
बैंकिङ खबर।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्यहोर्नु परेका समूह सदस्यहरुलाई राहत वितरण गरेको छ।
वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ मा अवस्थित शाखा कार्यालय रैकवारविचवामा आवद्ध करीव ७०० जना, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आवद्ध करीव ५०० जना र बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा अवस्थित शाखा कार्यालय शान्तिबजारमा आवद्ध ४८ जना गरी १ हजार २४८ जना समूह सदस्यहरुलाई राहत वितरण गरिएको हो। मंसिर ५, ६ र ७ गते छुट्टाछुट्टै स्थानमा औपचारिक कार्यक्रम गरी करीव २५ लाख बराबरको चामल २५ किलो, दाल २ किलो, तेल र नुनसहित वितरण गरेको व्यहोरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले जानकारी गराए।
तीन वटा फरक फरक स्थानमा भएको औपचारिक कार्यक्रम वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने शाखा कार्यालय रैकवारविचवामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका प्रमुख सुवास चन्द्र घिमिरे, शाखा कार्यालय लालझाडीमा भएको कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक र शाखा कार्यालय शान्तिबजारमा भएको कार्यक्रममा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको प्रमुख आतिथ्यता र जनप्रतिनिधि, पत्रकार, स्थानीयको उपस्थिती रहेको थियो।
राहत वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले सामाजिक भावका साथ बेमौसमी वर्षाका कारण क्षति व्यहोर्नु परेका संस्थामा आवद्ध समूह सदस्यहरुलाई स्थानीय निकायसँगको समन्वयमा थोरै भए पनि राहत प्रदान गर्ने उदेश्यले समूह सदस्य माझ राहत वितरण गरिएको र वित्तीय संस्थाले विगतमा पनि विभिन्न किसिमका सामाजिक उत्तरदायित्व अन्तर्गत क्रियाकलापहरु गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता किसिमका क्रियाकलापहरुलाई निरन्तरता दिइने बताए। घ श्रेणीको वित्तीय संस्थाले समेत यस्ता कार्यक्रम राहत प्रदान गरि सन्देश प्रवाह गर्न खोजिएको र अरु संस्थाहरुले समेत सहयोग गर्नु पर्ने कुरा व्यक्त गरे।
वित्तीय संस्थाले पर्सादेखि कञ्चनपुरसम्मका १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय विस्तार गरि करिव ४७ हजार न्यून तथा मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारिएका समुदायमा वित्तीय सेवा पुर्याई आएको र समुदायमा रहेको सिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवर्द्धन गर्दै आइरहेको छ।




