Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
इन्स्योरेन्स

अभिकर्ताको क्षमता विकासमा नेशनल लाईफको जोड, भव्य कार्यक्रम सम्पन्न

२०८३ श्रावण १२ गते

बैंकिङ खबर / जीवन बीमा व्यवसायलाई थप व्यावसायिक, प्रतिस्पर्धी र ग्राहककेन्द्रित बनाउने उद्देश्यका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई एकै मञ्चमा उभ्याउँदै भव्य प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले २०८३ वैशाख महिनामा सञ्चालन गरेको विशेष मासिक योजनाअन्तर्गत निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूलाई सम्मान गर्दै आयोजना गरेको कार्यक्रममा प्रशिक्षण, अनुभव आदान–प्रदान, प्रेरणादायी सन्देश तथा सांगीतिक प्रस्तुतिको संयोजनले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो। ललितपुरस्थित होटल रोयल टुलिप मा आयोजित कार्यक्रममा देशभरका विभिन्न शाखाबाट आएका करिब ३०० जना वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक, शाखा प्रमुख, विभागीय प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र व्यवसायिक सूचकहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको बताए। उनले यस सफलतामा नियामक निकाय, ग्राहक, अभिकर्ता, कर्मचारी तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण सरोकारवालाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरे।

उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई अझ छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित कम्पनी अघि बढिरहेको जानकारी दिए। बीमा सेवामा बढ्दो प्रतिस्पर्धाबीच ग्राहकको विश्वास कायम राख्दै सेवा विस्तार गर्न सक्षम अभिकर्ता नै कम्पनीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै अभिकर्ता सञ्जाललाई अझ सुदृढ, दक्ष र परिणाममुखी बनाउने रणनीतिमा कम्पनी केन्द्रित रहने स्पष्ट पारे। उनले वास्तविक व्यवसायिक अनुभव र अन्तर्राष्ट्रिय अभ्यासका उदाहरण प्रस्तुत गर्दै सहभागी अभिकर्ताहरूलाई आफ्नो व्यवसायिक यात्रालाई नयाँ उचाइमा पुर्‍याउने प्रेरणा दिएका थिए। प्रशिक्षणका क्रममा बीमा व्यवसायमा सफल हुन केवल उत्पादन बिक्री मात्र पर्याप्त नहुने, ग्राहकको आवश्यकता बुझ्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध कायम गर्ने सीप पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिइएको थियो। सहभागीहरूले यस्ता प्रशिक्षणले आफूहरूको व्यवसायिक सोच, कार्यशैली र सेवा प्रवाहमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए। कम्पनीले यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्नुका साथै नयाँ लक्ष्य हासिल गर्न थप प्रेरित गर्ने वातावरण सिर्जना गरेको जनाएको छ। व्यवसाय विस्तारसँगै अभिकर्ताको क्षमता विकासलाई प्राथमिकतामा राख्नु नै कम्पनीको दीर्घकालीन रणनीति रहेको व्यवस्थापनको भनाइ छ।

औपचारिक कार्यक्रमपछि आयोजना गरिएको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। चर्चित स्ट्यान्ड–अप कमेडियन सुमन कार्की को हास्य प्रस्तुति, गायक रामचन्द्र काफ्ले र जुनु रिजाल का सांगीतिक प्रस्तुति तथा लोकप्रिय गायक दीपक बज्राचार्य एण्ड रिदम ब्यान्ड को लाइभ कन्सर्टले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। डीजेको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। नेशनल लाईफले व्यवसायिक उत्कृष्टता केवल वित्तीय उपलब्धिमा सीमित नराखी मानव स्रोत विकास, अभिकर्ताको क्षमता अभिवृद्धि तथा प्रेरणादायी कार्यसंस्कृति निर्माणलाई पनि समान प्राथमिकतामा राख्दै आएको जनाएको छ। कम्पनीका अनुसार उत्कृष्ट अभिकर्तालाई सम्मान गर्ने, उनीहरूबीच अनुभव आदान–प्रदान गराउने तथा अन्तर्राष्ट्रिय स्तरको ज्ञान प्रदान गर्ने यस्ता कार्यक्रमले बीमा व्यवसायको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कम्पनीले आगामी दिनमा पनि आधुनिक प्रविधिमा आधारित सेवा विस्तार, ग्राहकमैत्री बीमा योजना, अभिकर्ताको निरन्तर क्षमता विकास तथा गुणस्तरीय सेवा प्रवाहमार्फत नेपाली जीवन बीमा क्षेत्रमा आफ्नो नेतृत्वदायी भूमिका अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ। यस कार्यक्रमले नेशनल लाईफ उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने अभिकर्तालाई सम्मानित गर्नुका साथै सम्पूर्ण अभिकर्ता सञ्जाललाई आगामी लक्ष्यतर्फ थप प्रेरित गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।