बैंकिङ खबर / नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई ५० प्रतिशत राइट सेयर निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई १ः०.५० अनुपातमा राइट सेयर निष्कासन गर्ने अनुमति दिएको हो। यससँगै बैंकलाई विद्यमान सेयरधनीबाट ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँभन्दा बढी पुँजी जुटाउने बाटो खुलेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता राइट सेयर निष्कासन गर्न अनुमति मागेको थियो। बोर्डले कात्तिक १७ गते मंगलबार यसको स्वीकृति दिने निर्णय गरेको हो। राइट सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
यसअनुसार बैंकका विद्यमान सेयरधनीले आफ्नो स्वामित्वमा रहेको प्रत्येक दुई कित्ता सेयर बराबर थप एक कित्ता सेयर खरिद गर्न पाउनेछन्। अर्थात्, हाल १०० कित्ता सेयर हुने लगानीकर्ताले थप ५० कित्ता सेयर खरिद गर्नुपर्ने हुन्छ। यसका लागि उनीहरूले थप ५ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ।
तर बैंकको वित्तीय अवस्थालाई हेर्दा यो राइट सेयर केवल पुँजी वृद्धि गर्ने विषयमा मात्र सीमित छैन। बैंकले एकातिर थप पुँजी जुटाउने अनुमति पाएको छ भने अर्कोतिर आम्दानी, खराब कर्जा व्यवस्थापन र लगानीकर्तालाई प्रतिफल दिने क्षमतासम्बन्धी चुनौती पनि सामना गरिरहेको छ।
एनआईसी एसिया बैंकको पछिल्लो वित्तीय विवरणमा सञ्चालन आम्दानी र सञ्चालन मुनाफामा दबाब देखिएको छ। बैंकको वितरणयोग्य मुनाफासमेत ऋणात्मक अवस्थामा छ। यस्तो अवस्थामा राइट सेयरमार्फत जुटाइने रकमले बैंकको वित्तीय आधार बलियो बनाउन कति सहयोग गर्छ भन्ने चासो बढेको छ। राइट सेयर जारी भएपछि बैंकको पुँजी बढ्नेछ। तर पुँजी बढ्नु र बैंकको आम्दानी तथा नाफा बढ्नु एउटै कुरा होइन। थप पुँजीको प्रभावकारी परिचालन, खराब कर्जा नियन्त्रण र कर्जा असुलीमा सुधार गर्न सके मात्रै यसले बैंकको वित्तीय अवस्थामा सकारात्मक प्रभाव पार्न सक्छ।
अर्कोतर्फ, राइट सेयरमा सहभागी हुने वा नहुने भन्ने निर्णय विद्यमान सेयरधनीका लागि पनि महत्त्वपूर्ण हुनेछ। राइट सेयर खरिद गर्न लगानीकर्ताले थप रकम जुटाउनुपर्नेछ। बैंकको वित्तीय अवस्था र भविष्यमा पुँजीको प्रतिफल दिन सक्ने क्षमताका आधारमा लगानीकर्ताले निर्णय गर्नुपर्ने हुन्छ।
त्यसैले अब एनआईसी एसिया बैंकका लागि मुख्य चुनौती राइट सेयरबाट साढे ७ अर्ब रुपैयाँ जुटाउनु मात्रै होइन, उक्त पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आम्दानी बढाउने, खराब कर्जा घटाउने र लगानीकर्ताको विश्वास पुनः बलियो बनाउने पनि हो।