काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पूर्ण तयारी पूरा भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार प्रदर्शनीस्थलमा २ सय १५ भन्दा बढी स्टल निर्माण भइसकेका छन्। पत्रकारहरुलाई प्रदर्शनीस्थलको अवलोकन गराउँदै उनले यसपटक अघिल्ला वर्षको तुलनामा स्टललाई थप फराकिलो र व्यवस्थित बनाइएको बताए। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती, एसी र पंखाको व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थललाई चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधन, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियनलगायत क्षेत्रमा विभाजन गरिएको छ। अवलोकनकर्ताले पनि सवारीसाधनदेखि वित्त, बीमा, सर्भिस र पार्ट्ससम्मका विषयलाई क्रमबद्ध रूपमा हेर्न सक्ने गरी प्रदर्शनीको व्यवस्थापन गरिएको नाडाले जनाएको छ। यसले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, सुविधा, वित्तीय विकल्प र बिक्रीपछिको सेवाबारे एकै स्थानमा जानकारी लिन सहज हुनेछ। नाडाका अनुसार अटो शोमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ।
अग्रिम टिकट बुकिङ खुला
अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै नाडाले अग्रिम टिकट बुकिङको व्यवस्था गरेको छ। खल्ती एप तथा आधिकारिक क्यूआर कोडमार्फत टिकट खरिद गर्न सकिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २ सय रुपैयाँ र विद्यार्थीका लागि १ सय ५० रुपैयाँ तोकिएको छ। अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ। अवलोकनकर्ताका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा पार्किङको व्यवस्था गरिएको नाडाले जनाएको छ। प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध हुनेछन्। सुरक्षालाई ध्यानमा राख्दै सीसीटीभी निगरानी तथा अग्नि नियन्त्रण प्रणालीको समेत व्यवस्था गरिएको नाडाले जनाएको छ।