बैंकिङ खबर । बैंकवित्तलाई तरलता समस्या आउने एउटा रेगुलर समय थियो दशैं । दशैमा अधिकाँस मानिसले जसरी नगद रकम निकाल्थे त्यही अनुपातमा बैंकवित्तमा व्यालेन्स जम्मा हुदैनथ्यो । अहिले लकडाउनपछिको अर्थतन्त्रमा यो ठुलै समस्याको रुपमा आउने सम्भानवना बैंकवित्त क्षेत्रले अनुमान गरीसकेको छ । बैंकमा अहिले दिनहुँ रकम झिक्नेहरु छन् । बैंकमै गएर, एटीएम र डिजिटल माध्यमबाट पैसा झिक्नेहरु छन् ।
लकडाउनको लगत्तै केही रकम अझै झिकिने सम्भावना छ । र विदेशबाट नेपालीहरु फर्किने अबस्था छ । अर्कातर्फ रेमिट्यान्स धेरै नै घट्ने अबस्था छ । कर्जाको माग थप बढ्ने संकेत छ । यीनै कारणहरुबाट वित्तीय क्षेत्रमा तरलता संकटको अबस्था आउन सक्ने एकातिर विश्लेषण भएको छ । ऋणको माग नै अत्याधिक भएपछि mस्वभाविकै रुपमा लगानी योग्य पुँजीको अभाव हुन्छ । कर्जाको माग बढ्ने भएपछि बैंकहरु आफ्नो जगेडा स्रोत समेत प्रयोग गरेर लगानी गर्छन् । बैंकहरुले सुरक्षाका लागि राख्नुपर्ने अनिवार्य तरलता अनुपात (सिआरआर) कायम गर्न समेत राष्ट्र बैंकसँग पैसा सापटी माग्नुपर्ने अबस्था छ । बैंकहरुले स्थायी तरलता सुविधा (एसएलआर) प्रयोग गरीनै रहेका छन् । अहिलेकै अबस्थामा अन्तर बैंक सापटी दर पनि बढीरहेको छ । बाणिज्य बैंकसँग ऋण दिनसक्ने कुल रकम र क्षेप संकलनबीच तालमेल टुट्ने विश्लेषण छ । तरलता समस्याको समाधानका लागि नियामक नेपाल राष्ट्र बैंकले विभिन्न नयाँ उपायहरु अवलम्बन गर्नुपर्ने देखिन्छ ।
समस्यै समस्यतिर अर्थतन्त्र
नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित छ । तर, विप्रेषणको आम्दानीबाट आएको पैसाले हामी चालू खर्चसमेत धान्न सक्ने अवस्थामा छैनौं । त्यसमाथि अहिले सबैभन्दा ठुलो समस्या देखिने यही क्षेत्र भएको छ । यस्तो समस्याकोे दीर्घकालीन समाधानका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ । घरगाडीमा गरेको लगानी एकपटक गरेपछि सकिन्छ, तर जलविद्युते, कृषि, पर्यटन, उद्योग लगायतमा गरिएको खर्चबाट आम्दानी भइरहन्छ, जसले नगद प्रवाह बढाउँछ र वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम रहन्छ । तर पर्यटन क्षेत्र तत्कालका लागि सम्भावित छैन । कृषि क्षेत्रमा बजारको व्यबस्थापन राम्रो नहुँदा विदेशबाट ल्याउने र नेपाली उत्पादन फाल्नुपर्ने अबस्था छ । कृषिमा उत्पादन भएको बस्तु समेत बजारसम्म ल्याउन राज्यले व्यबस्थापन गर्न सकिरहेको छैन । यसअर्थ विकास खर्चलाई सन्तुृलन गर्ने एउटा उपाय हुन सक्छ । राज्यसँग भएको पैसा खर्च गर्दै जाँदा नगद प्रवाह बढ्न गई तरलता समस्या कम हुन्छ । अब त मुलुक संघीय संरचनामा गइसकेको छ । स्थानीय तहका लागि भनेर छुट्टै बजेट बनाइएको छ । यस्तो बजेट वित्तीय संस्थामा राखेर खर्च गर्दा पनि वित्तीय तरलतामा सहजता हुन सक्छ ।
बैंकिङ क्षेत्रले लकडाउनको अवधिमा व्याज सार्ने बाहेक ऋणीको हकमा कुनै अर्को सहुलीयतको काम गर्ने देखिँदैन । अर्थमन्त्री र गभर्नरले यसबारेमा आफ्ना आधिकारीक धारण सार्वजनिक गरिसकेका छन् । बैंकले निक्षेप संकलनमा व्याज घटाउँदा यसले तरलतामा समेत प्रभाव पार्न सक्ने अनुमान गरिन्छ । विदेश गएका कतिपय व्यक्तिहरु लकडाउन अबस्थापछि नेपाल फर्किने देखिएको छ । त्यसमाथि रोजगारिका लागि भारत गएका कतिपय नेपालीहरु नेपाल फर्किसकेका छन् । बैदेशिक रोजगार र बैदेशिक शिक्षा अध्ययनलाई पनि यसले प्रभाव पार्ने देखिन्छ । रोजगारमा कमि आई पेशागत संकटले थप कर्जाको माग बढ्ने छ । जसले गर्दा बैकबाट कर्जाको माग बढ्ने र निक्षेपको अबस्थालाई कम्जोर पार्न सक्ने हुनसक्छ ।
सरकारले बाढी पहिरो, भुकम्प लगायतको समयमा राहात कोष खडा गर्ने गर्दछ । त्यस्तै कोरोना रोकथामका लागि पनि कोष खडा गरेको छ । उक्त कोषमा जम्मा भएको रकम खर्चको पद्धतिमा सरकार जहिले चुक्ने गरेको छ । जसले गर्दा राहत समेत निर्धारीत बर्गसम्म पुग्न पाउँदैन । त्यस्तो समस्या कोरोना रोकथाम तथा लकडाउनको राहतबारे धेरै समाचार आइसकेका छन् । यस्तो बेला कोषमा रकम जम्मा गर्ने घोषणा घोषणामै सिमित रहने, कोषलाई प्रभावकारी कार्यान्वयन गर्न नसक्ने तथा खर्चको पारदर्शीता नहुने सम्भावना बढी हुन्छ ।
यसरी आउने गर्दछ तरलता
कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बढ्छ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् । मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् ।
निक्षेपमा बढोत्तरी, आम्दानी, कर्जा असुली, बैंकिंग सम्पतिको बिक्री, मुद्राबजारबाट प्राप्त सापटी आदि बैंकिंग क्षेत्रको सन्दर्भमा तरलताका स्रोत हुन् भने यसको उपयोग निक्षेपको भुक्तानी, कर्जा प्रवाह, संचालन खर्च तथा कर भुक्तानी, मुद्राबजारबाट प्राप्त रकमको भुक्तानी, लगानीकर्ताहरुलाई लाभांश भुक्तानी आदि मार्फत हुन्छ । यी मध्ये प्रमुख श्रोत निक्षेप हो भने यसको उपयोग कर्जा तथा लगानीको माध्यमबाट हुन्छ ।
बैंकहरु कहिले तरलताको कमी त कहिले अधिक तरलताको समस्यासँग जुधिरहेका हुन्छन् । तरलता समस्या समाधानका लागि निश्चित प्रक्रिया अपनाउने गरिन्छ । यसका लागि पहिले तरलताको पहिचान गर्ने त्यसपछि व्यवस्थापन गर्ने अनि उपयोग गर्ने गर्नुपर्छ । यी तीन विषयहरु अन्तरसम्बन्धित भएकाले एउटाको सफल कार्यान्वयनले मात्र अर्कोको कार्यान्वयनको लागि मार्ग प्रशस्त गर्दछ ।




