May 27th, 2021

चीनले ल्याउँदैछ एउटा यस्तो डिजिटल मुद्रा …

बैंकिङ खबर/ चीनमा विटक्वाइन जस्तै ‘डिजिटल मुद्रा’ तयार हुँदैछ । चीनको केन्द्रीय बैंकले विकास गरेको डिजिटल मुद्रा (सीबीडीसी)ले राष्ट्रिय मुद्राकै रुपमा चलनमा आउनेछ । यसैबाट केन्द्रीय बैंकको आधिकारिक मुद्रा सरह कारोबार गर्न मिल्नेछ ।
डिजिटल मुद्रा सीबीडीसी प्रयोग गर्नुका आफ्नै सामाजिक तथा आर्थिक फाइदाहरु पनि त्यतिकै रहेका छन् । यसले वित्तीय प्रवाहीकरणको मूलधारमा नआएका र परम्परागत बैंकिङ प्रणालीमा नरहेका मानिसहरुलाई पनि डिजिटल माध्यमको राष्ट्रिय मुद्रा प्रणालीमा जोड्नेछ । यस मुद्रालाई प्रयोग गर्दा मोबाइल स्मार्ट डिभाइसहरुको माध्यमबाट विश्वका जुनसुकै पिछडिएको क्षेत्रमा रहेका मानिसहरुले पनि ’डिजिटल इकोनोमी’मा सजिलै प्रवेश पाउन सक्नेछन् ।

सीबीडीसीले निजी क्रिप्टोकरेन्सीको भन्दा फरक गैरकानूनी मुद्रा अपचलन, आतंकवादी गतिविधिमा सहयोग तथा कर छली जस्ता वित्तीय अपराधहरुलाई कम गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ । यसका साथै राज्यको मौद्रिक नियन्त्रण तथा पारदर्शितालाई कायम राख्दै फेसबुक र अलिबाबा जस्ता ठूला निजी तथा गैर सरकारी संयन्त्रहरुको अनावश्यक प्रभाव तथा त्यसतर्फ शक्ति प्रवाह हुने खतरालाई समेत यसले बन्देज लगाउनेछ ।

सन् २०२१ मा बैंक फर इन्टरनेशनल सेटलमेन्ट्सले गरेको एक अध्ययन अनुसार विश्वका ८६ प्रतिशत केन्द्रीय बैंकहरुले हाल डिजिटल मुद्रा सीबीडीसीको परीक्षण गरिरहेका छन् । उनीहरुले यसको प्रयोगबाट आफ्ना नागरिकलाई डिजिटल प्लाटफर्मबाट खुद्रा स्तरको व्यापारिक पहुँच वृद्धि गर्दै लैजाने अपेक्षा गरेका छन् ।

विश्वभर र विशेष गरी चीन र अमेरिका बीचको व्यापार युद्धका बीच डिजिटल मुद्राहरुलाई भू–राजनीतिक मैदानमा रणनीतिक आपूर्ति सञ्जालका रूपमा प्रवेश गराइँदैछ जसले विश्व वित्तीय परिदृश्यलाई नै विभिन्न ब्लकहरुमा बाँड्ने निश्चित छ । यसैबीच बेइजिङले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सम्पूर्ण सामथ्र्य प्रयोग गरिरहेको छ । यसै क्रममा उसले आफ्नो महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ्स बीआरआई अन्तर्गत दिइने ऋण तथा व्यापार कारोबारको मुद्राको रूपमा युआनको प्रवर्द्धन गरिरहेको छ ।
चिनियाँ मुद्राको प्रभाव बढाउन बेइजिङले प्रयास गरिरहँदा वासिङटनले पनि निरन्तर रुपमा विश्वको कारोबार तथा संचयमा पकड राख्दै अमेरिकी डलरको प्रभाव विश्वभर कायमै राखेको छ ।

हाल चीनका एन्ट ग्रुप, टिन्सेन्ट होल्डिङ र जेडि डटकम जस्ता प्रविधिका टाइकुन कम्पनीहरुलाई चीनको केन्द्रीय सरकारले नै चीनको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइना तथा अन्य सरकारी स्वामित्का बैंकहरु र चीनको डिजिटल करेन्सी रिसर्च इन्स्टिच्यूटसँग डिजिटल युआनबारे सहकार्य गर्न निर्देशन दिएको छ ।

यस्तै सरकारी निर्देशनमै चीनको प्रमुख टेलिकम्युनिकेसन तथा टेलिकम उपकरण निर्माता कम्पनी हुवावेले पनि चीनको सरकारी बैंकहरुको डिजिटल पूर्वाधारहरुलाई उपभोक्ताको मोबाइल संयन्त्रसँग जोड्ने गरी प्रविधिको विकास गरिरहेको छ ।

डिजिटल मुद्रालाई बलियो बनाउँदै लैजाने चीनको वर्तमान कामहरुले चीनसँग व्यापार गरिरहेका विदेशी लगानीकर्ता तथा चीनमा व्यापार गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुका लागि भने जोखिम अझै बढाइदिएको छ ।

अमेरिका र चीनबीचको शीतयुद्ध बढ्दै जाँदा यसले सामाजिक, आर्थिक, साइबर तथा सूचनाका क्षेत्रमा अन्तर्राष्ट्रिय प्रणालीमै अवरोध ल्याउने अवस्था सिर्जना गरिदिएको छ । यसबाट वासिङटनले पनि बेइजिङको डिजिटल मुद्रा सञ्जालमा सामेल चिनियाँ तथा उसका साझेदार विदेशी कम्पनीहरुलाई हतोत्साहित गर्ने नीति लिएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]