Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रको विकास : नब्बे वर्षको गौरव, समृद्ध नेपालको आधार

२०८३ कार्तिक ३० गते

सविता कनौजे / नेपालको आधुनिक बैंकिङ इतिहासमा नेपाल बैंक लिमिटेडको स्थान अत्यन्त गौरवपूर्ण र ऐतिहासिक छ। नियामक निकाय नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा करिब १९ वर्षअघि, वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको यो नेपालको पहिलो बैंक हो। नेपाल सरकार तथा निजी लगानीकर्ताहरूको संयुक्त लगानीमा स्थापना भएको यस बैंकले यही आउँदो २०८३ कात्तिक ३० गते आफ्नो ९०औँ स्थापना दिवस मनाउँदै छ। यो दिवस केवल एउटा वित्तीय संस्थाको विकासक्रमको उत्सव मात्र होइन, नेपालको आर्थिक इतिहास, जनताको विश्वास, वित्तीय पहुँच र राष्ट्रको आर्थिक रूपान्तरणसँग जोडिएको गौरवपूर्ण गाथा पनि हो।

यस बैंकको स्थापनाले परम्परागत साहु–महाजनमा आधारित आर्थिक कारोबारलाई संस्थागत, व्यवस्थित र विश्वसनीय बैंकिङ प्रणालीतर्फ रूपान्तरण गर्ने ऐतिहासिक सुरुवात गर्‍यो। बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास, निक्षेप परिचालन, कर्जा प्रवाह, व्यापार तथा उद्योग व्यवसायको विस्तार र आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा आबद्ध गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। यसले नेपाली अर्थतन्त्रलाई आधुनिक वित्तीय प्रणालीसँग जोड्दै आर्थिक विकासको आधार निर्माणमा टेवा पुर्‍याएको छ। विभिन्न कालखण्डका राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनका बीच पनि बैंकले आफ्नो सेवा विस्तार, संस्थागत क्षमता र व्यावसायिक विश्वसनीयतालाई निरन्तरता दिएको छ। जनताको विश्वास, समर्पण र सेवाभावलाई आत्मसात् गर्दै नेपाल बैंक आज बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर र आर्थिक विकासको भरपर्दो साझेदारका रूपमा स्थापित छ।

नेपालको आर्थिक विकासको यात्रामा स्थापनाकालदेखि नै बैंकले कृषि, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासका लागि निक्षेप परिचालन र कर्जा प्रवाहमार्फत आर्थिक गतिविधिलाई प्रोत्साहन गर्दै आएको छ। यस बैंकले आफ्नो ९०औँ वार्षिकोत्सवका अवसरमा बजारमा प्रतिस्पर्धी तथा सबैभन्दा सस्तो ब्याजदरमा सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले देशका विभिन्न भूगोलमा हालसम्म ७१ जिल्लामा २३१ शाखा, २४६ एटीएम तथा एक्सटेन्सन काउन्टरमार्फत सेवा विस्तार गरी सर्वसाधारण नागरिकलाई बचत, कर्जा, रेमिट्यान्स तथा अन्य आधुनिक बैंकिङ सेवामा पहुँच प्रदान गरेको छ। विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई औपचारिक बैंकिङ प्रणालीमा आबद्ध गराउँदै वित्तीय साक्षरता र वित्तीय समावेशीकरण प्रवर्द्धनमा योगदान गरेको छ। त्यसैगरी, सरकारी राजस्व सङ्कलन, सरकारी भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण, पेन्सन तथा सार्वजनिक वित्तीय कारोबारलाई सहज र व्यवस्थित बनाउन बैंकले सहयोग गर्दै आएको छ।

निजी क्षेत्रको लगानी विस्तार, व्यापारिक कारोबारको सहजीकरण र उद्यमशीलता प्रवर्द्धनमार्फत बैंकले आर्थिक अवसर सिर्जनामा भूमिका खेलेको छ। ग्रामीण क्षेत्रमा सङ्कलित बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै सहरी तथा ग्रामीण अर्थतन्त्रबीच वित्तीय सम्बन्ध विस्तार गर्नु पनि बैंकको महत्त्वपूर्ण योगदान हो। करिब ४८४ अर्ब कुल सम्पत्ति रहेको यस बैंकले ८५ अर्ब लगानी, करिब ४१६ अर्ब निक्षेप तथा २६१ अर्ब कर्जा परिचालन गरेको छ। यसरी बैंक आर्थिक आत्मनिर्भरता, रोजगारी सिर्जना र समावेशी राष्ट्रिय विकासको यात्रामा निरन्तर सहयात्री बनेको छ।

ग्राहकको बदलिँदो आवश्यकतासँगै डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी तथा कृत्रिम बुद्धिमत्तामा आधारित सेवाले नेपाल बैंकको परम्परागत बैंकिङ प्रणालीलाई थप सहज, छिटो र प्रभावकारी बनाएका छन्। यस परिवर्तनसँगै बैंकहरूबीच प्रतिस्पर्धात्मक वातावरण पनि तीव्र बन्दै गएको छ। ग्राहकले अब सुरक्षित, सरल, छरितो, पारदर्शी र गुणस्तरीय सेवा अपेक्षा गरेका छन्। यसका साथै डिजिटल कारोबारको विस्तारसँगै साइबर सुरक्षा, व्यक्तिगत तथा वित्तीय तथ्याङ्कको गोपनीयता, अनलाइन ठगी र वित्तीय जोखिम व्यवस्थापन थप चुनौतीपूर्ण बनेका छन्। यस्ता जोखिम न्यूनीकरणका लागि यस बैंकले विभिन्न अनलाइन स्क्यामबाट सचेत गराउन ९०औँ वार्षिकोत्सवको अवसरमा ‘कार्ड तथा डिजिटल बैंकिङ सचेतना अभियान’ लगायतका अन्य प्रभावकारी आन्तरिक नियन्त्रण र सुरक्षित प्रविधिसम्बन्धी कार्यहरू गरिरहेको छ।

आगामी दशक नेपाल बैंक लिमिटेडका लागि पनि यी परिवर्तन अवसर र चुनौती दुवै हुन्। आफ्नो ऐतिहासिक विरासतलाई आधुनिक सोच, प्रविधि र नवप्रवर्तनसँग जोड्दै नयाँ उचाइ हासिल गर्ने यो महत्त्वपूर्ण अवसर हो। डिजिटल बैंकिङको विस्तारसँगै ग्राहकले शाखामा उपस्थित नभई सहज तथा सुरक्षित रूपमा अधिकांश वित्तीय सेवा प्राप्त गर्न सक्ने प्रणाली विकास गर्नु समयको माग हो।

भैरहवास्थित सिद्धार्थनगर शाखाबाट सुरु भएको मेरो यात्रा नेपाल बैंकमा विगत छ वर्षदेखि सहायक प्रबन्धकका रूपमा कार्य गर्दा बैंकिङ क्षेत्रलाई अझ नजिकबाट बुझ्ने र सेवाप्रतिको प्रतिबद्धता अनुभव गर्ने अवसर बनेको छ। आफ्नो कर्मथलो सम्झँदै गर्दा मलाई लाग्छ, यस बैंकका करिब २७०० कर्मचारी केवल वित्तीय सेवा प्रदान गर्ने व्यक्ति मात्र होइनन्, संस्थाको विश्वास, प्रतिष्ठा र पहिचानका संवाहक पनि हुन्।

मेरा लागि ग्राहकसँगको आत्मीय व्यवहार, समयमै गुणस्तरीय सेवा र आफ्नो जिम्मेवारीप्रतिको इमानदार प्रतिबद्धता नै असल बैंकिङ सेवाका आधार हुन्। एक आत्मविश्वासी र जिम्मेवार महिलाका रूपमा यस समाजमा उभिन मलाई नेपाल बैंकले सिकाएको छ। संस्थाको सफलता केवल यसको इतिहास र उपलब्धिमा होइन, वर्तमान पुस्ताले देखाउने इमानदारी, व्यावसायिक दक्षता र सेवाभावमा निर्भर हुन्छ भन्ने लाग्छ।

बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्दै ग्रामीण समुदाय, महिला, युवा, विपन्न वर्ग तथा बैंकिङ पहुँचबाट टाढा रहेका नागरिकलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न विशेष प्राथमिकता दिएको छ। कृषि, उत्पादन, पर्यटन, साना तथा मझौला उद्योग, युवा उद्यमशीलता र नवप्रवर्तनमा लगानी विस्तार गरी राष्ट्रिय अर्थतन्त्रको उत्पादनशील क्षमता बढाउन बैंक अग्रसर छ। यसका साथै बदलिँदो बैंकिङ परिवेशका चुनौती सामना गर्न कर्मचारीहरूको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, ग्राहक सेवासम्बन्धी सीप र परिवर्तन व्यवस्थापन क्षमता विकासमा बैंकले निरन्तर लगानी गरिरहेको छ। समयसँगै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र उत्तरदायित्वलाई कार्यसम्पादनको आधार बनाउँदै सेवा गुणस्तर तथा संस्थागत दक्षता अभिवृद्धि गर्न बैंक लागिपरेको छ।

आगामी दिनमा नेपाल बैंक केवल वित्तीय कारोबार गर्ने संस्था मात्र नभई डिजिटल अर्थतन्त्रको साझेदार, उद्यमशीलताको उत्प्रेरक र समावेशी समृद्धिको संवाहक बन्न सक्नुपर्छ। यस बैंकका झन्डै ३० लाख ग्राहकले गरेको विश्वास, सेवाको गुणस्तर र राष्ट्रको आर्थिक विकासमा पुर्‍याएको योगदानमा पनि यो प्रतिबिम्बित हुन्छ। यसर्थ, नेपाल बैंक हामी सबैको साझा सम्पत्ति हो।

समग्रमा, सम्पूर्ण बैंकिङ समाधानसहित राष्ट्रकै सर्वाधिक रोजाइको बैंक बन्ने दूरदृष्टि बोकेको नेपाल बैंकको गौरवपूर्ण इतिहास छ। यसलाई निरन्तरता दिन आगामी दशकमा प्रविधि, सुशासन, ग्राहक सेवा र प्रतिस्पर्धात्मक क्षमतामा प्रभावकारी नेतृत्व आवश्यक हुनेछ। स्थापनाका आधारमा पहिलो यस बैंकलाई प्रतिस्पर्धात्मक उत्कृष्टताका आधारमा पनि एक नम्बरकै बैंक बन्ने अपेक्षासहित ९०औँ वार्षिकोत्सवको अवसरमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। लेखक नेपाल बैंक लिमिटेडमा कार्यरत छिन्।

Ad