सीता परियार विगत १२ वर्षदेखि सिलाई व्यवसायमा आवद्ध छिन् । उनको सिलाई व्यवसायको अतिरिक्त धागो तथा कपडा पसल समेत छ । सल्यान जिल्लामा जन्मिएकी सीताको विवाह २०६० सालमा रुकुममा भयो । विवाह पश्चात उनी र उनका श्रीमान दाङ्गको तुलसीपुरमा बसाईसराई गरी साहुको टेलरिङ्गमा ज्यालामा काम गर्न आए । ज्यालादारीमा काम गर्दै जाँदा चार वर्ष वित्यो ।
आफैँ साहू बन्ने इच्छा
साहुको पसल अगाडी बसेर सिलाई गर्दै जाँदा आम्दानी राम्रो हुने ठहर गरी उनीहरुको मनमा पसल भित्र बसी आफ्नै कारोबार गर्ने सोच आयो । मान्छेका इच्छा आकांक्षा असिमित हुन्छन् । सीता र उनका श्रीमानको पनि आफैँ साहु बन्ने इच्छा भएपछि उनीहरु पूँजीको जोहो कसरी गर्ने भन्ने विषयमा सोच्न थाले । “सधै भरी ज्यालामा मात्र काम गरेर परिवारको आवश्यकता पुरा गर्न नसकिने देखे पछि हामीमा आफ्नै काम गरौं भन्ने सोच आयो ।” उनका श्रीमान मस्त बहादुर परियारले बताए ।
पुँजीको जोहो
पुँजीको खोजीमा रहेका परियार दम्पतीले स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडको बारेमा सुने । उनीहरु तुससीपुर स्थित बैंकको शाखा कार्यालय गएर बैंकको सेवाका बारेमा बुझे । विना धितो नै कर्जा पाउन सक्ने जानकारी पाएपछि उनीहरुले कर्जा लिएर काम सुरु गर्ने निधो गरे । त्यस समयसम्म उनीहरुले एक थान मेसिन दैनिक १० रुपैयाँमा भाडामा लिई आफ्नै सिलाई सम्बन्धी दोकान सुरु गरिसकेका थिए । मिति २०६८ मा स्वावलम्बन बैंकको ३८ नम्बर केन्द्र, श्रीराम स्वावलम्बन महिला केन्द्रमा आवद्ध भएपछि सुरुमामा २० हजार रुपैयाँ कर्जा लिएर एक थान सिलाई मेसिन र केही धागो र सिलाई सामग्री खरिद गरे । तर इन्टरलग मेसिन खरिद गर्न थप पैसा आवश्यक हुने देखिएकोले तत्कालका लागि भाडामा लिएर काम संचालन गरे ।
व्यवसाय विस्तार
समय बित्दै गयो । उनीहरुको दैनिक आम्दानीमा वृद्धि हुँदै गयो । कर्जा लिँदै व्यवसाय थप गर्दै आम्दानीबाट कर्जाको किस्ता बुझाउनु र पुनः व्यवसाय वृद्धिका लागि कर्जा लिनु उनीहरुको योजना बमोजिम अगाडी बढ्दै गए । आम्दानी राम्रो हुदै गएपछि सिलाइ मेसिन थप गरे । काँचो कपडा र धागोको समेत उनले व्यापार गर्न थाले । हाल उनको धागो पसल बजारमा प्रख्यात छ । “हाम्रो सफलताको जश स्वावलम्बनलाई जान्छ ।” सीताले बताइन् । हाल स्वावलम्बनबाट मिति २०७३ जेष्ठमा उनले चार लाख रुपैयाँ धितो कर्जा साथै एक लाख ५० हजार रुपैयाँ साधारण कर्जा लिई व्यवसायमै लगाएकी छिन् ।
मासिक ६० हजार आम्दानी
यसरी २० हजार रुपैयाँबाट सुरु गरेको उनको व्यवसाय स्वावलम्बनको कर्जा लिएर रु.१५ लाखको सम्पत्ति भएको छ । उनको मासिक आम्दानी सरदर रु.६० हजार छ । चाडपर्वको समयमा त एक लाख रुपैयाँसम्मको व्यापार हुने गरेको उनी बताउँछिन् । उनका एक छोरा र एक छोरी छन् । स्थानीय नाम चलेको बोर्डिङ्ग स्कूलमा छोरी ८ कक्षामा र छोरा २ कक्षामा अध्ययनरत छन । कुनै पनि सम्पत्ति नलिएर दाङ्गको तुलसीपुरमा बसाइसराई गरेको परियार दम्पतिले मासिक १५ हजार रुपैयाँ भाडामा कोठा लिई पसल संचालन गर्दै आएका छन् । त्यतिमात्र होइन, तुलसीपुरको टरिगाँउ स्थित ५ धुर जग्गा पाँच लाख रुपैयाँमा खरिद गरेका छन् भने पुनः १० लाख रुपैयाँसम्मको घडेरी खरिद गर्ने सोचमा छन् । घडेरी खरिद नगरे सो ५ धुर जग्गामा घर बनाउने विचारमा छन् ।
सात जनालाई रोजगारी
उनको पसलमा छ जना सिलाई मिस्त्री छन् । रोजगारीको खोजीमा आएका उनीहरुले हाल सात जनासम्मलाई रोजगारी दिन सफल भएका छन् । श्रीमतीले मैनवत्ति बालेर सिलाइ गरेको विगतको अनुभव सुनाउँदै अहिलेसम्म श्रीमतीको उस्तै जोश, जाँगर र लगनशीलताको प्रतिफल स्वरुप छोराछोरीको शिक्षादिक्षा, व्यापार–व्यवसाय र दैनिकी देखेर मख्ख छन्, मस्त बहादुर ।