Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तको संख्या घट्दै, दुई लघुवित्त आपसमा गाभिए

२०८३ भाद्र ८ गते

बैंकिङ खबर / लघुवित्त वित्तीय संस्थाको संख्या घट्ने क्रम जारी रहेको छ। यही क्रममा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुका साथै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति लिएर विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया पूरा गरेको हो। प्राप्तिपछि विन नेपाल लघुवित्तका सम्पूर्ण सम्पत्ति, दायित्व तथा सम्भावित दायित्वहरू स्वरोजगार लघुवित्तले व्यहोर्नेछ। दुवै संस्थाबीचको एकीकृत वित्तीय कारोबार भदौ २१ गते आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

एकीकृत कारोबार सुरु हुने दिन दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा एक दिनका लागि बन्द रहने जनाइएको छ। सेवाग्राही, सेयरधनी तथा अन्य सरोकारवालालाई सेवा प्रभावित हुनेबारे संस्थाले जानकारी गराएको छ। प्राप्तिपछि संस्थाको नाम भने ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ। यसको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहनेछ। लघुवित्त क्षेत्रमा पछिल्लो समय संस्थाहरूबीच मर्जर तथा प्राप्तिको प्रक्रिया तीव्र बन्दै गएको छ। नियामकीय आवश्यकतासँगै संस्थाको संख्या घटाउने र तुलनात्मक रूपमा सबल संस्था निर्माण गर्ने उद्देश्यले लघुवित्तहरू एकआपसमा गाभिने क्रम बढेको हो। स्वरोजगार र विन नेपालको प्राप्तिले पनि लघुवित्त क्षेत्रमा संस्थागत एकीकरणको क्रमलाई थप निरन्तरता दिएको छ ।