नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशत वृद्धि गरेको छ । साउन १ देखि लागू हुनेगरी राष्ट्र बैंकले प्रतिबैठक भत्ता ५ हजारबाट बढाएर ७ हजार ५ सय पुर्याउने प्रस्ताव गरेको हो । यो प्रस्ताव डेपुटी गभर्नरबाट स्वीकृत भई गभर्नरसमक्ष पेश भएको छ । यो सञ्चालक समितिले पारित गरेपछि नयाँ व्यवस्था लागू हुनेछ । हाल राष्ट्र बैंकमा गभर्नरसहित २ डेपुटी गभर्नर, अर्थसचिव र अन्य ३ गरी ८ सञ्चालक रहने व्यवस्था छ । व्यवस्थापन समिति बैठकमा अधिकृतदेखि पियनस्तरका चालकबाहेक ९ जना, उपसमिति बैठकमा ५ जना र सञ्चालक समिति बैठकमा ८ जनाको सहभागिता हुने उल्लेख छ ।
कसको भत्ता कति बढ्ने ?
सञ्चालक समितिसहितका अन्य समिति बैठक संख्या बढेको भन्दै सञ्चालकहरूलाई हाल दिइँदै आएको मासिक ८० लिटर पेट्रोलको सुविधा बढाएर १ सय लिटर पुर्याउन सिफारिस गरिएको छ । डेपुटी गभर्नर अध्यक्षरसंयोजक भई बनेका उपसमिति संयोजक तथा सदस्यहरूको बैठक भत्ता २ हजारबाट ३ हजार ५ सय तथा कार्यकारी निर्देशक अध्यक्षरसंयोजक भई बनेका समिति, उपसमितिको अध्यक्ष, संयोजक तथा सदस्यहरूको बैठक भत्ता १ हजार ५ सयबाट वृद्धि गरी २ हजार ५ सय पुर्याउने तयारी भएको छ । निर्देशक अध्यक्ष तथा संयोजक भई बनेका समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरूको बैठक भत्ता १ हजारबाट वृद्धि गरी १ हजार ५ सय पुर्याउन लागिएको छ । सञ्चालक, डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा निर्देशक संयोजक भई भत्ता दिने गरी बनेका सबै समिति र उपसमितिको सचिवायलयका कर्मचारीलाई दिने खाजा खर्चको रकम पनि ५० प्रतिशतभन्दा बढीले बढाइएको छ । सञ्चालकहरूको काम, कर्तव्य, दायित्व र भूमिकाका साथै विद्यमान मुद्रास्फितिलाई समेत गरी बैठक भत्ता र त्यसमा संलग्न हुने कर्मचारीहरूको खाजा खर्च बढाउनुपर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको छ । त्यस्तै, गभर्नर र डेपुटी गभर्नरलाई घरभाडा भत्ताको समेत व्यवस्था गर्न लागिएको छ ।


