२०८२ मंसिर २८ गते

लघुवित्तमाथि पटकपटक भएको आक्रमण बैंकसम्म पुग्यो ! केन्द्रीय बैंकका आँखा कहिले खुल्छ ?

माधव निर्दोष / बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु कर्जा असुली गर्दा पटक पटक कुटपीटको शीकार भएका छन् । पछिल्लो पटक ज्योति विकास बैंकका कर्मचारी यसको शिकार भए । ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दल्ने, कुटपीट गर्ने तथा दुर्व्यवहार कार्य गरिएको छ । सप्तरीको रुपनी शाखामा कार्यरत बैंकका कर्मचारी ऋण असुली गर्न जाँदा कालोमोसो सहित दुर्व्यवहारको शीकार भएका हुन् । ज्योति विकास बैंकका अनुसार मंसिर २५ गते बैंकका कर्मचारीहरु माथि यस्तो दुर्व्यवहार भएको हो । ऋण लिने र साक्षि बस्नेहरुबाटै कर्मचारीहरु कुटिएका हुन् । कर्मचारीमाथि भएको दुर्व्यवहारका बारे नेपाल राष्ट्र बैंकलाई जानकारी गराइएको बताइएको छ । 

फेरि विगतलाई हेरौं

यस्ता घटना विगतमा लघुवित्त वित्तीय संस्थामा पटक पटक भएका छन् । कैयौ लघुवित्तकर्मीदले यी र यस्ता घटना लुकाएका छन् भने कतिले सार्वजनिक गरेका छन् । २०७९ मा सबैभन्दा बढी लघुवित्तप्रति चौतर्फी आक्रमण भयो । लघुवित्तको ऋण नतिर्ने बहानामा विभिन्न आन्दोलनहरु भए । विभिन्न राजनीतिक दलहरुनै लघुवित्तविरुद्ध लागे । गरिब तथा विपन्न वर्गका व्यक्तिलाई लक्षित गरेर स्थापना भएको लघुवित्तमाथि संसद भवन होस् वा राजनीतिक दल, सञ्चार माध्यम अथवा लघुवित्तविरुद्ध स्थापना भएका विभिन्न संघर्ष समिति लघुवित्तविरुद्ध जाइ लागे ।

झापामा आयोजित कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंले लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने जस्ता अभिव्यक्ति दिए । सोही कारण पनि लघुवित्तका कर्मचारीमाथि आक्रमण समेत भयो । फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई कालोमासो दलियो। सो घटनामा लुटपाट समेतका जघन्य काम भयो। फागुन २१ गते मोरङको कर्सियामा जीवन विकास लघुवित्तको गौरीगन्ज शाखाका कर्मचारी त्रिदेव मण्डलमाथि कुटपिट भयो। लघुवित्तपीडित संघर्ष समितिका सदस्यहरुले उनलाई धनपालनाथ गाउँपालिकामा कुटपिट गरे। फागुन २५ गते झापामा अभियान लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलियो। विराटनगरमा केही समूहले बैंक तथा वित्तीय संस्था बन्द गर्न लगाउने र कर्मचारीसहित सेवाग्राहीमाथि नै धरपकड समेत गरेको थियो।

संखुवासभा खाँदबारीमा लघुवित्तका कर्मचारीमाथि कुटपिटपछि बैंक तथा वित्तीय संस्थाले प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए । एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत कर्मचारी पाँचखपन नगरपालिका–३ का दिलबहादुर तिवारीमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै स्थानीय बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाए । ​बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई हतोत्साहित हुने गरी धम्की तथा भौतिक आक्रमणले समग्र बैंक तथा वित्तीय संस्थाको वातावरण त्रासपूर्ण रहेको विज्ञप्तिमा भनिएको थियो । ज्ञापनपत्र बुझ्दै संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनामा संम्लग्न माथि कडा कारवाही हुने प्रतिवद्धता ब्यक्त गरेका थिए । एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत कर्मचारीमाथि खाँदबारी–१ स्थित टुँडीखेलमा बोलाइ सुनियोजित ढंगबाट भौतिक आक्रमण गरी गम्भीर घाइते भएको घटनाप्रति संखुवासभाका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको थियो । लघुवित्तका कर्मचारीलाई किस्ता लिन बोलाएर हेलमेटले कुटपिट गरेको पीडितले बताएका थिए । यी त नमुना घटना थिए । सप्तरी, कपीलबस्तु र सिराहामा पनि यस्ता घटना भएका थिए । लघुवित्तमा यस्ता कैयौं घटना डरकै कारण र जागिरकै कारण लुकाइएका छन् ।

केन्द्रीय बैंक सधैं रमीते 
यी र यस्ता घटनाहरु धेरै आइसकेका थिए । तर केन्द्रीय बैंक यस्ता घटनामा सधै रमीते बन्दै आएको छ । लघुवित्तलाई मिटर व्याजी भनेर विगतमा आन्दोलन समेत भए । जब कि केन्द्रीय बैंक नै यसको नियमनकारी निकाय हो । घ बर्गको बैंकका रुपमा परिभाषित गरिएको लघुवित्त २०७३ सालअघि सम्म लघुवित्त बैंक भनेर चिनिदै आएको थियो । पछि केन्द्रीय बैंकले नै यसलाई लघुवित्त वित्तीय संस्था भनेर लेख्ने नीति ल्याएको हो । अन्यथा यो घ बर्गको बैंक नै हो । लघुवित्तका कारण कैयौं मानिस उद्यमी भएका छन् । कैयौं मानिस वित्तीय रुपमा साक्षर पनि भएका छन् । तर लघुवित्तका सकारात्मक पक्षलाई उजागर गर्ने नीति केन्द्रीय बैंकले कहिल्यै ल्याएको पाईदैन । बैंक नभएका कैयौं ठाउँमा लघुवित्त नै स्थापीत छन् । पछिल्लो समय जबरजस्त ग्रामिण तहमा बाणिज्य बैंक लगीएको छ । तथापी वाणिज्य बैंकहरुले ती ठाउँमा कर्जा लगानी गरेका छैनन् । बरु बैंकहरुबाट त्यहाँका नागरिकको निक्षेप उठाएर शहरमा धनाड्यहरुलाई कर्जा लगानी भएको छ । ग्रामिण भेगका कैयौं मानिसहरु महंगो व्याजदरमा लघुवित्तबाटै कर्जा लिएर उद्यमी बन्न बाध्य छन् । 

नीति परिवर्तन गर्न जरुरी
हालको नीति बाविाज्य बैंकबाट सस्तो व्याजमा रकम उठाएर लघुवित्त मार्फत महंगगो व्याजमा कर्जा लगानी गर्ने नीति छ । स्वभाविकै रुपमा लघुवित्त घरघरमा पुगेर सेवा दिएका हुन्छन् जसले गर्दा लागत खर्च धेरै हुन्छ । उद्यपी धनी व्यक्तिले शहरमा सस्तो व्याजमा कर्जा पाउने र गरीव व्यक्तिले गाउँमा महंगो व्याजमा कर्जा लिनुपर्ने अबस्था छ । अब यो नीति परिवर्तन हुन जरुरी छ । कि केन्द्रीय बैंकले सिधै लगानी गरेर लघुवित्तबाट ग्रामीण तहमा सस्तो व्याजदरमा कर्जा प्रवाह हुन जरुरी छ । सुलभ कर्जा, कृषि कर्जा, स्टाटअप कर्जा तथा विभिन्न नाममा सरकारबाट दिइने कर्जाहरु लघुवित्त मार्फत हुन जरुरी छ । देशका कुना कुनामा शाखा रहेका कारण पनि लघुवित्तबाट यस्तथा कर्जा उपलव्ध गराइनुपर्छ । बैंकबाट सस्तो दरमा कर्जा दिएर होइन सिधै केन्द्रीय बैंकबाट कर्जा लघुवित्तमा जानुपर्छ । अहिले बजारमा तरलता प्रसस्तै भएको अबस्थामा लघुवित्तमार्फत लगानीको ढोका खोल्नुपर्छ । 

बंगलादेशबाट सुरु भएको लघुवित्तले ग्रामीण विकासमा विश्वव्यापी रुपमा नै ठूलो मद्दत पुर्याएको छ । 

बिना धितो कर्जा
लघुवित्तहरुले ठूलो रकमसम्म बिना धितो कर्जा प्रवाह गर्दछन् । बिना धितो दिइएको कर्जा शतप्रतिशत उक्सिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा सिद्धान्त नै हो । केहि सिद्धान्त पालना गरेर काम गरियो भने डुब्ने खतरा हुँदैन । हैन भने डुब्ने खतरा हुन्छ । जस्तो स्थानीय स्तरमा बसेका महिलाहरु, जसले एक अर्कालाई चिन्छन, जसको एक अर्कोसँग मन मिलेको छ । उनीहरु एक ठाउँमा बस्छन् र एउटाले अर्काको सामूहिक जिम्मेवारी लिन्छ । अर्थात सामूहिक जमानी बसिदिन्छ । त्यहि आधारमा लघुवित्तले कर्जा दिन्छ । भोलि ऋणीले दायाँ बायाँ गरेको अवस्थामा कर्जा असुलीमा सो समूहले सहयोग गर्छ ।

सामाजिक क्षेत्रमा योगदान : उद्यमशिलता विकास
लघुवित्तहरुले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छन् । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो ! नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तकै योगदान रहेको छ ।  एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैनन् । यसरी ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाहरुले गरिरहेको छ । लाखौँ नेपालीहरु लघुवित्त सेवाबाट लाभान्वित भइरहेका छन् । यसरी ग्रामीण एवम् विपन्न वर्गलाई उद्यमी बनाएर एवम् महिलाहरुलाई माथि उठाएर लघुवित्तले सहयोग पुर्याइरहेको छ । बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर छन् । केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको छ । विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गर्ने वातावरण लघुवित्त संस्थाले बनाइदिएका छन् । तरकारीखेती, पशुपालन, घरेलु उद्योग लगायतका व्यवसायमार्फत जिवनस्तर उकास्ने मौका र हिम्मत लघुवित्त संस्थाहरुले प्रदान गरेका छन् ।