Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी हुन्, यो साता चर्चामा रहेका आठ बैंकिङ खबरहरु 

२०७३ फाल्गुन १३ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा समाचारको केन्द्र बन्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
नेपाल राष्ट्र बैंकले गाडी खरिदमा प्रदान गरिने ऋणलाई बैंकले ५० प्रतिशत मात्रै दिने नीति ल्यायो । नेपाल राष्ट्र बैंकले निजी गाडि खरिदमा कडाइ गरेको हो । मंगलवार मौद्रिक नीतिको समिक्षामा केन्द्रीय बैंकले निजी गाडी खरीद गर्दा ५० प्रतिशत भन्दा कम कर्जा दिन बैंकलाई निर्देशन दिएको छ । यसैगरी ओडी कर्जाको सीमा पनि घटाइएको छ । बैंकले ओडीमा एक करोड रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएकोमा अब ७५ लाख रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गरिने छ । २०७४ असार मसान्तसम्म ओडी ७५ लाख रुपैयाँमा ल्याउनेगरि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

बजेटको अर्धवार्षिक समीक्षा
सरकारले प्रथम छ महिनामा लक्षित पुँजीगत खर्चको ११ प्रतिशत हाराहारीमा मात्रै भएको विवरण सार्वजनिक गर्यो । चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षा गर्दै अर्थ मन्त्रालयले पुस मसान्तसम्ममा कुल बजेटको २६.१९ प्रतिशत मात्र खर्च गरेको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९२ करोड बजेट विनियोजन गरेकोमा छ महिनामा दुई खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ खर्च भएको छ । 

सेन्ट्रल र भक्तपूर फाइनान्सलाई मर्जर अनुमति
नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृति दियो । मर्जपछि संस्थाको नाम सेन्ट्रल फाइनान्स रहनेछ र केन्द्रीय कार्यालय ललितपुर रहने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ र भक्तपुर फाइनान्सको चुक्तापुँजी चुक्ता पूँजी २१ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको छ । दुई संस्था गाभिएपछि बन्ने संस्थाको चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ हुनेछ । 

कैलाश विकास बैंकको हकप्रद खुल्यो
कैलाश विकास बैंक लिमिटेडले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६० लाख ६७ हजार दुई सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार छ सय ७२ कित्ता सेयरको बिक्री शुक्रबारदेखि खुला गरेको हो । बैंकको हकप्रद सेयरमा पुस १३ गतेसम्म कायम लगानीकर्ताले फागुन ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न पाइने बताइएको छ । 

रिलायबलको हकप्रद खारेज
रिलायबल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन नगरी एक्विजिसनमा जाने निर्णय गर्यो । बैंकको गत असार १७ गतेसम्पन्न दशौँ वार्षिक साधारणसभाले पारित गरेको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय आगामी साधारणसभाबाट खारेज गर्ने बैंकले जनाएको छ । बैंकको आगामी साधारणसभा चैत्र २ गते बस्दैछ । रिलायबलले आफैँ अढाई अर्ब रुपैयाँ पुँजी पुर्याएर राष्ट्रियस्तरको विकास बैंकको रुपमा कायम रहन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सहमति गरेपछि बैंकले हकप्रद जारी गर्ने विषयमा अन्यौल थियो । अन्ततः बैंकले हकप्रद खारेज गरेर एक्विजिसनमा जाने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

नेपाल बैंकको नयाँ कर्जा योजना
नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्यायो । बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी कर्जा’ योजना कार्यान्वनमा ल्याएको छ । जनसम्पर्क अधिकृत सूर्यमान राजभण्डारीले बैंकले अगाडि बढाएको दुबै कर्जाको वार्षिक ब्याज दर ७ प्रतिशत, सेवा शुल्क ०.५० प्रतिशत र दुई वर्ष पश्चात् कर्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क नलाग्ने तथा कर्जा रकम भुक्तानी प्रक्रिया समान मासिक किस्तामा आधारित गरिएको जानकारी दिए । घर कर्जाको अवधि दुई वर्षदेखि २० वर्षसम्म तथा कर्जा रकम न्यूनतम रु १० लाख वा सो भन्दामाथि आवश्यकता अनुसार प्रदान गरिने नीति बैैकले लिएको छ । गाडी कर्जाको अवधि दुई वर्षदेखि ७ वर्षसम्म तथा न्यूनतम रु १० लाखदेखि अधिकतम रु एक करोडसम्म निजी प्रयोगको लागि सवारी साधन खरिद गर्न कर्जा प्रदान गरिनेछ ।

एसियाली विकास बैंकले नेपालमा लगानी थप्यो
एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ थप लगानी गर्ने घोषणा गर्यो । बैंकले एक पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिएको हो ।

तीन संस्थालाई हकप्रद निष्काशनको अनुमति
यो साता नेपाल धितोपत्र बोर्डले तीन संस्थालाई हकप्रद निष्काशनको अनुमति दियो । बोर्डले मिसन डेभलपमेन्ट बैंकलाई शतप्रतिशत, प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत र सिटिजन्स बैंकलाई २५ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।

अन्य

  • नेपाल ग्रामीण विकास बैंक लिमिटेडले क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गतका विभिन्न ईलाका÷शाखा कार्यालयहरुमा आवद्ध केन्द्र प्रमुखरउप–प्रमुख तथा सदस्यहरुको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गर्यो ।
  • आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा मोबाइल वित्तीय सेवा सुरु गर्ने सम्बन्धमा साझेदारी सम्पन्न भयो ।
  • वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्नका लागि नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्यो ।
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवौँं वार्षिकोत्सवको अवसर पारेर ग्रीन सिटि, क्लिन सिटि भन्ने नाराका साथ बुटवलमा सरसफाई कार्यक्रम गर्यो । साथै नयाँ बसपार्कदेखि मिलनचोकसम्मको रोड डिभाइडरमा रोटरी क्लव अफ बुटवल साउथसँगको सहकार्यमा बृक्षारोपण समेत गर्यो भने उक्त बृक्षरोपणको संरक्षण गर्ने जिम्मा समेत लियो ।
  • हिमालयन बैंक लिमिटेडको नवनिर्मित इटहरी शाखा कार्यालय भवनको उद्घाटन गरियो ।
  • फेवा विकास वैक लिमिटेडले हालै चितवनको सौराहामा कर्मचारी दक्षता अभिबृद्घि तालिम एवम् कार्यशाला गोष्ठी सम्पन्न गर्यो ।
  • सानिमा बैंक लिमिटेडले क्रिकेटर सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण गर्यो ।
  • एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको लक्ष्य तथा उपलब्धिको लेखाजोखा र धितो कर्जा ब्यवस्थापन गर्ने उद्देश्यले ’अर्धवार्षिक समीक्षा गोष्ठी २०७३’ तथा धितो कर्जा सम्बन्धी दोश्रो चरणको तालिमको आयोजना गर्यो ।