Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा

२०८३ भाद्र ९ गते

बैंकिङ खबर /  महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको १८औँ नाडा अटो शो २०२६ मा सहभागिता जनाउँदै सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा बैंकले विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिदका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा वित्तीय सेवाहरू उपलब्ध गराइरहेको छ । बैंकले अटो शो अवधिभर सवारी कर्जामा प्रतिस्पर्धी ब्याजदरका साथै प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

बैंकका अनुसार भदौ महिनाका लागि आधार दर ५.६४ प्रतिशत कायम छ । यही आधार दरलाई आधार मानेर सवारी कर्जा लिन चाहने ग्राहकले कर्जाको ब्याजदरमा लाभ लिन सक्ने बैंकले जनाएको छ । अटो शोमा आउने ग्राहकलाई कर्जा प्रक्रियादेखि आवश्यक वित्तीय परामर्शसम्मको सेवा एकै स्थानबाट उपलब्ध गराउने व्यवस्था गरिएको बैंकको भनाइ छ ।

महालक्ष्मी विकास बैंकबाट सवारी कर्जा लिन इच्छुक ग्राहकले भृकुटीमण्डपस्थित अटो शोको हल नम्बर ४ मा रहेको स्टल नम्बर ‘एन’ मा पुगेर बैंकका प्रतिनिधिसँग कर्जा सुविधा, ब्याजदर तथा प्रक्रियाबारे जानकारी लिन सक्नेछन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्दै आएको नाडा अटो शो नेपालकै प्रमुख अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै आएको छ । महालक्ष्मी विकास बैंकले पनि विकास बैंकहरूमध्ये नियमित रूपमा अटो शोमा सहभागिता जनाउँदै आएको छ ।

बैंकले सवारी कर्जासँगै डिजिटल बैंकिङ सेवाको विस्तार र ग्राहक अनुभव सुधारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। यसैक्रममा बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल प्रविधिमार्फत वित्तीय सेवा थप सहज, पहुँचयोग्य र ग्राहककेन्द्रित बनाउने रणनीतिअनुसार सेवा विस्तार गरिरहेको जनाएको छ ।