April 10th, 2018

नयाँ बैंकिङ टेक्नोलोजीहरु : कसरी गर्ने प्रयोग ?

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्रिने क्रम जारी छ । यद्यपि, सर्वसाधारणमा प्रविधिसम्बन्धी जानकारीको कमी हुँदा बैंकिङ प्रविधिका प्रयोगकर्ता बढ्न सकेका छैनन् । बैंकहरु क्यासलेश ट्रान्ज्याक्सनमा जाने योजना बनाइरहेका छन् । सर्वसाधारणहरु बैंकिङ कार्डहरुको प्रयोगमा समेत झन्झट मान्छन् । बैंकिङ प्रविधिले  जुनसुकै स्थानमा बसेर पनि विभिन्न बिलहरु तिर्ने, हातमा कागजी नोट नबोकी सपिङ गर्ने, बैंकमा नपुगी मोबाइलबाटै कारोबार गर्नेसम्मका सुविधाहरु प्रदान गरेका छन् । यद्यपि, कतिपय सर्वसाधारणलाई यसबारेमा जानकारी नै छैन । यसैबीच बैंकिङ खबर डटकमले नयाँ बैंकिङ प्रविधिहरुको प्रयोग र सुविधाहरुका बारेमा यो रिपोर्ट तयार गरेको छ :

भाइबर बैंकिङ
आजकल हरेक व्यक्तिको हातमा स्मार्ट फोन रहेको छ । भाइबर पनि लोकप्रिय सामाजिक संजाल बनिसकेको छ । यस्तो अवस्थामा, बैंकहरु पनि ग्राहकहरुसँग भाइबरमार्फत जोडिन थालेका छन् । भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्छ । मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् । यो सेवा बैंकमा खाता नभएका व्यक्तिले समेत उपयोग गर्न सक्छन् । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्छन् ।

अनलाइन बैंक खाता 
बैंकहरुले अनलाइन बैंक खाता पनि संचालनमा ल्याएका छन् । देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले बैंकहरुले उक्त बचत खाता संचालनमा ल्याएका हुन् । अनलाइन बचत खाताअन्तर्गत ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने सुविधा रहेको छ । अनलाइनबाट बैंक खाता खोल्ने सुविधा चौबिसै घण्टा उपलब्ध हुनेछ ।

अनलाईन आस्वा प्रणाली 
अहिले अधिकांश बैंकहरुको वेभसाइटमा गएर सिधै आस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ । अनलाईन आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा तपाईले धितोपत्र बोर्डबाट निक्षेप सदस्य लिएका कुनैपनि निक्षेप सदस्यकहाँ सेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट एकाउन्ट) खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंक हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।

मोबाइल वालेट
मोबाइल मनी भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ ।

पस मेसिन
पस (POS) मेसीन क्यासलेस कारोबार गर्ने माध्यम हो । यसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ । साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । 

डेबिट कार्ड 
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन)बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । यसको नामबाट पनि यो विषय स्पष्ट हुन्छ । बैंकमा रकम छैन भने यसबाट नगद झिक्न वा भुक्तानी दिने दुवै कार्य गर्न सकिन्न । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ ।

क्रेडिट कार्ड 
यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । त्यसैले यसलाई ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ ’ भन्ने चलन छ । क्रेडिक कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम निब्र्याजी प्रयोग गर्न पाउँछन् । तर, त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]