार्यन्वयन पनि भइरहेका छन् । यसबाहेक, किशोरकिशोरीको समग्र विकासका लागि वित्तीय साक्षरता अभिवृद्धिलाई प्राथमिकता दिनु, स्कूल कलेजका पाठ्यक्रम एवं पाठ्यपुस्तकमा वित्तीय साक्षरता सम्बन्धी विषयले प्राथमिकता पाउनु, देशको केन्द्रीय बैंक, वित्तीय क्षेत्र, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र आमसञ्चारबाट यस विषयलाई विशेष महत्व दिँदै यसलाई एउटा अभियानकै रूपमा सञ्चालन, विस्तार र प्रवद्र्धन गर्नुले पनि के देखाउँछ भने वित्तीय साक्षरता मुलुकको सर्वाङगीण विकाससँग जोडिएको छ । अब यो अपरीहार्य महशुस भईसकेको छ ।
वित्तीय साक्षरता बढी भएका मुलुक समृद्ध
अन्तर्राष्ट्रिय रुपमै हेर्दा पनि, वित्तीय साक्षरताको अवस्था राम्रो भएका मुलुकहरु बढी समृद्ध र सन्तुष्ट पाइएका छन् । विश्वव्यापी रुपमा हेर्दा, वित्तीय साक्षरताको अवस्था १३ देखि ७१ प्रतिशतसम्म रहेको छ । वित्तीय साक्षरतामा उत्तर युरोप अगाडी रहेको छ । उत्तर युरोपका ५२ प्रतिशत युवाहरु वित्तीय रुपमा साक्षर छन् । जसमध्येमा पनि डेनमार्क, स्वीडेन, जर्मनी, नर्वे र नेदरल्यान्ड्समा वित्तीय साक्षरता दर उच्च रहेको छ । यी मुलुकको वित्तीय साक्षरता दर ६५ देखि ७५ प्रतिशतसम्म रहेको छ । यसबाहेक, अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, यूके लगायतका मुलुकका पनि ६५ प्रतिशतभन्दा बढी युवा वित्तीय रुपमा साक्षर छन् । त्यस्तै, संसारकै सबैभन्दा विकसित र शक्तिशाली मुलुक अमेरिकामा पनि वित्तीय साक्षरता ६० प्रतिशतभन्दा बढी पुगेको छ ।
सबैभन्दा बढी जनसंख्या वित्तीय रुपमा साक्षर भएका मुलुक डेनमार्क र स्वीडेन रहेका छन् । यी युरोपेली मुलुकहरुमा वित्तीय साक्षरता ७१ प्रतिशत पुगेको छ । यी मुलुकहरु विश्वका समृद्ध मुलुकहरुमध्येमा पर्छन् । सन् १९७३ देखि युरोपेली संघको सदस्य रहेको डेनमार्कको अर्थतन्त्र वैदेशिक व्यापार र निजी कम्पनीहरुमा अडेको छ । ५.६ मिलियन जनसंख्या रहेको डेनमार्कको कुल गार्हस्थ्य उत्पादन २५८.७ विलियन अमेरिकी डलर रहेको छ भने प्रतिव्यक्ति आय ४५ हजार चार सय नौ अमेरिकी डलर रहेको छ । यहाँको पछिल्लो आर्थिक वृद्धिदर १.२ प्रतिशत रहेको छ । यहाँको कुल जनसंख्याको ६.३ प्रतिशत जनसंख्या बेरोजगार रहेको तथ्यांक छ । त्यस्तै, १० मिलियन जनसंख्या रहेको स्वीडेनको कुल गार्हस्थ्य उत्पादन ५११ विलियन अमेरिकी डलर रहेको छ । पछिल्लो समय यहाँको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको छ भने बेरोजगारी दर ६.८ प्रतिशत रहेको तथ्यांक छ । स्वीेडनको प्रतिव्यक्ति आय ५१ हजार एक सय ३५ अमेरिकी डलर रहेको छ । यहाँको अर्थतन्त्रको मूख्य आधार व्यापार हो । यी मुलुकहरु द्धन्द्ध, आतंकवाद लगायतका गतिविधिहरुबाट पनि टाढा रहेका छन् । यसबाहेक, युरोपकै नर्वे, जर्मनी लगायतका मुलुकहरु पनि वित्तीय साक्षरताका हिसाबले अगााडी रहेका छन् ।