Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अटो-मार्केट

४९ लाख ९९ हजारमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

२०८३ भाद्र ९ गते

बैंकिङ खबर  /  लक्जरी चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड ‘स्काईवेल’ले नेपालमा आफ्नो नयाँ विद्युतीय एसयूभी ‘बीई ११’ सार्वजनिक गरेको छ। स्काईवेलको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर बीई ११ का विभिन्न भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले बीई ११ लाई ४१० किलोमिटर र ५२० किलोमिटर रेन्ज दिने गरी विभिन्न भेरियन्टमा बजारमा ल्याएको छ। नियमित मूल्यअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार, लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नाडा अटो शो २०२६ लाई लक्षित गर्दै कम्पनीले विशेष अफरसमेत सार्वजनिक गरेको छ। अफरअन्तर्गत ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ। कम्फर्ट भेरियन्टको मूल्य ५३ लाख ९९ हजार, लक्जरी भेरियन्टको ५४ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यी अफरहरू नाडा अटो शो अवधिभर मात्र लागू हुने कम्पनीले जनाएको छ ।

बीई ११ दुई प्रकारका ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकसहितको भेरियन्टले एकपटक पूर्ण चार्ज गर्दा ५२० किलोमिटरसम्मको रेन्ज दिनेछ। त्यस्तै, ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक भएको भेरियन्टले एकपटकको चार्जमा ४१० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।चार्जिङतर्फ बीई ११ मा ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चर प्रयोग गरिएको छ। डिसी फास्ट चार्जरमार्फत करिब ३५ मिनेटमा ब्याट्रीलाई ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। दुवै ब्याट्री विकल्पका भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

लक्जरी र आधुनिक डिजाइनलाई प्राथमिकता दिइएको बीई ११ मा पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, पर्याप्त केबिन स्पेसलगायतका सुविधा उपलब्ध छन्। आधुनिक बडी डिजाइनका साथै १९८ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। उच्च ग्राउण्ड क्लियरेन्सका कारण नेपाली सडक तथा विभिन्न भौगोलिक अवस्थाका लागि समेत उपयुक्त हुने कम्पनीको दाबी छ ।

एलआरआर मोटर्सले नाडा अटो शो सुरु हुनुअघि नै सोमबार स्काईवेलको लोगो सार्वजनिक गरेको थियो। नेपालमा ब्रान्डको औपचारिक प्रवेशसँगै बीई ११ लाई नेपाली विद्युतीय सवारी बजारमा प्रिमियम सेग्मेन्टको नयाँ विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।नाडा अटो शो २०२६ मा स्काईवेलको स्टल ‘एच–१९’ मा राखिएको छ। मेलामा सहभागी ग्राहकले बीई ११ का विभिन्न भेरियन्ट तथा कम्पनीले घोषणा गरेको विशेष नाडा अफरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।