बैंकिङ खबर / मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ। समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्। सम्झौतापछि सिप्रदीका आधिकारिक डिलरबाट टाटाका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखामार्फत सहुलियतपूर्ण ब्याजदरमा कर्जा लिन सक्नेछन्। बैंकका अनुसार विद्युतीय सवारीसाधन खरिदका लागि सवारीको मूल्यको ६० प्रतिशतसम्म तथा आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीसाधनका लागि ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ। विशेषगरी कृषि, व्यापार तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी गरिएको यो सहकार्यले वित्तीय पहुँच विस्तारसँगै व्यवसाय सञ्चालन तथा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मुक्तिनाथ विकास बैंकले पछिल्लो समय अटो कर्जा, कृषि कर्जा तथा एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने विशेष योजना सञ्चालन गरिरहेको जनाएको छ।