बैंकिङ खबर / बैंकिङ क्षेत्रमा भएका नियुक्तिहरुमा सरकार प्रवेश गरेन भन्ने धेरैको बुझाई अन्तत गलत सावित भएको छ । अर्थमन्त्रालयले धमाधम सरकारी बैंकमा भएका नियुक्तिहरु फिर्ता बोलाउन थालेको छ । मन्त्रालयले राजीनामा दिन लगाएपछि तीनवटै बैंकका अध्यक्षले राजीनामा गरिसकेका छन् । अहिले सिइओहरु राजीनामाको तयारीमा छन् । तीनवटै सरकारी बैंकहरु कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकमा भएका राजनीतिक नियुक्तीमा सरकारको ध्यानाकर्षण भएको छ । सरकारले केहीदिन अघि सार्वजनिक गरेको सरकारी नियुक्ति फिर्ताको अध्ययादेशमा बैंकिङ क्षेत्र समावेश नहुँदा हाइसन्चो भएका अधिकारीहरु एकाएक झस्कीएका छन् । अर्थ मन्त्रालयले मन्त्रालयमै बोलाएर राजीनामा दिन लगाएपछि एक्कासी उनीहरुमा झड्का लागेको छ ।
सरकारी बैंक नेपाल बैंक लि, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकासि बैंकका सिइओहरुलाई अर्थमन्त्रालयले राजीनामा गर्न निर्देशन दिइसकेको छ । अर्थ मन्त्रालयले सरकारलाई सहजिकरण गर्नका लागि वाटो खुल्ला गर्न भनेको छ । सोही अनुसार सरकारी बैंकका सिइओहरु राजीनामाको अन्तिम तयारीमा छन् ।
डिलो चाँडोको कुरा मात्रै हो । अन्य सरकारी बैंकका नियुक्तहरु फिर्ता गरेपछि सरकारले केन्द्रीय बैंकमा झड्का दिने तयारी गरेको छ । केन्द्रीय बैंकमा भएका तीनजना संचालक सहित गभर्नरलाई पनि सरकारले फिर्ता बोलाउने छ । पुरानो शक्तिले नियुक्त गरेका अधिकाँस व्यक्तिहरु राजनीति पृष्ठभूमिका भएपछि सरकारले सबै निकायमा खाली गरेर स्वतन्त्र व्यक्तिहरुलाईं नियुक्ति गर्ने योजना बनाएको हो । गभर्नरको नियुक्ती पनि फिर्ता लिने तयारीमा सरकार लागि सकेको छ ।
राजनीतिक नियुक्ति खाएका तीनवटै सरकारी बैंकका सञ्चालक समिति अध्यक्षले यस अघि नै राजीनामा दिएका छन् । कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र नेपाल बैंकका अध्यक्ष प्राध्यापक डा. डिल्लीराज शर्माले राजीनामा दिएका हुन् । अर्थ मन्त्रालयले तीनवटै बैंकका अध्यक्षलाई मन्त्रालयमा बोलाएर राजीनामा दिन लगाएको जनाइएको छ । अर्थ मन्त्रालयले तीनजनालाई नै मन्त्रालयमा बोलाएर राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेपछि उनीहरुले राजीनामा दिएका हुन् । उनीहरुको राजीनामासँगै सरकारी बैंकका सिइओको मनस्थीति परिवर्तन भएको छ । सरकारले उनीहरुलाई पनि राजीनामा गर्न लगाइसकेको छ ।


