
बैंकिङ खबर / एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अनुमोदनका लागि बैंकले मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ।
बैंक सञ्चालक समितिको मंसिर २० गते सम्पन्न ५१९औँ बैठकले वार्षिक साधारणसभा बोलाउने निर्णय गर्नुका साथै लाभांश वितरणसम्बन्धी प्रस्ताव अघि बढाएको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले कुल १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकका अनुसार उक्त लाभांश रकममा लाग्ने करसमेत समावेश गरिएको छ।
यसैगरी, बैंकले ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि पनि सोही दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअन्तर्गत कुल १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा वितरण गरिनेछ। उक्त लाभांश शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिलाई आधार मानी १८० दिनको समानुपातिक हिसाबले गणना गरिएको बैंकले स्पष्ट पारेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १० गतेसम्म बैंकको शेयरधनी कायम रहेका लगानीकर्ताले साधारणसभामा सहभागी हुने तथा प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्तावसमेत प्रस्तुत हुनेछ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभामा समावेश गरिएको छ।
यसका अतिरिक्त एनएमबि बैंकको सहायक तथा सम्बन्धित संस्थाका रूपमा रहेका एनएमबि क्यापिटल लिमिटेड, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबि सेक्युरिटिज लिमिटेडसमेत समेटिएको एकीकृत वित्तीय विवरण स्वीकृतिका लागि साधारणसभामा पेस गरिनेछ।
बैंकको प्रस्तावित लाभांश तथा अन्य एजेण्डा साधारणसभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीले नियमानुसार लाभांश प्राप्त गर्नेछन्।