Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अनौपचारिक अर्थतन्त्रले डिजिटल फाइनान्स खुम्चियो (नरबहादुर थापासँगको अन्तरवार्ता)

२०७४ श्रावण ३१ गते

अझै पनि नेपालमा करिब ६० प्रतिशत नागरिकहरु बैंकिङ पहुँचभन्दा बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउनका लागि मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले विगत केहि बर्षदेखि ‘वित्तीय साक्षरता’ सम्बन्धी बिशेष अभियान नै सञ्चालन गरिरहेको छ । बैंकिङ प्रविधिको वृहत्तर विकास भइसक्दा समेत ग्रामीण भेगका जनतामा आधारभूत बैंकिङ चेतना समेत छैन । यस्तो अवस्थामा बैंकिङ चेतनालाई प्रभावकारी ढंगबाट अघि बढाउन राष्ट्र बैंकले थप कसरत गरिरहेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभागका विभागीय प्रमुख नरबहादुर थापासँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

नेपालमा वित्तीय चेतनाको अबस्था कस्तो देख्नुहुन्छ ?  
नेपालमा वित्तीय चेतनाको स्थिती कमजोर नै रहेको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विगत लामो समयदेखि वित्तीय पहुँच वृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । तथापि पूर्ण रुपमा सफल हुन सकेको छैन । वित्तीय चेतनाको समग्र अबस्था हेर्ने हो भने करीव ६० प्रतिशत जनता वित्तीय पहुँच बाहिर देखिन्छ । नेपाल राष्ट्र बैंकले नियमन गरेको वित्तीय संस्थाहरुलाई आधार मान्ने हो भने अहिले ४० प्रतिशत जनसंख्यामा मात्रै वित्तीय पहुँचमा पुगेको छ ।

वित्तीय चेतना बढाउन कस्ता कार्यक्रमको आवश्यकता देख्नुहुन्छ ? 
वित्तीय चेतना बृद्धिका लागि दुईवटा विषयलाई फोकस गर्नुपर्ने हुन्छ । एउटा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितीले वित्तीय चेतनामा विस्तार ल्याउँछ । कुनै पनि बैंक एउटा दुर्गम गाउँमा गयो भने, बैंक के हो ? यसले के काम गर्छ ? भन्ने जस्ता उत्सुकता सर्वसाधारणमा हुन्छ र त्यो बैंकले उपलब्ध गराउने सेवाका बारेमा उसको उपस्थितिले क्रमशः चेतना बढाउने काम गर्दछ । त्यसैले पनि सबैभन्दा पहिला बैंक तथा वित्तीय संस्थाको उपस्थिती आबश्यष्क पर्दछ । अर्को कुरा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितीले मात्रै पुग्दैन, सर्वसाधारण जनताले वित्तीय सेवाको माग पनि गर्नुपर्छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंकले थुप्रै कर्जाहरु सहुलियत रुपमा व्यवस्था गरेको छ । जस्तो कृषि कर्जा ५ प्रतिशत अनुदानमा दिने व्यवस्था गरिएको छ । तर यसको उपयोगिता भने ज्यादै न्युन छ । सरकारले ५ प्रतिशत व्याज अनुदान दिन्छ, ५ प्रतिशत उनीहरुले त्यसमा जोड्छन् यसमा १० प्रतिशतसम्म सर्वसाधारणले कर्जा पाउँछन् । तर सरकारले अपेक्षा गरेअनुसारको रिजल्ट पाउन सकेको छैन । त्यसकारण वित्तीय चेतनामुलक कार्यक्रम मार्फत पनि वित्तीय साक्षरता बढाउनु पर्छ । त्यसका साथै विद्याथीसँग गभर्नर, विद्यार्थी माझ नेपाल राष्ट्र बैंक लगायतका विषयहरु जोडेर पनि वित्तीय चेतनाका कार्यक्रमहरु नेपाल राष्ट्र बैंकले गर्दै आइरहेको छ । उपत्यकाबाहिर यो कार्यक्रम लिएर किसान, विद्यार्थी, राजनीतिकर्मी, समाजसेवी माझ नेपाल राष्ट्र बैंक आफैँ र मिडिया पार्टनरको रुपमा उसको सहयोगमा वित्तीय चेतना अभिवृद्धि गर्ने कार्यहरु विगत ६÷७ बर्षदेखि सञ्चालन हुँदै आइरहेको छ । विगत दुई÷तिन बर्षदेखि त राष्ट्र बैंकले प्रमुख जोड दिएको बिषय नै यहि हो । 

थुप्रै स्थानीय तह बैंकिङ पहुँच बाहिर भएको देखियो, सबै स्थानीय तहमा कहिलेसम्म पुग्छ बैंकिङ पहुँच ?  
७ सय ४४ स्थानीय तहहरुमध्ये दुई सय ९७ स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिती रहेको छ । वाणिज्य बैंकको उपस्थिती नभएको चार सय ४७ स्थानीय तहमा को कहाँ कहाँ जाने हो, आपसी सल्लाह गरेर जानकारी गराउनुहोस भनेर राष्ट्र बैंकले बैंकर्स संघलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले दुई सय २२ स्थानीय तहमा जान सक्ने भनेर जानकारी गराएका छन् । बाँकी दुई सय २५ स्थानीय तहमा जान उनीहरुले अनिक्षा देखाएका छन् । 
नेपाल सरकारले आर्थिक बर्ष २०७४÷७५ को बजेटमा स्थानीय तहको लागि फिजिकल ट्रान्सफर, फाइनान्सियल ट्रान्सफरको रकम दुई सय २५ अर्ब विनियोजन गरेको छ । र पहिलो किस्ता वापतको ७५ अर्बको निकासा पनि दिइसकेको छ । केन्द्रीय सरकारले यतिका बजेट दिँदा एउटा स्थानीय तहमा सरकारी कारोबारले मात्रै पनि एउटा बैंक चल्ने अवस्था देखिएको छ । ती सबै स्थानीय तहहरु आगामी दिनमा विकासको केन्द्र, इकोनमिक सेन्टरको रुपमा विकसित हुने देखिएको छ । वाणिज्य बैंक मात्रै पुरै स्थानीय तहमा जान नसक्ने भएकाले विकास बैंकलाई पनि हामीले वाणिज्य बैंक जान नचाहेका २ सय २५ स्थानीय तहमा जान सक्नुहुन्छ कि हुँदैन, राष्ट्र बैंकलाई छलफल गरेर जानकारी गराउनुहोस् भनेका छौं । सबै स्थानीय तहमा बैंकिङ पहुँच अभिवृद्धिका लागि राष्ट्र बैंक सदैव कटिबद्ध छ । 

पछिल्लो समय बैंकको ब्याज बढ्दैछ, बैंक व्याजदर परिवर्तनका बारे केही बताइदिनुस् न ?  
ब्याजका दुईवटा पक्षहरु छन् । एउटा सर्वसाधारणले निक्षेप राख्छन् र उनीहरुले निक्षेप राखेवापत ब्याज कमाउनुपर्ने हुन्छ जुन उनीहरुको आम्दानीको श्रोत हो । अर्को यसरी संकलित निक्षेप व्यवसायी, उद्योगीले कर्जाको रुपमा लिएर अर्थतन्त्रमा लगानी गर्छन्, जसले उत्पादन बढाउन मद्दत गर्छ र रोजगारीका अवसरहरु सिर्जना गर्न मद्दत गर्छ । साथमा यसले पूँजी निर्माणमा पनि सहयोग पुर्याउछ । त्यसैले ब्याजदर सन्तुलित हुनुपर्छ । ब्याजदर अत्यन्त न्युन पनि हुनुहुँदैन, जसले साधन परिचालनलाई संकुचित गरोस् र पूँजी पलायन गराओस् । अर्को ब्याजदर एकदम उच्च पनि हुनु भएन, जसले लगानीलाई हतोत्साहित गरोस् । ब्याजदर सन्तुतिल हनुपर्छ, जसले निक्षेपकर्तालाई निक्षेप गर्न र लगानीकर्तालाई लगानी गर्न प्रोत्साहित गरोस् । ब्यादजरलाई सन्तुलित राख्ने प्रयास नेपाल राष्ट्र बैंकले पनि गरिरहेको छ । 

नेपालमा बैंकिङ ब्याजदर किन घटबढ भइरहेको छ ? 
ब्याजदर घटबढ हुनुमा २,३ वटा कारणहरु रहेका छन् । एउटा मौद्रिक तरलता हो । मौद्रिक तरलता कहिले ह्वात्तै माथि जान्छ त कहिले तल जान्छ । यसो हुनुको कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाउने विप्रेषण हो । विप्रेषणको वृद्धि उच्च रहँदा नेपालमा तरलता उच्च रहने गर्छ । विप्रेषण्मा कमी आउँदा तरलतामा पनि कमी आउने र व्याजदरलाई माथि लैजाने गर्छ । 
अर्को भनेको, नेपाल सरकारको बजेट सम्बन्धि कार्यक्रम हो । सरकारले करमार्फत राजश्व परिचालन गर्छ, कर उठाउँछ । यसरी संकलित राजश्व र प्राप्त वैदेशिक अनुदानलाई पूँजीगत खर्च लगायत चालु खर्चमा प्रयोग गर्छ । कहिलेकाहीँ वित्तीय श्रोत परिचालनको तुलनामा नेपाल सरकारको खर्च न्युन रहँदा राष्ट्रको ढुकुटीमा नगद मौज्दात रहने गर्छ । राष्ट्रको ढुकुटीमा नगद मौज्दात रहँदा बजारमा तरलताको कमी आउने र यसले ब्याजदर माथि लैजाने पनि गर्छ । 
तेस्रो चाहि के हुन्छ भने, अत्याधिक मात्रामा अनुत्पादक क्षेत्रमा निजी क्षेत्रले लगानी गर्यो भने पनि तरलता सुक्ने, कर्जाको अभाव हुने र सर्वसाधारणले उत्पादन क्षेत्रमा लगानी गर्दा कर्जा नपाउने हुँदा व्याजदर उच्च हुने हुन्छ ।  तसर्थ, यी तिनवटा कारणले तलरतामा उतारचढाव, ब्याजदरमा उतारचढाव आउने गर्छ । नेपाल सरकारले राष्ट्रको ढुकुटीमा अलि बढी नगद मौज्दात गर्यो र तरलतामा कमी आयो भने राष्ट्र बैंकले खुला बजार कारोबार मार्फत बजारमा तरलता प्रवाह गर्ने गर्दछ । विप्रेषण आप्रवाहमा कमी आउँदा तत्कालै तरलता बढाउनुपर्छ भन्ने हुँदैन । तर अतिआवश्यक अवस्थामा भने तरलता बढाउनुपर्छ । यदि बैंक तथा वित्तीय संस्थाहरुले अन्धाधुन्द हिसाबले अनुत्पादक क्षेत्रमा लगानी गरेर तरलतामा कमी आयो भने राष्ट्र बैंकले तरलता प्रवाह गर्दा सोच्नुपर्ने हुन्छ । किनभने तलरता दुरुपयोग भएको वेला थप तरलता प्रवाह गर्दा वित्तीय क्षेत्र थप असन्तुलित हुने हुन्छ । वित्तीय क्षेत्रको स्थायीत्वमा जोखिम हुन्छ । यस कुरालाई मनन गरेर उद्योग व्यवसायमा कसरी हुन्छ लगानी होस् र ती उद्योग व्यवसायले सन्तुलित हिसाबको ब्याजदरमा कर्जा उपयोग गर्न पाउन् भन्ने सोचेर नेपाल राष्ट्र बैंकले कर्जा नीति, ब्याजदर नीति र मौद्रिक नीति तर्जुमा गरी कार्यान्वयन गर्दै आइरहेको छ । 

नेपालमा पनि अहिले त बैंकिङ प्रविधिको विकास धेरै नै भयो, तर प्रविधिको प्रयोगमा सर्वसाधारणको सहभागिता कम देखियो नि । के कारणले होला ?  
अहिले शहरी क्षेत्रमा बैंकिङ प्रविधिको राम्रो विकास भएको छ । यसलाई हामी फाइनान्सियल टेक्नोलोजी पनि भन्छौं । एटिएम सुविधामा बिद्यार्थी, व्यापारी, कर्मचारी लगायत सबैको क्रेज बढेको छ । नयाँ प्रविधि प्रयोग गर्दा त्यसको पूर्वाधार पनि आवश्यक पर्छ । नेपालका काठमाडौं, विराटनगर, पोखरा, धनगढी लगायतका ठाउँमा एटिएम मेसिन उपलब्ध छन् र ती ठाउँमा एटिएमको प्रयोग हुन्छ । भुक्तानीतर्फ पनि नयाँ प्रविधिको प्रयोग बढिरहेको छ । अहिले ठूला सपिङ सेन्टरहरुमा बीओएस मेसिनहरु उपलब्ध छन्, जहाँ नगद तिर्नु पर्दैन, कार्डले नै काम गर्छ । कार्डबाटै सामान खरिद गरेर भुक्तानी गर्न सकिन्छ । शहरी क्षेत्रमा राम्रै सहभागीता भए पनि जनचेतनाको कमीका कारण ग्रामिण भेगमा सहभागिता कम छ । तर नयाँ पुस्ताको भने प्रविधिमा राम्रो क्रेज छ ।

डिजिटल फाइनान्सको विकास भइसक्दा पनि डिजिटल कारोबार कमजोर देखियो हो ?  
नेपालको अर्थतन्त्र अनौपचारिक प्रकारको छ । अहिले ठूलो हिस्सा कारोबार अनौपचारिक ढंगले भइरहेको छ । उदाहरणको लागि अहिले कृषि उत्पादन, खरिद विक्री अनौपचारिक ढंगले भइरहेको छ । कृषि पेशाको अझै पनि व्यवसायीकरण हुन सकेको छैन । कृषकहरुले बेच्न भन्दा पनि आफ्नै लागि प्रयोग गर्न उत्पादन गर्ने गरेका छन् । व्यापार पनि अहिले औपचारिक भन्दा पनि अनौपचारिक रुपमा हुने गरेको छ । 
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय व्यापारमा भुक्तानीको पद्धतिबारे एउटा अध्ययन गरेको थियो । भारतसँगको व्यापारमा ३५ प्रतिशत अनौपचारिक व्यापार गरेको त्यो अध्ययनले देखाएको छ । भारतले नेपालतर्फ गरेको निर्यात तथा नेपालले भारतबाट आयात गरेको तथ्यांक सार्वजनिक गर्छन् । त्यो तथ्यांक त मिल्नुपर्ने हो, तर मिलेको छैन । यसले ३५ प्रतिशत व्यापार अनौपचारिक रुपमा हुने प्रमाणित गरेको छ । नेपालमा के कृषि, के अन्तर्राष्ट्रिय व्यापार, के बन्द व्यापार, के विप्रेषण आप्रवाह, कुनैले पनि अझै पनि औपचारिक रुप लिन सकेको छैन । हामी भुक्तानीका लागि नगद प्रयोग गर्न चाहान्छौँ, चेक प्रयोग गर्न चाहँदैनौँ । अझ डिजिटल प्रविधितर्फ त ध्यानै छैन । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यान केहि बर्षअघि देखि यस क्षेत्रमा लागिरहेको छ । भुक्तानी प्रणालीलाई डिजिटलाईज गर्ने, अर्थतन्त्रलाई कसरी औपचारिक क्षेत्रमा ल्याउने, कसरी चेकको प्रयोग बढाउने, कसरी नगदको प्रयोग घटाउने भन्नेतर्फ नेपाल सरकार र राष्ट्र बैंकले कदम चाल्दै आएका छन् । उदाहरणको लागि १० लाख भन्दा बढीको नगद कारोबारमा रोक लगाइएको कुरालाई पनि लिन सकिन्छ ।