सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बीमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बीमा गरिएको छ । बीमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जिल्लाका १११ पशुपालक किसानले आफ्ना पशु तथा चारजना पोल्ट्री फार्म सञ्चालकले कुखुराको बीमा गराएका जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा काशीनाथ यादवले जानकारी दिए ।
पशुतर्फ १९९ गाई, ४० वटा भैंसी, २०४ बाख्रा र १२ वटा बङ्गुरको बिमा गरिएको छ । बाली र पशुपक्षीको बीमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने तथा २५ प्रतिशत किसान स्वयम्ले तिर्नुपर्ने व्यवस्था रहेको छ ।
पशुतर्फ एक करोड ४६ लाख ५८ हजार रुपैयाँ , पक्षीतर्फ (कुखुरा फार्म) ४६ लाख २५ हजार रुपैयाँको बीमा भएको लहानस्थित लुम्बिनी जेनरल इन्स्योरेन्सका शाखा इन्चार्ज अनिलकुमार यादवले बताए । अहिलेसम्ममा प्रिमियमस्वरुप पशुतर्फ ७ लाख ३२ हजार रुपैयाँ र कुखुरा फार्मतर्फ ६९ हजार रुपैयाँ संकलन भएको छ । केही समय अगाडी इटाटार गाविसमा माछा पोखरीको समेत बीमा गरिएको छ । रासस


