बैंकिङ खबर / प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनसहित ७ जनाविरुद्ध ४८ करोड रुपैयाँको कर्जा दुरुपयोग गरेको आरोपमा बैंकिङ कसुरको मुद्दा दायर भएको छ। रूपन्देहीमा पाँचतारे रिसोर्ट बनाउने भन्दै स्वीकृत भएको ४८ करोड रुपैयाँ कर्जा रिसोर्ट निर्माणमा प्रयोग नगरी पारिवारिक व्यवसायको पुरानो ऋण तिर्ने, घरजग्गा तथा बीमा किन्नेदेखि सेयर खरिदसम्म प्रयोग भएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ।
अनुसन्धानअनुसार रिसोर्टका लागि आवश्यक जग्गा पर्याप्त रूपमा धितो नराखीकनै कर्जा प्रवाह गरिएको थियो। जम्मा ४ करोड ६१ लाख रुपैयाँ मूल्य बराबरको जग्गा धितोमा राखेर ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको र थप जग्गा बैंकको नाममा दृष्टिबन्धकसमेत नगरिएको अभियोगपत्रमा दाबी गरिएको छ। कर्जा असुरक्षित रहेको भन्दै बैंककै जोखिम विश्लेषकले चेतावनी दिए पनि तत्कालीन सीईओ शेरचनले बैंकको प्रणालीलाई समेत बाइपास गरेर कर्जा निकासा गर्न दबाब दिएको अभियोगपत्रमा उल्लेख छ। कर्जा दुरुपयोगमा बैंकको उच्च व्यवस्थापनदेखि शाखा तहसम्मका कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै सरकारी वकिलको कार्यालयले ४८ करोड रुपैयाँ बिगो, सोही बराबरको जरिवाना र कैद सजाय माग गरेको छ। पूर्व सीईओ शेरचन मुद्दा दायर हुनुअघि नै फरार रहेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ।