February 21st, 2017

चालू आर्थिक वर्षमा पुँजीगत खर्च ८४ प्रतिशत पुग्ने अर्थको आँकलन

सरकारले प्रथम छ महिनामा लक्षित पुँजीगत खर्चको ११ प्रतिशत हाराहारीमा मात्रै भएको विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७३/७४ को बजेट मध्यावधि समीक्षा गर्दै अर्थ मन्त्रालयले पुस मसान्तसम्ममा कुल बजेटको २६.१९ प्रतिशत मात्र खर्च गरेको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९२ करोड बजेट विनियोजन गरेकोमा छ महिनामा दुई खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले कुल खर्चमध्ये चालु खर्च दुई खर्ब १८ अर्ब ६० करोड ९१ लाख अर्थात् विनियोजनको ३५.४२ प्रतिशत र पुँजीगत खर्च ३५ अर्ब २५ करोड ४६ लाख अर्थात् ११.३० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ २० अर्ब ८२ करोड १४ लाख अर्थात् १७.३८ प्रतिशत खर्च भएको जानकारी दिएको छ । मन्त्रालयले आर्थिक वर्षको अन्त्यसम्ममा ८४ प्रतिशत पुँजीगत खर्च हुने आंकलन गरेको छ । जबकि, गत वर्ष ५६ प्रतिशत खर्च भएको थियो । 

यस अवधिमा राजस्व परिचालनतर्फ दुई खर्ब ५८ अर्ब ७४ करोड तीन लाख लक्ष्य रहेकामा दुई खर्ब ७७ अर्ब ५७ करोड १५ लाख अर्थात् वार्षिक लक्ष्यको तुलनमा ४९.०५ प्रतिशत र अर्धवार्षिक लक्ष्यको तुलनामा १०७.९२ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ । राजस्वमा देखिएको प्रगतिले चालु आवको पाँच खर्ब ७९ अर्ब ३० करोड दुई लाखको लक्ष्य पूरा हुने विश्वास लिइएको छ । वैदेशिक सहायता परिचालनतर्फ एक खर्ब ५२ अर्ब ३१ करोड ३१ लाख बराबरको वैदेशिक सहायताको प्रतिबद्धता आएको र जसमध्ये ३८ अर्ब ३० करोड २७ लाख अनुदान र एक खर्ब १४ अर्ब एक करोड ऋण सहायताको प्रतिबद्धता आएको छ । त्यस्तै, वैदेशिक सहायतातर्फ ३६ अर्ब नौ करोड नौ लाख रुपैयाँ शोधभर्ना रकम प्राप्त गर्ने लक्ष्य लिइएकोमा समीक्षा अवधिमा २१ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा यस वर्षको बजेटको लक्ष्यअनुरूप नै साढे ६ प्रतिशत आर्थिक वृद्धि हुने दाबी अर्थ मन्त्रालयले गरेको छ । मौसमी अनुकूलता, बीउबिजनको उपलब्धता र सेवा क्षेत्रको उत्पादन सन्तोषजनक रहेकाले यो वृद्धि सम्भव भएको दाबी अर्थमन्त्रालयको छ । मूल्य वृद्धिको स्तर पनि यस वर्ष लक्ष्यभित्र नै रहने देखिएको छ । चालु आर्थिक वर्षमा औसता ७ दशमलव ५ प्रतिशतले बजार भाउ बढ्ने आँकलन गरिएकोमा ६ महिनामा मुद्रास्फीतिदर ५ दशमलव ८ प्रतिशत मात्रै रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]