
भागिरथ सापकोटा
अध्यक्ष, नेपाल उद्योग तथा व्यवसायी महासंघ
हाम्रो अर्थव्यवस्थामा देखिएको सबैभन्दा ठूलो समस्या माग सिर्जना (डिमान्ड क्रियसन) नहुनु हो । माग सिर्जना हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव आयात–निर्यातमा परेको छ । व्यापार घट्दा त्यसले राजस्वमा असर पारेको छ । यसकै कारण आर्थिक चक्रमा नकारात्मक प्रभाव देखिएको छ । यसलाई ‘चेन इफेक्ट’ भन्न सकिन्छ, जसले विभिन्न क्षेत्रलाई क्रमिक रुपमा असर पुर्याएको छ ।
यो समस्या केवल आर्थिक मात्र नभइ जनसांख्यिक (डेमोग्राफिक) समस्या पनि हो । जनशक्ति ठूलो संख्यामा विदेशिनु, गाउँमा उत्पादन घट्नु र ग्रामीण क्षेत्र खाली हुँदै जानुले यसलाई थप गम्भीर बनाएको छ । यदि हामीले यो चुरो समस्या समाधान गर्न सकेनौं भने मुलुकको अर्थतन्त्रलाई स्थिर बनाउन सकिँदैन । त्यसैले हाम्रो भूमिका भनेको मुलुकलाई प्रतिस्पर्धात्मक (कम्पिटिटिभ) अर्थतन्त्रतर्फ लैजानु हो ।
नेपालको प्रतिस्पर्धात्मक शक्ति
नेपालसँग त्यस्ता प्राकृतिक र मानवीय स्रोतसाधन छन्, जुन दुनियाँसँग छैन । हिमाल, पर्यटन, जलस्रोत, उर्जा र सिर्जनशील मान्छे हाम्रो प्रतिस्पर्धात्मक शक्ति हुन् । यी आधारलाई प्रयोग गरी उद्योग स्थापना गर्ने हो भने नेपालले अर्थतन्त्रलाई द्रुत गतिमा अघि बढाउन सक्छ । तर, यसका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य हुन्छ ।
राज्यले निजी क्षेत्रलाई सहज बनाउन आवश्यक कानुन, नियम, नीति र प्रशासनिक प्रक्रियालाई सरलीकरण गर्नुपर्छ । अनावश्यक झन्झट हटाएर सुविधा दिन सकियो भने मात्र निजी क्षेत्र उत्साहित हुन्छ । त्यसपछि मात्र अर्थतन्त्रले गति लिन सक्छ ।
सबैभन्दा पहिले हाम्रो ध्यान ग्रामीण केन्द्रित अर्थतन्त्रमा हुनुपर्छ । यदि एउटा गाउँमा मात्र १० वटा उद्योग सुरु गर्न सकियो भने त्यहाँ रोजगारी सिर्जना हुन्छ । रोजगारी सिर्जना भएपछि विदेशतर्फको युवा पलायन रोक्न सकिन्छ । हालैका वर्षहरूमा ठूलो संख्यामा युवाहरू विदेशिएको वास्तविकता हामी सबैलाई थाहा छ । यही कारण गाउँमा उत्पादन घटेको छ र श्रमशक्ति ह्रास भएको छ । यसलाई रोक्ने एकमात्र उपाय भनेको ग्रामीण क्षेत्रमा उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नु हो ।
ग्रामीण क्षेत्रमा उद्योग विस्तार गर्दा के हुन्छ ?
-युवाहरूलाई स्थानीय स्तरमै रोजगारी मिल्छ ।
-गाउँमा उत्पादन बढ्छ ।
-विदेशिनेको संख्या घट्छ ।
-गाउँको उपभोग क्षमता बढ्छ र बजार चलायमान हुन्छ ।
माग सिर्जना नभएसम्म लगानीकर्ता डराउँछन् । उद्योगले उत्पादन गर्छ, तर बिक्री हुँदैन भने लगानीकर्ताले पक्कै जोखिम लिन चाहँदैन । त्यसैले माग सिर्जना गर्न रोजगारी बढाउनैपर्छ, रोजगारी बढाउन ग्रामीण उद्योग स्थापना गर्नैपर्छ । यही चेनलाई सक्रिय बनाउनुपर्ने हुन्छ । उत्पादन–रोजगारी–माग–उपभोग–राजस्वको चक्रलाई पुनः गतिशील बनाउन सकियो भने अर्थतन्त्र स्थिर र दिगो बन्न सक्छ ।
निजी क्षेत्र र राज्यबीचको सम्बन्ध
अहिलेको अवस्थामा व्यवसायी, सरकार र स्थायी सरकार (ब्युरोक्रेसी) बीचमा पर्याप्त समझदारी छैन । ब्युरोक्रेसीले निजी क्षेत्रमा समस्या सिर्जना गर्ने, अनावश्यक हर्डल खडा गर्ने प्रवृत्ति अझै पनि कायम छ । सरकारले ब्युरोक्रेसीलाई मात्र आधार मानेर निर्णय गर्दा व्यवसायीलाई निराशा भएको छ ।

अर्थतन्त्रलाई सुधार गर्ने तीन पक्ष
१.ब्युरोक्रेसीलाई परम्परागत सोचबाट हटाएर आधुनिक, स्मार्ट र परिणाममुखी बनाउनु जरुरी छ ।
२.सरकारले निजी क्षेत्रलाई आत्मबल बढाउने नीतिगत र व्यावहारिक सहयोग दिनुपर्छ ।
३.निजी क्षेत्रले राज्यसँग सहकार्य गरेर उत्पादन र रोजगारी सिर्जना गर्ने दिशामा सक्रिय हुनुपर्छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले यिनै विषयलाई लिएर अभियान चलाइरहेको छ । उद्योगीहरूलाई ग्रामीण क्षेत्रमा लगानी गर्न प्रेरित गरिएको छ । व्यवसायीहरूको समस्या र मागलाई सरकारसमक्ष पुर्याउने काम भइरहेको छ । यसरी निजी क्षेत्र र राज्यबीच समन्वय मिलाएर मात्र मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ ।
नीतिगत सुधार र सकारात्मक प्रयास
सरकारले पनि केही सुधारका प्रयास गरेको छ । रामेश्वर खनालको नेतृत्वमा आर्थिक सुधार समिति गठन भएको छ । कानुन संशोधनमार्फत केही विधेयक ल्याइएका छन् । बजेटमा ग्रामीण केन्द्रित अर्थतन्त्रलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । यद्यपि, अझै पनि राष्ट्र बैंक र बजेटबीचको तालमेल अभावमा समस्या देखिन्छ । तर, यो स्थायी समस्या होइन, समयक्रममा यसलाई मिलाउन सकिन्छ । महत्वपूर्ण कुरा भनेको नीति निर्माणमा निजी क्षेत्रको आवाजलाई सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने हो ।
मूल समस्या, माग सिर्जना नहुनु
अहिलेको प्रमुख समस्या भनेकै माग सिर्जना नहुनु हो । गाउँमा उत्पादन घटेको छ, युवाहरू विदेशिएका छन्, बाँकी बुढाबुढी र बालबालिका मात्र छन् । श्रमशक्ति नभएकाले उत्पादन घटेको छ । उत्पादन नभएपछि बजारमा माग घटेको छ । यही कारण उद्योगी लगानी गर्न डराउँछन् ।
यसरी माग सिर्जना नहुने समस्या समाधान गर्ने भनेको उत्पादन बढाउनु हो । उत्पादन बढाउन रोजगारी सिर्जना गर्नुपर्छ । रोजगारी सिर्जना गर्न ग्रामीण क्षेत्रमा उद्योग खोल्नुपर्छ । यही नै दीर्घकालीन समाधान हो । यसर्थ,नेपालको अर्थतन्त्रलाई सुधार गर्ने बाटो भनेको ग्रामीण केन्द्रित उद्योग, निजी क्षेत्रको सक्रियता, राज्य–ब्युरोक्रेसी–व्यवसायीबीचको समझदारी, र प्रतिस्पर्धात्मक शक्ति प्रयोग नै हो ।
माग सिर्जना गर्ने मुख्य आधार रोजगारी हो र रोजगारी सिर्जना गर्ने आधार ग्रामीण उद्योग नै हो । अहिलेको अवस्था कठिन भएपनि समाधान असम्भव भन्ने छैन । सही नीतिगत सुधार, निजी क्षेत्रलाई प्रोत्साहन र ब्युरोक्रेसीलाई आधुनिक बनाउने प्रयास सफल भयो भने नेपालले आफ्नो अर्थतन्त्रलाई छिट्टै उचाल्न सकिन्छ । बाटो यही हो, विकल्प अरु छैन ।
अध्यक्ष सापकोटासँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित ।