Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै, जग पूजा सम्पन्न

२०८३ कार्तिक २१ गते

बैंकिङ खबर /  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै शुक्रबार बैंकले निर्माणस्थलमा जग पूजा (भूमिपूजन) सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले संयुक्त रूपमा विधिपूर्वक जग पूजा गर्दै भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने उक्त भवनमा दुईवटा बेसमेन्टसहित कुल १२ तला रहनेछन् । भवनको संरचनामा सवारीसाधन पार्किङका लागि दुई तला भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र नौवटा माथिल्ला तला रहने बैंकले जनाएको छ । आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र प्रविधिमा आधारित सुविधासहित निर्माण गर्न लागिएको भवनलाई बैंकले आफ्नो कर्पोरेट कार्यालयका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

भूमिपूजनपछि बोल्दै अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूको कर्पोरेट कार्यालयमध्ये आधुनिक र अग्ला संरचनामध्ये एक हुने बताए । उनका अनुसार नयाँ भवन आधुनिक सुविधासम्पन्न हुनुका साथै काठमाडौं उपत्यकाको पहिचान झल्काउने व्यावसायिक संरचनाका रूपमा विकास गरिनेछ । भवन निर्माणपछि बैंकका सेवाग्राहीले थप सहज, प्रविधिमैत्री र प्रभावकारी सेवा पाउने उनको भनाइ छ ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारी दुवैको आवश्यकतालाई ध्यानमा राखेर भवनको डिजाइन तथा संरचना तयार गरिएको बताए । उनका अनुसार पार्किङ व्यवस्थादेखि भवनको आन्तरिक संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको छ ।

भवनलाई ऊर्जा दक्ष बनाउने उद्देश्यले सौर्य ऊर्जा प्रणाली जडान गरिने बैंकले जनाएको छ । त्यस्तै, आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणालीसमेत निर्माण गरिनेछ । यी व्यवस्थाले विद्युत् खपत घटाउनुका साथै पानीको स्रोतको सदुपयोग र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ । भूमिपूजन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन तहका अधिकारी तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले हाल देशका ७७ वटै जिल्लामा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ । बैंकका अनुसार हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टरमार्फत सेवा प्रदान हुँदै आएको छ । यसबाहेक विभिन्न मुलुकमा तीनवटा प्रतिनिधि कार्यालयसमेत सञ्चालनमा छन् ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ ।

बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय बैंकिङ तथा वित्तीय क्षेत्रमा विभिन्न पुरस्कार र सम्मानसमेत प्राप्त गरेको बैंकको भनाइ छ ।

Ad