Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

तिहारका लागि राष्ट्र बैंकले बेच्दै सुनको असर्फी र चाँदीका मेडालियन

२०८३ कार्तिक १९ गते

बैंकिङ खबर / तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन खरिद गर्न चाहनेका लागि नेपाल राष्ट्र बैंकले बिक्री खुलाउने भएको छ । राष्ट्र बैंकले कात्तिक १९ र २० गते दुई दिन बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले तिहारलाई लक्षित गरी प्रतिव्यक्ति २.५ ग्राम तौलको एक थान सुनको असर्फी बिक्री गर्ने जनाएको छ । त्यस्तै, १० ग्राम तौलका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि प्रतिव्यक्ति एक-एक थानका दरले खरिद गर्न पाइनेछ ।

राष्ट्र बैंकका अनुसार असर्फी तथा मेडालियन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिनेछ । बिक्री मौज्दात कायम रहेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई गरिनेछ ।

तिहारमा धनतेरस तथा लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सामग्री खरिद गर्ने परम्परा रहेकाले राष्ट्र बैंकले हरेक वर्षजस्तै यस वर्ष पनि असर्फी र मेडालियन बिक्री गर्न लागेको हो ।

असर्फी तथा मेडालियन खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियनको मूल्य बिक्री हुने दिन बिहान करिब ११ बजे निर्धारण गर्नेछ । त्यसैले मूल्य सार्वजनिक भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुनेछ ।

 

Ad