December 27th, 2016

कास्की पुग्यो स्वास्थ्य बीमा कार्यक्रम, दर्ता टोली घरघरमै

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले मङ्गलबारदेखि कास्कीमा सामाजिक स्वास्थ्य बीमाको दर्ता सुरु गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा मङ्गलवार आयोजित कार्यक्रममा सांसद यज्ञबहादुर थापा र शारदा पौडेलले जनही दुई हजार पाँच सय रुपैयाँ तिरी  स्वास्थ्य बीमाको फाराम भरेर कार्यक्रमको सुरु गरेका थिए । समितिले बीमा दर्ता प्रयोजनका लागि जिल्लामा एक सय सात जना दर्ता सहयोगी छनौट गरिसकेको छ । दर्ता सहयोगी घर घरमा गई पुस मसान्तसम्म  दर्ता प्रक्रिया सक्ने छन् । आगामी फागुन १ गतेदेखि उपचार सेवा सुरु गरिने छ ।

गत वर्ष कैलाली, इलाम र बाग्लुङबाट सुरु गरिएको सो कार्यक्रम यस वर्ष कास्कीलगायत २२ जिल्लामा सञ्चालन भएको छ । कार्यक्रममा सहभागी पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य चार सय पच्चिस रुपैयाँका दरले थप रकम तिर्नुपर्नेछ । बीमा गर्ने पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजार रुपैयाँसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही १० हजार रुपैयाँ गरी बढीमा एक लाख रुपैयाँसम्मको सेवा पाइने बताइएको छ । कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ,  अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ सेवा पाउने छन् ।

उपचार सेवाका लागि कास्कीको भेडाबारी, किस्ती, अर्मला र शिशुवा प्राथमिक स्वास्थ्यचौकी, क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, हिमालय आँखा अस्पताल र बाटुलेचौरका शिशु मितेरी अस्पताल तोकिएका छन् । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]