२०७७ चैत्र ३० गते

अबको वित्तीय कारोबार ‘पेपरलेस’ले पुग्दैन, ‘क्यासलेस’ हुनुपर्छ : रामबहादुर यादव

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड पाँचवटा वाणिज्य बैंकसहित अन्य वित्तीय संस्थाहरूको संयुक्त प्रवर्धनमा सञ्चालित राष्ट्रियस्तरको मजबुत लघुवित्त वित्तीय संस्था हो । इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक (गुरखा फाइनान्सको सेयर किनेर प्रवेश गरेको), गुरखा फाइनान्स, सिनर्जी फाइनान्स, बेस्ट फाइनान्स यस लघुवित्तका प्रमुख प्रवर्धक हुन् ।
३०अक्टोबर २०१४ मा सार्वजनिक कम्पनीका रूपमा दर्ता भई ११ जुन २०१४ मा नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको यस संस्थाले स्थापनाकालदेखि नै राष्ट्रियस्तरमा वित्तीय सेवा प्रदान गर्न मान्यता पाएको हो । संस्थाले हाल ३ सय ६५ जनशक्ति परिचालन गरी ६५ वटा शाखामार्फत ४७ जिल्लामा गाउँ केन्द्रित सेवा दिइरहेको छ । धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेँसीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको चुक्तापुँजी करिब ३२ करोड छ, जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत हिस्सेदारी छ । महिला सहयात्रा लघुवित्तलाई प्राप्तिको प्रक्रियामा रहेको यो लघुवित्तको प्राप्तिपछिको चुक्तापुँजी ४६ करोड नाघ्नेछ ।

सुदृढ आर्थिक अवस्था र संस्थागत सुशासनका कारण द्वितीय सेयर बजारमा समेत ग्राहकको मन जित्न सफल यस लघुवित्तलाई रामबहादुर यादवले कार्यकारी नेतृत्व दिँदै आउनुभएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) यादवसित वर्तमानमा लघुवित्तको सेवाप्रवाहको गुणस्तर र विकाससित प्रत्यक्ष जोडिएका पाँच फरक विषयमा केन्द्रित रही बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

लघुवित्तमा के–कस्ता टेक्नोलोजी भित्रिएका छन् ? तीमध्ये तपाईंको लघुवित्तले कस्ता टेक्नोलोजीको प्रयोग गरिरहेको छ ?

अहिलेको अवस्थामा लगभग सबै नै लघुवित्त अनलाइनमा आइसकेको अवस्था छ । पहिले लघुवित्तहरू विकेन्द्रीकृत प्रणालीमा चलिरहेका थिए, अहिले सबै अनलाइनमा आइसकेका छन् र केन्द्रीकृत प्रणाली अवलम्बन गरिसकेका छन् । केही नगण्य संख्यामा नयाँ लघुवित्त मात्र यो प्रणालीमा आउन बाँकी छन् । लघुवित्तले अनलाइनमार्फत केन्द्रीकृत प्रणाली अपनाउनु डिजिटलाइजेसनको पहिलो चरण हो ।

दोस्रो चरणमा अहिले धेरै लघुवित्त मोबाइल बैंकिङतर्फ अगाडि बढिरहेका छन् । एसएमएस र ट्याबलेट बैंकिङ सुरु भइसकेको छ । यद्यपि, लघुवित्तमा मोबाइल बैंकिङको प्रयोगको अवस्था भने अहिले प्रारम्भिक चरणमै छ । हामी अहिले पाइलट टेस्टिङकै फेजमा छौँ । करिब एक दर्जन लघुवित्तले यसको अभ्यास गरिरहेका छन्, जसमा हामी पनि छौँ । अरु देशको तुलनामा नेपालको लघुवित्त क्षेत्र दिगो रूपमा अगाडि बढिरहेको अवस्था छ । नेपाली लघुवित्तहरू वित्तीय रूपमा सुदृढ छन् ।

सामाजिक जागरणको हिसाबले पनि हामी धेरै राम्रो अवस्थामा छौँ । तर, टेक्नोलोजीको हिसाबले भने हामी निकै पछाडि छौँ । भारत, पाकिस्तान तथा विभिन्न अफ्रिकी मुलुकका लघुवित्तसित तुलना गर्ने हो भने हामी टोक्नोलोजीको प्रयोगमा धेरै पछाडि छौँ । नेपालकै अन्य वित्तीय संस्थाहरूलाई हेर्दा पनि उनीहरूले अत्याधुनिक प्रविधिको अभ्यास गरिरहेका छन् । यस हिसाबले लघुवित्तमा टेक्नोलोजी भित्र्याउन भने केही ढिलो भएकै हो । ढिलो हुनुमा पनि कारण छ । वाणिज्य बैंक तथा अन्य वित्तीय संस्था र हाम्रो काम गर्ने तरिका नै भिन्न छ । यसमा स्रोत–साधन पनि जोडिन्छ ।

अबको हाम्रो प्रमुख उद्देश्य नै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउने र कारोबारलाई पेपरलेस र क्यासलेसतर्फ उन्मुख गर्ने हुनुपर्छ । अब वित्तीय कारोबारलाई पेपरलेस मात्र बनाएर पुग्दैन, क्यासलेस पनि सँगसँगै बनाउनुपर्छ । फिल्डमा गएर पैसा ल्याउने, झोलामा १०–१५ लाख बोकेर ल्याउने जुन प्रचलन चलिरहेको छ, त्यसलाई बन्द गर्नैपर्छ । स्टाफले फिल्डमा गएर पैसा बोकेर ल्याउँदा जे पनि हुन सक्ने अवस्था छ, विभिन्न थ्रेट र च्यालेन्ज छन् । त्यसैले सबै लघुवित्तको अबको उद्देश्य नै ‘एक्सेस टु डिजिटल फाइनान्स’ हुन्छ र हुनुपर्छ । यसको अर्थ वित्तीय पहुँच त विस्तार भइसकेको छ, अब टेक्नोलोजीमा पहुँच स्थापित गरेर विद्युतीय कारोबारमा आधारित वित्तीय सेवा दिनमा सबै लघुवित्त लागिरहेका छन् । मलाई लाग्छ, अबको दुई वर्षमा नेपाली लघुवित्तले डिजिटलाइजेसनको चरण पूरा गर्नेछ ।

लघुवित्तहरूबीच मर्जर वाएक्विजिसनको आवश्यकता र महत्त्वबारे तपाईंको धारणा तथा सुझाब के छ ?तपाईंको नेतृत्वमा रहेको लघुवित्त मर्जर वाएक्विजिसनमाजाने वाअरुलाई एक्वायर गर्ने विषयमाके गर्दै छ ?

अहिलेको सन्दर्भमा लघुवित्तहरूबीच मर्जर र एक्विजिसनको ठूलो आवश्यकता छ । यो गर्नैपर्छ, नगरी सुखै छैन । अहिले धेरै लघुवित्तहरू जोस र उत्साहका साथ स्वस्फूर्त रूपमा मर्जर वा एक्विजिसनका लागि लागिरहेको अवस्था छ । यसरी उत्साहित हुनुपछाडिको एउटै कारण के छ भने फागुन मसान्तसम्मको तथ्यांकअनुसार अहिले पनि ७६ वटाले काम गरिरहेका छन् । भर्खरै शान्ता र घरेलुबीच एकीकरण भई एकीकृत ट्रान्जेक्सन गरेको अवस्थामा यो संख्या ७५ मा झरेको छ । मर्जर-एक्विजिसनको स्वस्फूर्त अभियानका बीच पनि अझै यत्रो संख्यामा लघुवित्त संस्थाहरू कार्यरत हुनु भनेको हाम्रो सन्दर्भमा लघुवित्तको मागभन्दा पूर्ति बढी भइरहेको छ । जुनसुकै क्षेत्रमा पनि माग र पूर्तिको बीच सन्तुलन आवश्यक हुन्छ । पूर्ति बढी भएका कारण निम्तिएको असन्तुलनले गर्दा अस्वस्थ प्रतिस्पर्धा छ । एउटै ग्राहकले ६ वटा,७ वटा, १० वटासम्म संस्थाबाट ऋण लिइरहेको अवस्था छ । यसले मल्टी फाइनान्सिङको समस्या निम्त्याउनुका साथै ग्राहक र कर्मचारी दुवैको अनुशासनमा कमी ल्याएको छ । यसका नकारात्मक प्रभावहरू एकअर्कामा जेलिएका छन् । यसको एउटै मात्र सकारात्मक प्रभाव छ– वित्तीय पहुँच विस्तार भएको छ ।

नकारात्मक प्रभाव धेरै भएकै कारण नेपाल राष्ट्र बैंकले लघुवित्तमा नयाँ लाइसेन्स बन्द गरेको अवस्था छ । माग र पूर्तिको सन्तुलन तथा संस्थाको सुदृढीकरणका निम्ति लघुवित्तहरूलाई एउटा निश्चित आकारमा ल्याउने राष्ट्र बैंकको नीतिले हामी उत्साहित छौँ । यो लक्ष्य पूरा भएपछि स्वस्थ प्रतिस्पर्धा हुनेछ र त्यसले सेवाको गुणस्तर बढाउनेछ । त्यसैले लघुवित्तहरूले मर्जर वा एक्विजिसनमा जानैपर्छ । समग्र लघुवित्त क्षेत्रकोहितका लागि, संस्था र ग्राहकको हितका लागि पनि यो प्रक्रियामा जानैपर्छ ।

जहाँसम्म मेरो संलग्नता रहेको लघुवित्तको प्रसंग छ, हाम्रो नेसनल लघुवित्त र महिला सहयात्रा लघुवित्तबीच एक्विजिसनको प्रक्रिया अगाडि बढेको छ । हामी महिला सहयात्रालाई एक्वायर गर्ने क्रममा छौँ । हामीले एमओयु पनि गरिसकेको अवस्था छ । यो प्रक्रियाले मूर्त रूप पाएपछि आवश्यकताअनुसार अन्य संस्थासित पनि छलफल चल्न सक्छ । लघुवित्तलाई वित्तीय रूपमा सुदृढ बनाउन पहिले त संस्था बलियो हुनु आवश्यक छ । त्यसका लागि लघुवित्तहरू सानो–सानो रूपमा छरिएर रहने नभई एकीकृत हुनुपर्छ ।

नेपालमा लघुवित्तको संख्या यत्ति नै हुनुपर्छ भन्ने निर्क्योल भइसकेको छैन । भूगोल, जनसंख्यालगायत विविध पक्षको अध्ययनगरी यति संख्या उपयुक्त हुन्छ भनेर निश्चित गर्ने काम भइसकेको छैन । यद्यपि, मेरो विचारमा लघुवित्तको संख्या वाणिज्य बैंकको भन्दा केही बढी हुनुपर्छ जस्तो लाग्छ । लघुवित्त गाउँ–गाउँमा पुग्नुपर्छ, सबै (७७ वटा) जिल्लामा लघुवित्त पुगिसकेका छन्, तर जिल्लामा मात्र पुगेर पुग्दैन, गाउँ–गाउँमा पुग्नुपर्छ । जिल्लाका धेरै दुर्गम स्थानहरू पुग्नुपर्छ । हरेक गाउँपालिकामा मात्र पनि पुगेर पुग्दैन, प्रत्येक वडामा पुग्नु आवश्यक छ । यसका लागि सबै किसिमले सुदृढ लघुवित्त आवश्यक छ । त्यसका लागि वाणिज्य बैंकभन्दा कम वा बराबरी संख्याले पुग्दैन, केही बढी आवश्यक छ । अहिलेको अवस्थालाई हेर्दा ३० देखि बढीमा ४० वटा लघुवित्त हालका लागि उपयुक्त संख्या हुन्छ भन्ने मेरो अनुमान छ ।

प्रायः सबैजसो स्थानीय निकायमा वाणिज्य बैंक पुगिसकेको अवस्था छ । वाणिज्य बैंक पुग्नुअघिको अवस्थासित तुलना गर्दा बैंक पुगिसकेपछि लघुवित्तको व्यवसायमा कस्तो प्रभाव परेको छ ?

पहिले वाणिज्य बैंकहरू गाउँमा पुगेको अवस्था थिएन, ग्रामीण क्षेत्रमा लघुवित्तहरू मात्र थिए । तर, अहिले नेपाल सरकारको नीतिका कारण प्रत्येक गाउँपालिकामा वाणिज्य बैंक बाध्यात्मक रूपमा पुगेका छन् । मैले सुरुदेखि नै भन्दै आएको छु कि वाणिज्य बैंक गाउँमा पुग्दा हामीलाई सहयोग पुग्छ । वाणिज्य बैंक गाउँमा पुगेपछि हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ भन्ने कतिपय साथीहरूलाई मैले यो कुरा सुरुदेखि नै भन्दै आएको हुँ । कतिपय ठाउँमा वाणिज्य बैंक नभएका कारण हामी पनि जान नसकिरहेको अवस्था थियो किनभने हामीसित सेक्युरिटी गार्ड हुँदैनन्, पैसा राख्ने भोल्ट हुँदैन । हामीले दिनभरि पैसा संकलन गरेर त्यसको सुरक्षाका लागि वाणिज्य बैंक खोज्ने हो । त्यसकारण वाणिज्य बैंक प्रत्येक गाउँमा पुग्दा लघुवित्तको कारोबार झन् सहज हुन्छ ।

दोस्रो कुरा वाणिज्य बैंक र लघुवित्तको बिजनेस नै फरक छ भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ । लघुवित्तका ग्राहक छन्, लक्षित समूह फरक छ ।वाणिज्य बैंकका ग्राहक नै फरक छन् । वाणिज्य बैंकले विनाधितो लगानीमा त्यति इच्छा देखाउनुहुन्न, जुन हाम्रो मूल प्रवृत्ति नै हो । त्यसैले लघुवित्तको वाणिज्य बैंकसित प्रतिस्पर्धा नै छैन । यी दुई प्रतिस्पर्धी नभएर पूरक संस्थाका रूपमा काम गरिरहेका छन् । वणिज्य बैंकको उपस्थितिका कारण लघुवित्तको व्यवसाय थप सहज र वृद्धि पनि भएको अवस्था छ । कुनै पनि स्थानमा गएर हेर्नुभयो भने वाणिज्य बैंक भएको ठाउँमा लघुवित्तको व्यवसाय राम्रो फस्टाएको पाउनुहुन्छ । उहाँहरू र हाम्रो कस्टुमर बेस नै फरक छ, क्लाइन्ट नै फरक छन् र कार्यशैली नै फरक छ ।

अर्को पक्ष पहिले लघुवित्त र बैंकको ब्याजदरमा ठूलो अन्तर छ भन्ने थियो, तर अहिले लघुवित्तको ऋणमा पनि ब्याजदर १५ प्रतिशतमा आइसकेको छ । अहिले पनि कतिपय वाणिज्य र विकास बैंकबाट ऋण लिँदा ११–१२ प्रतिशत त बुझाइरहेकै अवस्था छ । त्यहाँ (बैंकहरूमा) अनेकखाले झन्झटिला प्रक्रिया छन् भने यहाँ सहज छ । मूल कुरा भनेको हामीबीच लक्षित समूह र कार्यशैली नै फरक भएपछि प्रतिस्पर्धाको अवसर र अवश्यकता दुवै हुँदैन । कतिपय अवस्थामा कस्तो पनि पाइएको छ भने लघुवित्तका लागि योग्य ग्राहक यति वाणिज्य बैंकमा पुग्यो भने उनीहरूले हामीकहाँ पठाइदिएका छन् । त्यस्तै, हामीले पनि हाम्रो मापदण्डसित मेल नखाने आवश्यकता लिएर आएको ग्राहकलाई वाणिज्य बैंकमा पठाइरहेका छौँ । हाम्रै ग्राहकले पनि १५ लाखले पुगेन, २० लाख चाहियो भन्नुभयो भने राम्रो छवि भएको ग्राहकका रूपमा वाणिज्य बैंकका लागि मौखिक सिफारिस नै गरिँदै आएको अवस्था पनि छ ।

ग्रामीण क्षेत्रमा अधिकांश ग्राहकले डिपोजिट वाणिज्य बैंकमागर्ने र कर्जा लघुवित्तबाट लिने गरेको देखिएको छ । त्यस्तै, लघुवित्तका एउटै ग्राहकले एकै अवधिमा १५ वटासम्म लघुवित्तबाट कर्जा निकालेको पनि भेटिएको छ । यीदुई विषयमा तपाईंको धारणा के छ ?
लघुवित्तले सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउँदैनन् । हामीले आफ्ना सदस्यहरूबाट मात्र बचत संकलन गर्न पाउँछौँ । त्यसबाहेकका मानिससित हामीले निक्षेप लिन पाउने व्यवस्थै छैन । हाम्रा ग्राहकले पनि ठूलो बचत वाणिज्य बैंकमै गर्नुहुन्छ, यद्यपि हामीकहाँ पनि बचत भने गर्नुहुन्छ ।

बचतको सम्बन्धमा ग्राहकले दुई–तीनवटा कुरा हेरेको हुन्छ । पहिलो कुरा उसले ब्याजदर हेरेको हुन्छ, कुन वित्तीय संस्थामा बचत खातामा कति ब्याजदर छ भन्ने बुझेर धेरै भएको ठाउँमा बचत गर्छ । दोस्रो कुरा बचतकर्ताले आफूले चाहेको वेलामा सहज तरिकाले पैसा निकाल्ल पाउँछु कि पाउँदिन भन्ने हेरेको हुन्छ । चाहेको वेला आफूले बचत गरेको रकम जुनसुकै स्थानबाट, सहज माध्यमबाट झिक्न वा प्रयोग गर्न पाउँछु भन्ने भएपछि बचत गरेको हुन्छ । यो सुविधा बैंकमा छ । तेस्रो कुरा बचतकर्ताले सुरक्षालाई पनि हेरेको हुन्छ । यी सबै पक्षका कारण हाम्रै ग्राहकले पनि ठूलो बचत वाणिज्य बैंकमा गरेको अवस्था छ । यी पक्षहरूमा सुधार नहोउन्जेलसम्म बैंकमा बचत जानु स्वाभाविक मान्नुपर्छ । तर, लघुवित्तमा पनि बचत संकलनको अवस्था राम्रै छ ।

अहिले पनि टोटल लेन्डिङको करिब ३४ प्रतिशत ग्राहकको बचतले धानेको अवस्था छ । हाम्रै लघुवित्तमा अहिले २ अर्ब बचत छ । यसको अर्थ ग्राहकले आफ्नो क्षमताअनुसराको बचत लघुवित्तमा गरेकै मान्नुपर्छ । हाम्रा ग्राहकको सामान्यतया ठूलो बचत गर्ने क्षमता नै हुँदैन । अर्को कुरा वाणिज्य बैंकहरूमा भन्दा लघुवित्तमा जहिले पनि बचतको ब्याजदर बढी नै हुन्छ । हामीले अहिले पनि बचत खातामा ७ प्रतिशत ब्याज दिइरहेका छौँ । त्यसैले पनि हाम्रा अधिकांश ग्राहक बचतका लागि वाणिज्य बैंक गएको अवस्था छैन, हामीले सेवा नदिएपछि सदस्यभन्दा बाहिरका मानिस त जाने नै भए ।

अस्वस्थ प्रतिस्पर्धाका कारण १५ वटासम्म लघुवित्तबाट एउटै ग्राहकले ऋण लिने गरेको अवस्था छ । जो राम्रो ग्राहक छ, उद्यमशील छ, जो केही गरौँ भन्ने सोचको छ र जो साँच्चै उद्यमका लागि ऋण लिन्छ, ऊ धेरैतिर चारेको अवस्था छैन । जो खराब नियतको छ, आफ्नो क्षमता नहेरी एउटा संस्था वा व्यक्तिको ऋण तिर्नकै लागि अर्कोबाट पैसा झिक्छ, त्यस्ता व्यक्तिले यस्तो गरिरहेका छन् । ‘सिआइबी’ पूर्ण रूपमा कार्यान्वयनमा आएपछि यो समस्या आफैँ हराएर जानेछ ।

अहिलेसम्म हामीलाई ढाँटेर यस्तो गरिरहेको अवस्था छ । सिआइबी अपडेट हुँदै छ, त्यो पूर्ण कार्यान्वयनमा आएसँगै ग्राहकले कतिवटा संस्थाबाट ऋण लिएको छ, उसको छवि कस्तो छ लगायत सबै विषय त्यसमा अद्यावधिक हुन्छ । त्यसपछि लघुवित्त पनि विभिन्न प्रक्रियाबाट घट्दै र सुदृढ हुँदै जान्छन् भने ‘मल्टी फाइनान्सिङको समस्या पनि विस्तारै घट्दै जान्छ । यसले लघुवित्तको लगानी केही घटाइहालेछ भने पनि स्वस्थकर लगानी र मुनाफा भने बढ्नेछ । त्यसैलेसिआइबी छिटो प्रभावकारी हुनैपर्छ, जुन अहिले आंशिक रूपमा कार्यान्वयनमा छ ।

केही स्थानीयनिकायले लघुवित्तलाई नकारात्मक दृष्टिले हेर्ने, सहयोग नगर्ने तर बैंक तथा सहकारीको प्रवर्धनमा भने सहयोग गर्ने गरेको पाइयो । यसमातपाईंको अनुभव के छ र लघुवित्तहरूले स्थानीय निकायहरूसित कसरी साझेदारी गरिरहेका छन् ?

मेरो अनुभवमा केही अपवादलाई छोड्ने हो भने स्थानीय निकायले लघुवित्तलाई नकारात्मक रूपमा हेरेर बैंक तथा सहकारीलाई मात्र प्रवर्धन गर्ने गरेको अवस्था छैन । यदाकदा यस्तो अवस्था छ, जसका केही कारण छन् । कतिपय मानिसले लघुवित्तलाई राम्ररी बुझिनसकेको अवस्था, लघुवित्तका उद्देश्य र महत्त्व नबुझेका कारण त्यस्तो भइरहेको छ । लघुवित्तले कस्तो वर्ग र समुदायका मानिसलाई आर्थिक सहयोग उपलब्ध गराइरहेको छ, जोखिम कत्तिको उठाएको छ, ग्राहकको विकासका लागि त्यो कत्तिको उपयोगी छ, सोसल बैंकिकका रूपमा लघुवित्तले कस्तो जागरण ल्याएको छ जस्ता विषय नबुझेका कारण कतिपय अवस्थामा यस्ता असहयोगका घटना घट्दै आएका हुन् ।

लघुवित्त बैंकिङमा सीमित छैन, यो सोसल बैंकिङ हो । पैसाको उपलब्धताका साथसाथै लघुवित्तका क्रियाकलापले जागरण र सशक्तीकरणका विविध पक्षको विकास गरिरहेको छ । पहिले महिलाको घरबाट निस्किन नसक्ने अवस्था थियो, हामी तराईमा जाँदा घुम्टो ओढेर अनुहारै देख्न नपाउने वा नचिन्ने अवस्था थियो । अहिले उहाँहरू कति जागरुक हुनुभएको छ, कति चेतनशील हुनुभएको छ, नेतृत्व दिन सक्ने अवस्थामा हुनुहुन्छ ।

लघुवित्तमा आबद्ध सबै महिलाले कम्तीमा नाम लेख्न जान्नुभएको छ । उहाँहरूका बालबच्चा विद्यालयमा पढिरहेको अवस्था छ, केही न केही काम गरेर खाइरहेको अवस्था छ । विनाकाम हल्लिएर खाने अवस्थाबाट कुनै न कुनै काममा संलग्न हुने अवस्था सिर्जना भएको छ । महिलाको हातमा पैसा आएको अवस्था छ, कतिपय महिलाले जीवनकालमा दुई–चार रूपैयाँबाहेक हजार–लाख रकम देख्नसमेत नपाउने अवस्था थियो । हामीले उहाँहरूको हातमा एकैपटक २–३ लाख रूपैयाँ दिएका छौँ र उहाँहरूले त्यसको सदुपयोग गरेर आयआर्जन गरिरहनुभएको अवस्था छ ।उहाँहरूले आफैँ र आफ्ना बालबच्चाका लागि केही गर्न सक्नुभएको छ ।

हाम्रो समाजको एउटा दुर्बल पक्ष छ, राम्रो कामको कदर नहुने । मेरो ९९ वटा राम्रा काम छन् र एउटा मात्र खराब पक्ष छ भने पूरै नराम्रो छ भनिदिने चलन छ । १५ वटाबाट पैसा लिनेहरूले पूरै उद्योगकै छवि बिगारिरहेको अवस्था छ । नतिर्ने नियत भएका केही सीमित व्यक्तिहरू जो प्रायः राजनीतिक संरक्षणमा पनि छन्, १० वटा लघुवित्तबाट पैसा झिक्छन्, तिर्दैनन् अनि उल्टै धम्क्याउँछन्, तिनै लघुवित्तको बदनामसमेत गर्दै हिँडेका छन् । जुन संस्थाले उसलाई यत्रो विश्वास गरेर ऋण दियो उसैलाई यो संस्था ठिक छैन, यसले मलाई घरबारविहीन गरायो भन्दै हिँडेको हुन्छ । उसलाई घरबारविहीन संस्थाले गरायो कि ऊ आफ्नो कारणले भयो भन्ने विचार नगरी यस्ता घटनाको प्रचारसमेत हुने गरेका छन् ।

जहाँसम्म सहकारीको प्रसंग छ, त्यहाँ सीमित व्यक्तिहरू सेयरहोल्डर हुन्छन् । सेयरधनीहरूले नै बचत गरेर आफ्नै बचतलाई परिचालन गरेर कर्जाप्रवाह गर्छन् । तर, लघुवित्तमा सुरुमा ग्राहकले जम्मा ५० रूपैयाँ बचत गर्छ, उति नै खेर उसलाई संस्थाले ६० हजार वा एक लाखसम्म पनि कर्जा दिन्छ । लघुवित्तले ग्राहकलाई यसरी विश्वास गरिरहेको छ । हामी पहिले कर्जा दिन्छौँ, परियोजना वा व्यवसाय सञ्चालन गराउँछौँ, त्यो व्यवसायबाट उसले कमाएर किस्ता तिर्ने र बचत पनि गर्ने, लघुवित्तको उद्देश्य यो हो । यी सबै पक्ष नबुझेको स्थानमा मात्र लघुवित्तको विरोध भएको छ, जाहाँ बुझेका छन् त्यहाँ केही समस्या छैन । नबुझेका स्थानमा पनि हामीले कुरो बुझाएपछि सहयोग पनि गर्नुभएको छ ।

अर्कोतर्फ कहीँकतै भने जनप्रतिनिधिले नै खराब नियतले काम गरेको अवस्था छ । जसले १५ वटा लघुवित्तबाट ऋण लिएको छ, उही वडाध्यक्षलगायत माथिल्लो पदमा पुगेको छ, ऋण तिर्ने उसको नियत नै छैन । कतिपय स्थानमा भने जनप्रतिनिधिहरूको अफ्नै सहकारी छ । आफ्नो व्यवसाय घट्ने भयले पनि लघुवित्तलाई असहयोग गरिरहेको अवस्था छ । तर, यस्ता केही घटनालाई लिएर सामान्यीकरण गर्न मिल्ने अवस्था भने छैन ।

हामीले आफ्ना स्टाफहरूलाई स्थानीय निकायसँग राम्ररी समन्वय गर्नुस् भनिरहेका छौँ । हामीले स्थानीय निकायहरूलाई कुनै कार्यक्रम गर्दा हामीलाई पनि सम्झिन आग्रह गरिरहेका छौँ । कोभिडकै वेलामा पनि हामीले गाउँपालिका, नगरपालिका र तिनका वडाहरूसित मिलेर काम गर्‍यौँ । हामीले उहाँहरूसित सहकार्य गरिरहेका छौँ र भविष्यमा थप सहकार्यको आवश्यकता छ । समग्रमा उहाँहरूले सहयोग नगरेको अवस्था छैन ।