Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अटो-मार्केट

दसैंको मुखमा रोकिए २०० बढी ईभी, अटो बजारमा आपूर्ति दबाब

२०८३ आश्विन २२ गते

बैंकिङ खबर /  बाढीपहिरोका कारण चीनतर्फको कोरला नाका जोड्ने सडक अवरुद्ध हुँदा नेपाल भित्रिनुपर्ने विद्युतीय सवारीसाधन (ईभी) को ढुवानी प्रभावित भएको छ। कोरला नाकामा चीनबाट आयात गरिएका २०० भन्दा बढी ईभी रोकिएको विवरण सार्वजनिक भएको छ।

मुस्ताङको लेतेदेखि कोरला नाकासम्म बाढीपहिरो र सडक अवरोधका कारण करिब ५०० कन्टेनर रोकिएका छन्। तीमध्ये २०० भन्दा बढी कन्टेनरमा विद्युतीय सवारीसाधन रहेको चालकहरूले बताएका छन्। सडक अवरुद्ध भएपछि भन्सार प्रक्रिया पूरा भएका तथा गन्तव्यतर्फ पठाउनुपर्ने सवारीसाधनसमेत अघि बढ्न सकेका छैनन्।

दसैंअघि नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकको चाप बढ्ने समयमा आपूर्ति प्रभावित भएपछि अटो व्यवसायीको डेलिभरी तालिकामा समेत असर पर्ने देखिएको छ। विशेषगरी चीनबाट आयात हुने ईभीको ढुवानीमा अवरोध हुँदा बुकिङ गरिसकेका ग्राहकले सवारीसाधन पाउन थप समय कुर्नुपर्ने अवस्था आउन सक्छ। पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएको छ। दसैंलाई लक्षित गर्दै विभिन्न ब्रान्ड तथा डिलरले नयाँ मोडल र अफर सार्वजनिक गरिरहेका बेला आपूर्ति शृंखलामै समस्या देखिएपछि चाडपर्वको बिक्रीमा समेत असर पर्न सक्ने व्यवसायीहरूको आकलन छ।

कोरला मार्गमा देखिएको अवरोधले ईभी मात्र नभई चीनबाट नेपाल आयात हुने अन्य व्यापारिक सामानको ढुवानीसमेत प्रभावित भएको छ। सडक सञ्चालनमा आएपछि मात्र रोकिएका कन्टेनर तथा सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउन सहज हुनेछ। यसकारण दसैंअघि बजारमा पर्याप्त ईभी उपलब्ध हुने वा नहुने विषय सडक सञ्चालन र ढुवानी सहज हुने समयमै निर्भर रहने देखिएको छ।