
बैंकिङ खबर / नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले सवारी कर्जामा आकर्षक योजना सार्वजनिक गरेका छन्। अटो शोमा सवारी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकहरूले कम ब्याजदर, लामो कर्जा अवधि तथा विभिन्न छुटसहितका योजना अघि सारेका छन् ।
हाल सार्वजनिक भएका योजनामध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ५.०२ प्रतिशत ब्याजदरबाट अटो कर्जा उपलब्ध गराउने भएको छ। बैंकले अधिकतम सात वर्षसम्मका लागि कर्जा दिने जनाएको छ। १ करोड रुपैयाँसम्मको कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ ।
यस्तै, नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अधिकतम सात वर्षसम्मका लागि अटो लोन उपलब्ध गराउने भएको छ। बैंकको सेवा शुल्क ०.५० प्रतिशत रहेको छ। व्यावसायिक सवारीका लागि भने ब्याजदर ६.९२ प्रतिशत कायम गरिएको छ ।
कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा अधिकतम १० वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकले ब्याजदर अझै घट्न सक्ने जनाएको छ। सेवा शुल्क ०.५० प्रतिशत रहेको छ। व्यावसायिक सवारी खरिदका लागि आधार दरमा ३ प्रतिशत प्रिमियम थप हुने बैंकले जनाएको छ।प्रभु बैंकले निजी तथा व्यावसायिक सवारीका लागि करिब ५.४४ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि अटो लोन उपलब्ध गराउने भएको छ। सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।
कृषि विकास बैंकले निजी सवारीका लागि ५.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। व्यावसायिक सवारी तथा हायर पर्चेजतर्फ सात वर्षसम्मका लागि ६.३३ प्रतिशत ब्याजदर कायम गरिएको छ। सेवा शुल्क ०.५० प्रतिशत रहेको छ।गोर्खाज फाइनान्सले अधिकतम सात वर्षका लागि ६.७१ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने भएको छ। फाइनान्सको सेवा शुल्क १ प्रतिशत रहेको छ ।
नेपाल बैंकले आधार दरमा ०.४९ प्रतिशत प्रिमियम थप गरी अटो कर्जा उपलब्ध गराउने योजना ल्याएको छ। बैंकले ०.५० प्रतिशत प्रशासनिक सेवा शुल्क तोकेको छ। साथै, अटो कर्जा लिने ग्राहकलाई अधिकतम ३ लाख रुपैयाँ सीमासहित आजीवन निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने जनाएको छ। यो योजना विद्युतीयसहित नयाँ निजी तथा व्यावसायिक सवारी खरिदमा लागू हुनेछ ।
यसैगरी, महालक्ष्मी विकास बैंकले पनि नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ। बैंकले सवारी खरिदका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ। बैंकले अटो शोको अवसरमा आकर्षक ब्याजदर र प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।महालक्ष्मी विकास बैंकका अनुसार भदौ महिनाको आधार दर ५.६४ प्रतिशत रहेको छ। आधार दरको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने बैंकले जनाएको छ ।