बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले २१ दिनको अन्तरमा फेरि एकैदिन एक खर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने क्रममा लगातार निक्षेप संकलन गर्दै आएको छ । यस अघि बैशाख १७ गते पनि नेपाल राष्ट्र बैंकले एकैदिन १ खर्ब २० अर्ब निक्षेप संकलन गरेको थियो । केन्द्रीय बैंकले यो निक्षेप संकलन ६१ दिनको लागि गर्ने छ । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण गरिने तथा साँवा र ब्याज भुक्तानी साउन ६ गते हुने केन्द्रीय बैंकले जनजाएको छ । क, ख र ग बर्गका बैंकवित्तले घटीमा ५ करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमका लागि आवेदन दिन पाउने छन् ।
कर्जा प्रवाह हुन नसक्दा लगानीयोग्य रकम थुप्रिनेक्रम जारी छ । अहिले बैंकिङ प्रणालीमा तरलता अत्यधिक छ तर कर्जा माग कमजोर छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ प्रणालीको सिडी रेसीयो करिब ७३ प्रतिशतमा झरेको छ, जसले बैंकहरूसँग लगानीयोग्य रकम धेरै रहेको संकेत गर्छ।
नेपालको बैंकिङ प्रणाली अहिले “अधिक तरलता” को अवस्थाबाट गुज्रिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढिरहेको भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन। परिणामस्वरूप बैंकहरूसँग ठूलो परिमाणमा लगानीयोग्य रकम थुप्रिएको छ। यही अवस्थालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट लगातार रकम खिच्ने नीति अपनाएको छ।
अर्थतन्त्रमा यस्तो अवस्था किन आयो भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ। मुख्य कारण कर्जा मागमा आएको कमी हो। उद्योग–व्यवसाय सुस्त हुँदा नयाँ लगानी विस्तार हुन सकेको छैन। निर्माण क्षेत्र, रियल स्टेट, व्यापार तथा उत्पादन क्षेत्रमा अपेक्षित गतिविधि नहुँदा बैंकबाट ऋण लिन चाहने ग्राहक घटेका छन्। अर्कोतर्फ रेमिट्यान्स आप्रवाह भने उच्च छ । विदेशबाट आएको रकम बैंकिङ प्रणालीमा निक्षेपको रूपमा जम्मा भइरहेको छ। यसले बैंकहरूमा पैसा थप बढाएको छ। तरलता धेरै हुँदा अन्तरबैंक ब्याजदर समेत निकै कम भएको छ। बैंकहरूले निक्षेपको ब्याजदर घटाइरहेका छन् भने कर्जाको माग कम हुँदा वित्तीय प्रणालीमा निष्क्रिय रकम बढिरहेको छ।


