काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा बैंकिङ विज्ञ नरबहादुर थापाले नेपाल कृत्रिम बुद्धिमत्ता (एआई) को पूर्ण प्रयोगको चरणमा अझै पुगिनसकेको बताएका छन् । मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘एआई एन्ड डिजिटलाइजेसन समिट २०२६’ मा उनले एआईको सम्भावना अत्यन्त ठूलो भए पनि यसले तत्कालै देशको अर्थतन्त्रमा उल्लेखनीय वृद्धि ल्याउने अवस्था भने नबनिसकेको स्पष्ट पारे।
एआई र डिजिटलाइजेसनसम्बन्धी कार्यक्रममा बोल्दै थापाले एआईलाई आर्थिक विकासको प्रत्यक्ष माध्यमभन्दा पनि कार्यसम्पादनलाई सहज, छिटो र प्रभावकारी बनाउने प्रविधिका रूपमा लिनुपर्ने बताए। उनका अनुसार एआईले विभिन्न क्षेत्रमा उत्पादकत्व वृद्धि, निर्णय प्रक्रियामा सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
उनले नेपालमा पछिल्लो समय वित्तीय क्षेत्रमा डिजिटलाइजेसन उल्लेखनीय रूपमा विस्तार भएको बताए। बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर अटोमेसन, डिजिटल भुक्तानी प्रणाली, मोबाइल बैंकिङ र अनलाइन सेवामार्फत सेवा प्रवाहलाई आधुनिक बनाएका छन्। यद्यपि, अबको आवश्यकता भनेको डिजिटल प्रविधिको प्रयोगलाई अझ उन्नत तहमा पुर्याउँदै एआईमार्फत अर्थतन्त्रलाई नयाँ दिशा दिनु रहेको उनले बताए।
थापाका अनुसार एआईको प्रयोग केवल निजी क्षेत्रमा सीमित नराखी सार्वजनिक प्रशासन, वित्तीय नीति निर्माण तथा सरकारी सेवा प्रवाहमा समेत विस्तार गर्न आवश्यक छ। उनले नेपाल राष्ट्र बैंक, विभिन्न सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूले डेटा-आधारित निर्णय प्रणाली विकास गर्न एआईको प्रयोग बढाउनुपर्नेमा जोड दिए। उनले शिक्षा, स्वास्थ्य, बीमा तथा वित्तीय सेवाजस्ता क्षेत्रहरूमा एआईको प्रयोगले गुणस्तरीय सेवा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। शिक्षा क्षेत्रमा व्यक्तिगत सिकाइ प्रणाली विकास, स्वास्थ्य क्षेत्रमा रोग पहिचान तथा उपचार व्यवस्थापन, बीमा क्षेत्रमा जोखिम मूल्याङ्कन तथा दाबी व्यवस्थापन र वित्तीय क्षेत्रमा ग्राहक सेवा तथा जोखिम व्यवस्थापनमा एआई प्रभावकारी हुन सक्ने उनको भनाइ थियो ।
थापाले विश्वका विकसित मुलुकहरूले एआईलाई आर्थिक विकास, उत्पादन वृद्धि र सेवा क्षेत्रको आधुनिकीकरणका लागि व्यापक रूपमा प्रयोग गरिरहेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताए। उनले एआईलाई केवल प्रविधिको विषयका रूपमा नभई राष्ट्रिय विकासको रणनीतिक साधनका रूपमा हेर्न आवश्यक रहेको धारणा राखे। कार्यक्रममा उनले नेपालमा डेटा हब तथा डेटा सेन्टर स्थापना गर्ने योजनाको समेत स्वागत गरे । नेपालमा आधुनिक डेटा पूर्वाधार निर्माण हुनुले डिजिटल अर्थतन्त्रको विकासलाई गति दिने र एआई प्रणाली सञ्चालनका लागि आवश्यक आधार तयार हुने उनको विश्वास थियो। यस्ता पूर्वाधारले सरकारी तथा निजी क्षेत्रका डिजिटल सेवाहरूलाई थप सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउने उनले बताए।
थापाले एआईलाई मानव श्रमको विकल्पका रूपमा नभई मानव क्षमताको विस्तार गर्ने साधनका रूपमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे। सही नीति, पूर्वाधार र लगानीका साथ एआईलाई उपयोग गर्न सके नेपालले डिजिटल अर्थतन्त्रको नयाँ युगमा प्रवेश गर्ने तथा दीर्घकालीन आर्थिक विकासको लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार तयार गर्न सक्ने उनको निष्कर्ष थियो। थापाले एआईको प्रयोग आम नागरिकको दैनिक जीवनभन्दा बढी नीति निर्माण तथा निर्णय प्रक्रियासँग सम्बन्धित व्यक्तिहरूका लागि उपयोगी हुने धारणा व्यक्त गरे । उनका अनुसार एआई मुख्य रूपमा निर्णयकर्ताहरू (Decision Makers) का लागि प्रभावकारी उपकरण बन्न सक्छ, जसले तथ्य, तथ्यांक र विश्लेषणका आधारमा छिटो तथा गुणस्तरीय निर्णय लिन सहयोग पुर्याउँछ। सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, व्यवसायिक नेतृत्व र नीति निर्माताहरूले एआईको प्रयोग गरी दीर्घकालीन योजना निर्माण, जोखिम मूल्याङ्कन तथा रणनीतिक निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन सक्ने उनले बताए ।


