Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

म्युचुअल फण्ड के हो ? किन गर्ने लगानी ?

२०७५ बैशाख ९ गते

बैंकिङ खबर । लगानीयोग्य वित्तीय उपकरणहरुको संग्रहलाई सामान्य अर्थमा म्युचुअल फण्ड भनिन्छ । यसमा दुई वा सो भन्दा बढी व्यक्ति, कम्पनी वा संस्थाहरुको रकम लगानीको लागि संग्रहित हुन्छ । संग्रहित रकमलाई विभिन्न वित्तीय उपकरणहरुमा लगानी गरिन्छ । लगानीबाट प्राप्त प्रतिफल लगानीकर्ताहरु बीच बाँडिन्छ । उदाहरणको लागि कुनै इन्भेष्टमेण्ट कम्पनीले विभिन्न कम्पनीहरुको सेयर, बण्ड, डिवेञ्चर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्ने उद्देश्यले रु। १ करोड बराबरको म्युचुअल फण्ड संचालन गरेको छ । उक्त कम्पनीले रु। १ करोडलाई रु.१० ले भाग गरी १० लाख युनिट बनाउँछ । कोषमा सहभागी हुन इच्छुक लगानीकर्ताहरुले आफ्नो रुची तथा क्षमता अनुसार युनिट खरिद गर्दछन् । कसैले रु.१ लाख लगानी गर्न चाहन्छ भने १० हजार युनिट खरिद गर्दछ । आफूले खरिद गरेको युनिटको अनुपातमा ऊ कोषको मालिक हुन पुग्छ । यहाँ लगानीकर्तालाई युनिट होल्डर भनिन्छ । 

यसरी म्युचुअल फण्डले विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन गरी सेयर, डिवेञ्चर, बण्ड, ऋणपत्र, सरकारी सुरक्षणपत्र, मुद्धती जस्ता उपकरणहरुमा लगानी गर्दछ । लगानीबाट प्राप्त प्रतिफल युनिट होल्डरहरुबीच बाँडफाट गर्दछ । यसरी म्युचुअल फण्डले काम गर्दछ । फण्ड संचालनको लागि विज्ञहरुको समूह नियुक्त गरिएको हुन्छ ।

म्युचुअल फण्डका सकारात्मक पक्षहरु
१। पुँजी निर्माणको आधार : साना लगानीकर्ताहरुले स–साना युनिट खरिद गर्न सक्ने भएकोले असंगठित रुपमा छरिएर रहेको वित्तीय श्रोत फण्डको माध्यमबाट संगठित तथा एकिकृत हुन्छ । यसरी एकिकृत भएको वित्तीय श्रोत ठूला उद्योग व्यवसाय स्थापना तथा संचालनको आधार बन्दछ ।
२। व्यवसायिक व्यक्तित्वहरुबाट व्यवस्थित : म्युचुअल फण्ड व्यवसायिक तथा दक्ष व्यक्तिहरुको समूहबाट सञ्चालित हुन्छ । त्यस्तो समूहले लगानी गर्ने संस्था, कम्पनी तथा क्षेत्रको वित्तीय, गैह्र वित्तीय लगायत सम्पूर्ण पक्षहरुको कुशलतापूर्वक अध्ययन तथा विश्लेषण गर्ने भएकोले युनिट होल्डरले लगानी गरेको रकम डुब्ने सम्भावना न्यून हुन्छ । साना तथा व्यक्तिगत लगानीकर्ताहरुसंग लगानीका लागि विभिन्न विकल्पहरु हुन्छन् । उनीहरुसंग उपयुक्त विकल्पको छनौट गर्ने ज्ञान, सीप, कौशल, समय तथा श्रोत साधन पनि हुँदैन । यस्तो स्थितिमा म्युचुअल फण्ड उपयुक्त विकल्प हुन सक्छ ।
३। विविधता : साना लगानीकर्ताहरुले आफ्नो थोरै रकमको लगानीलाई विभिन्न क्षेत्र, कम्पनी तथा सुरक्षणपत्रहरुमा विविधिकरण गर्न सम्भव हुँदैन । मुद्रा तथा पुँजी बजारमा सिधै लगानी गर्दा विविधिकरण गर्न ठूलो रकमको आवश्यकता हुन्छ । म्युचुअल फण्डसँग रकम बढी हुने र व्यवसायिक विशेषज्ञको ज्ञान, सीप समेत उपयोग गर्न सकने सामथ्र्य भएकोले साना लगानीकर्ताहरुले यस्तो फण्ड मार्फत आफ्नो लगानीलाई विविधिकरण गर्न सक्दछन् ।
४। तरलताको सुविधा : म्युचुअल फण्डका युनिटहरु पुँजी बजारका उपकरण हुन् । यस्ता युनिटहरु दोश्रो बजारमा पनि खरिद बिक्री हुने भएकोले लगानीकर्ताले आफूले चाहेको समयमा बिक्री गरी रकम प्राप्त गर्न सक्दछन् । त्यसैले यसलाई तरल सम्पत्तिको रुपमा लिइन्छ ।
५। सरल वित्तीय उपकरण : विभिन्न कम्पनीहरुको सेयरमा लगानी गर्दा त्यस्ता कम्पनीका वित्तीय विवरण तथा लाभांश, बोनस सेयर, हकप्रद सेयर आदि सम्वन्धमा सञ्चालक समितिका निर्णयहरु, सूचनाहरु नियालि राख्नुपर्ने हुन्छ । यी सबै काम म्युचुअल फण्डले गर्ने भएकोले युनिटहोल्डरहरु यस्तो झन्झटबाट मुक्त हुन्छन् । यस्तो लगानीमा कुनै प्रकारको जटिलता हुँदैन ।