
बैंकिङ खबर / भारतको सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले अमेरिकी बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ। बैंकको पूर्ण स्वामित्वमा रहेको अमेरिकी सहायक संस्था एसबीआई क्यालिफोर्निया (एसबीआईसी बैंक) ले टेक्सास राज्यको फ्रिस्कोमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकका अध्यक्ष चल्ला श्रीनिवासुलु सेट्टीले नयाँ शाखाको उद्घाटन गरेका थिए। कार्यक्रममा अमेरिकाका लागि भारतीय वाणिज्यदूत डीसी मनुजन्थ तथा फ्रिस्कोका नगर प्रमुख मार्क हिलको समेत उपस्थिति थियो।
व्यक्तिगतदेखि व्यावसायिक बैंकिङ सेवा
टेक्सासको फ्रिस्कोमा स्थापना गरिएको नयाँ शाखाबाट व्यक्तिगत तथा व्यावसायिक बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ। शाखामार्फत व्यक्तिगत तथा व्यावसायिक निक्षेप संकलन, व्यवसायिक कर्जा, अन्तर्राष्ट्रिय रकम स्थानान्तरण र गैरआवासीय भारतीयलाई लक्षित विशेष बैंकिङ सेवा उपलब्ध हुनेछन्। विशेषगरी टेक्सासको उत्तरी डलास क्षेत्रमा बसोबास गर्ने भारतीय समुदाय, उद्यमी, व्यवसायी तथा स्थानीय ग्राहकलाई लक्षित गरेर शाखा विस्तार गरिएको हो।
बैंकका अध्यक्ष सेट्टीले क्यालिफोर्नियाबाहिर शाखा विस्तार गर्नु अमेरिकी बजारमा एसबीआईको अन्तर्राष्ट्रिय विस्तार रणनीतिको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। यसले भारत र अमेरिकाबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
अमेरिकामा एसबीआईको उपस्थिति थप बलियो
एसबीआईले अमेरिकामा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा फ्रिस्कोमा नयाँ शाखा थपेको हो। यसअघि बैंकको अमेरिकी सहायक संस्थाका सातवटा शाखा सञ्चालनमा थिए। त्यसबाहेक एसबीआईले न्यूयोर्क, सिकागो र लस एन्जलसमा प्रत्यक्ष बैंकिङ शाखा सञ्चालन गरिरहेको छ भने वासिङ्टन डीसीमा प्रतिनिधि कार्यालय रहेको छ।
बैंकको अन्तर्राष्ट्रिय सञ्जाल २९ देशमा फैलिएको छ। विभिन्न विदेशी शाखा, प्रतिनिधि कार्यालय, सहायक संस्था तथा संयुक्त लगानीमार्फत एसबीआईले अन्तर्राष्ट्रिय बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ। विदेशमा बसोबास गर्ने भारतीय समुदायको बैंकिङ आवश्यकता, अन्तर्राष्ट्रिय रकम स्थानान्तरण र व्यावसायिक कारोबारलाई सहज बनाउने उद्देश्यले बैंकले आफ्नो सेवा विस्तारलाई प्राथमिकता दिएको देखिन्छ।