Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रविधिको विकास भइसक्दा पनि अझै हटेन बैंकमा लाइन बस्ने झन्झट

२०७४ चैत्र २८ गते

बैंकिङ खबर । नेपालको अर्थतन्त्रमा आर्थिक कारोबार अनौपचारिक ढंगले भइरहेको छ । हामी भुक्तानीका लागि नगद प्रयोग गर्न चाहान्छौँ, चेक प्रयोग गर्न चाहँदैनौँ । अझ डिजिटल प्रविधितर्फ त ध्यानै छैन । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यान केही वर्षअघि देखि यस क्षेत्रमा लागिरहेको छ । भुक्तानी प्रणालीलाई कसरी डिजिटलाइज गर्ने, अर्थतन्त्रलाई कसरी औपचारि क्षेत्रमा ल्याउने, कसरी चेकको प्रयोग बढाउने, कसरी नगदको प्रयोग घटाउने भन्नेतर्फ नेपाल सरकार र राष्ट्र बैंकले कदम चाल्दै आएका छन् । 

नेपालमा बैंकको सुरुवात भएदेखि हालसम्म निकै परिवर्तनहरु आएको छ । बैंकिङ क्षेत्रमा थुप्रै प्रविधिहरु भित्रिएका छन् । अब भने डिजिटल फाइनान्स एवम् क्यासलेश बैंकिङको आवश्यकता महशूस गरिएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले मुलुकमा नगद कारोबारलाई कम गर्दै लैजाने नीति लिएका छन् । बैंकहरुले पनि यसै नीतिलाई आत्मसात गर्दै इन्टरनेट बैंकिङ, मोबाइल वलेट, अनलाइन बैंक खाता लगायतका सेवा दिइरहेका छन्, जसबाट मोबाइल, टेलिफोन वा टिभी रिचार्ज गर्न सकिन्छ भने पानी तथा वत्तिको विल समेत चुक्ता गर्न सकिन्छ । त्यस्तै, स्कुल फी समेत मोबाइलमा डाउनलोड गरेको एउटा एपको माध्यमबाट नै भुक्तानी गर्न सकिने प्रविधि भित्रिइसकेको छ । यद्यपि, यसको प्रयोग एकदमै न्यून छ । मानिसहरुलाई इन्टरनेट खोलेर वा मोबाइलमा एप डाउनलोड गरेर रकम भुक्तानी गर्नुभन्दा नगद नै बोकेर सम्बन्धित स्थानमा जाने बानी परेको छ ।

अरु मुलुकहरुमा क्यास ट्रान्जेक्सन झण्डै शून्य प्रतिशतमा छ । स्वीट्जरल्याण्ड, नर्वे जस्ता देशहरुमा क्यासलेश कारोबार हुने गरेको हामीले विभिन्न सञ्चार माध्यममा पनि देखेका छौँ । कतिपय देशहरुमा यसका लागि नीतिगत रुपमा नै व्यवस्था गरिएको हुन्छ । क्यासलेश ट्रान्जेक्सन हुने देशहरुमा नगद छाप्न नै प्रतिबन्ध लगाउने नियमहरु बनेका छन् । विश्वका धेरैजसो विकसित देशहरुमा नगद कारोबार ज्यादै कम हुने गरेको छ । नेपालमा भने ९५ प्रतिशतभन्दा बढी कारोबार नगदमा हुन्छ । बाँकी ४।५ प्रतिशत मात्रै क्यासलेश ट्रान्जेक्सन हुने गरेको छ । अझ डिजिटल प्रविधिको कुरा गर्दा त नेपालमा ०.१।०.२ प्रतिशतभन्दा बढी इलेक्ट्रोनिक ट्रान्जेक्सन हुन सकेको छैन ।

नेपालमा क्यासलेश ट्रान्जेक्शनको आवश्यकतामहशूस गरिएको छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलन नेपालमा छ । हामीले डिजिटल फाइनान्सको प्रयोग गर्न सके मात्रै क्यासलेश ट्रान्जेक्शनको सम्भव छ । अहिले हामीे एटिएममा गएर पैसा निकाल्ने र पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने गरिरहेका छौँ । यस्तो प्रवृत्तिले डिजिटल फाइनान्सको अर्थ हुँदैन । डिजिटल फाइनान्स अर्थपूर्ण त्यतिबेला हुन्छ, जब हाम्रो तलव, भत्ता पनि बैंक खाताबाटै आउँछ, इन्टरनेट बैंकिङ अथवा कार्डबाट पेमेन्ट गर्छौँ, मोवाइलमा रिचार्ज गर्छौँ,  डोमेष्टिक मनि ट्रान्सफर गर्छौँ, इन्स्योरेन्सको पेमेन्ट पनि इन्टरनेट बैंकिङबाटै गर्छौँ ।