रोयल आचार्य / बैंकिङ शिक्षा नभएका व्यक्तिहरुले अब कोरिया जान नपाउने भएका छन् । कोरियाबाट हुण्डीमार्फत बर्षेनी अर्बौँ रकम नेपाल भित्रिने गरेको छ । रकम पठाउने अवैधानिक र गैरकानूनी माध्यमबाट नेपालमा पैसा पठाउनेको संख्या बढ्दै गएपछि सरकारले हुण्डी कारोबारमा रोक लगाउन कडा नियम ल्याएको छ । सरकारले हुण्डी कारोबारलाई निरुत्साहित पार्न बैंकिङ च्यानलमार्फत पैसा नपठाए पुनः श्रमस्वीकृत जारी नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै कोरिया जान चाहने नेपालीहरुका लागि बैंकिङ शिक्षा अनिवार्य बनेको छ । यदि बैंकिङ शिक्षा नहुने हो भने कोरिया जानबाट बञ्चित हुनुपर्नेछ ।
कोरियाबाट हुण्डी धेरै
पछिल्लो समय कोरियाबाट अत्याधिक मात्रामा हुण्डीमार्फत रकम भित्रिने गरेको छ । सन् २००८ देखि ईपीएस सिस्टम लागू भएयता हालसम्म ५० हजारको हाराहारीमा कोरियामा नेपालीहरू कार्यरत छन् । कोरियामा कार्यरत ५० हजार नेपालीहरुमध्ये अधिकांशले नेपाल पैसा पठाउनका लागि अवैधानिक बाटो अर्थात हुण्डीको प्रयोग गर्ने गरेका छन् । रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउँछन् । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स नै हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो ।
वित्तीय साक्षतरताको अपरिहार्यता
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले गरेको निर्णयले कोरिया जान चाहनेका लागि वित्तीय साक्षरताको अपरिहार्यता अझ बढाएको छ । कोरिया जाने अधिकांश नेपालीहरुलाई वित्तीय साक्षरताको कमीका कारण रेमिट्यास पठाउदा बैंकिङ च्यानलमार्फत नभई अवैध बाटो अपनाउने गरेका छन् । वैदेशिक रोजगार विभागले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स नपठाउनेलाई कोरिया जान रोक लगाएपछि वित्तीय साक्षरताको अपरिहार्यता बढेको हो । अब कोरिया जाने हरेक नेपालीले हुण्डी के हो, हुण्डीका बेफाइदा साथै आधिकारिक रुपमा कसरी रेमिट्यान्स पठाउने भन्ने बिषयमा जानकार हुनैपर्ने भएको छ ।
सरकारलाई फाइदा
हुण्डी कारोबार निर्मूल भएसँगै सरकारलाई धेरै फाइदा पुग्छ । हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । तर, हुन्डीको प्रयोगलाई निरुत्साहित गर्न सके, मुलुकको विदेशी मुद्रा सञ्चिति, राजश्व लगायतमा सकारात्मक प्रभाव पर्नेछ ।
अवैधानिक हुण्डी कारोबार
रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउँछन् । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरुमार्फत सिधै पैसा पठाउनुलाई हुन्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने, अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् । हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गर्दछन् ।
हुन्डी कारोबारका असरहरु
हुन्डीबाट गरिएको कारोबार अवैधानिक हो । त्यसैले यो दण्डनीय छ । नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमुख निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हो । हुन्डी कारोबार गरेको थाहा पाएमा विभागले कारबाहीका प्रक्रिया अघि बढाउँछ । यसबाहेक, हुन्डीमार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुने पो होकि ? या, आफूू रकम पठाएको एजेन्ट पक्राउ पो पर्यो कि ? जस्ता डर मनमा भइरहन्छन् । जबसम्म आफन्तको हातमा पैसा पुगेको खबर पाइँदैन तबसम्म पैसा पठाउनेलाई चिन्ता भइरहन्छ ।