Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रको विकासका लागि बजेट सकारात्मक : सिबिफिन

२०८३ जेष्ठ १७ गते

बैंकिङ खबर / बजेटका विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रका लागि बजेट सकारात्मक भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दे सिबिफिनले बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोवल अभिवृद्धि, लगानी प्रवद्र्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरुको लागि स्वागत गरेको हो ।

बजेटमा सिबिफिनको आफ्नो धारणा यस प्रकारको छ ।

‘नेपाल सरकारबाट आगामी आर्थिक वर्ष २०८३र८४ को लागि हालै प्रस्तुत बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोवल अभिवृद्धि, लगानी प्रवद्र्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरुको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० हार्दिक स्वागत गर्दछ ।

विगत केही समयदेखि सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्र एवं आर्थिक गतिविधि, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’ को मनोवृत्ति, बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था तथा बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै आएको सन्दर्भमा प्रस्तुत बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई पुनःचलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गरेको सिबिफिनले ठहर गरेको छ ।

विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजीटल अर्थतन्त्रको प्रवद्र्धन, प्रविधि एवं पूर्वाधार विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विकासमा जोड, लगानीमैत्री नीति निर्माण तथा वातावरणको सृजना तथा बैंकिङ क्षेत्रमा निकै चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गरिने ऐतिहासिक घोषणा अत्यन्तै दुरदर्शी, सकारात्मक एवं समयसापेक्ष कदमका रुपमा सिबिफिनले लिएको छ ।

प्रस्तुत बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकको रुपमा आत्मसाथ गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ । व्यक्तिगत आयकरमा छुटको सीमामा वृद्धि, करको दरमा पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका व्यवस्थाहरुले समग्र आर्थिक गतिविधिहरुमा सकारात्मक ऊर्जा संचार गर्ने विश्वास गरिएको छ । साथै, प्रस्तुत बजेटले आन्तरिक तथा बाह्य लगानी विस्तार, उद्यमशीलताको विकास, रोजगारी सृजना, उत्पादन अभिवृद्धि, निजी क्षेत्रको पुनर्जागरणसहित उच्च आर्थिक आत्मविश्वासतर्फ अर्थतन्त्रलाई अग्रसर गराउने महत्वपूर्ण आधार निर्माण गर्ने सिबिफिनको विश्वास रहेको छ ।

बजेटमा उल्लेखित जनमुखी र विकासमुखी नीति तथा कार्यक्रमहरुको प्रभावकारी र परिणामुखी कार्यान्वयनका लागि नीतिगत स्थायित्वसहित निजी क्षेत्रसँगको सहकार्यलाई केन्दविन्दुमा राखेर नेपाल सरकार अगाडि बढ्ने हार्दिक अपेक्षा व्यक्त गर्दै, आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व एवं दिगो विकास, लगानी विस्तार, दिगो र उच्च आर्थिक वृद्धिसहित सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र एवं समृद्ध राष्ट्र निर्माणको कार्यमा नेपाल सरकारसँग निकट सहकार्य गर्न र एक अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न सिबिफिन पूर्णरुपमा प्रतिबद्ध रहेको व्यहोरा यसै विज्ञप्तिमार्फत व्यक्त गर्दछौं।’