बैंकिङ खबर / नविल बैंकका सिइओ तथा बैंकर्स एशोसियशनका कार्यकारी सदस्य मनोज ज्ञवालीले डिजिटलाइजेसनले बैंकिङ तथा वित्तीय सेवाको पहुँच विस्तार र सेवा प्रवाहलाई सहज बनाएको उल्लेख गर्दै एआईले त्यसलाई अझ बुद्धिमान, विश्लेषणात्मक र स्वचालित बनाउने बताएका छन्।
मोबाइल बैंकिङ, क्यूआर कोड, वालेट, अनलाइन भुक्तानी तथा अन्तरबैंक डिजिटल कारोबारको विस्तारले वित्तीय कारोबारको स्वरूप नै परिवर्तन गरिदिएको उनले बताए। “डिजिटल पेमेन्टको क्षेत्रमा हामी धेरै अगाडि बढिसकेका छौं, आज अधिकांश वित्तीय कारोबार मोबाइल र डिजिटल माध्यमबाट सम्पन्न हुन थालेका छन्,” उनले भने “नेपालले डिजिटल पेमेन्ट प्रणालीको विकासमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ।,” मिडिया इन्टरनेसनलले आयोजना गरेको एआई डिजिटल फाइनान्स समिटमा बोल्दै सीईओ ज्ञवालीले बैंकिङ क्षेत्र तीव्र रूपमा प्रविधिमुखी बन्दै गएको उल्लेख गर्दै भविष्यमा बैंकमा ग्राहकको प्रत्यक्ष उपस्थिति आवश्यक नरहने उनले बताए । उनका अनुसार भोलिका दिनमा ग्राहकले बैंकमा आएर सेवा लिनेभन्दा पनि डिजिटल माध्यमबाट अधिकांश काम सम्पन्न गर्ने प्रवृत्ति अझ बढ्नेछ।
“भविष्यमा ग्राहक बैंकमा आउँछन् वा आउँदैनन् भन्ने यकिन गर्न गाह्रो छ। सेवा कहाँबाट लिइन्छ, कसरी लिइन्छ र कसरी प्रदान गरिन्छ भन्ने कुरा मुख्य रूपमा डिजिटलाइजेसन र एआईमा निर्भर हुनेछ,” उनले भने। बैंकिङ सेवा क्रमशः शाखा केन्द्रित प्रणालीबाट डिजिटल प्लेटफर्म केन्द्रित प्रणालीमा रूपान्तरण भइरहेको उनको धारणा थियो। ज्ञवालीले डिजिटलाइजेसनको सबैभन्दा ठूलो उपलब्धि सूचना र तथ्यांक व्यवस्थापनमा देखिएको बताए। पहिले कागजी रूपमा राखिने अधिकांश अभिलेख, विवरण र तथ्यांक अहिले डिजिटल माध्यममा सुरक्षित रूपमा संग्रहित भइरहेका छन्। ग्राहकको व्यक्तिगत विवरणदेखि वित्तीय कारोबारका रेकर्डसम्मका सूचनाहरू डिजिटल प्लेटफर्ममा सुरक्षित हुने व्यवस्था डिजिटलाइजेसनले सम्भव बनाएको उनले उल्लेख गरे।
उनका अनुसार आगामी दिनमा बैंकिङ सेवा अझ आधुनिक र सहज बन्दै जानेछ। अहिले मोबाइल एपमार्फत खाता खोल्ने, रकम स्थानान्तरण गर्ने, बिल भुक्तानी गर्ने तथा विभिन्न वित्तीय सेवा प्राप्त गर्ने कार्य सामान्य भइसकेको छ। भविष्यमा बायोमेट्रिक तथा फेसियल रिकग्निसन प्रविधिको प्रयोग बढ्दै जाँदा ग्राहकले केवल आफ्नो अनुहार वा हेराइको आधारमा नै खाता सञ्चालन गर्ने, भुक्तानी गर्ने तथा अन्य बैंकिङ सेवा प्राप्त गर्ने अवस्था आउन सक्ने उनले बताए। सीईओ ज्ञवालीले कृत्रिम बुद्धिमत्ताको प्रयोगले बैंकिङ क्षेत्रको निर्णय प्रक्रिया थप प्रभावकारी र छिटो बन्ने बताए। विशेषगरी कर्जा स्वीकृति, क्रेडिट मूल्याङ्कन, जोखिम विश्लेषण तथा ग्राहकको वित्तीय अवस्थाको अध्ययनजस्ता कार्यहरू एआईको माध्यमबाट स्वचालित रूपमा सम्पन्न हुन सक्ने उनको भनाइ थियो। यसले सेवाग्राहीले छिटो, पारदर्शी र सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्ने उनले बताए।
उनले बैंकिङ क्षेत्रको भविष्य प्रविधिमा आधारित हुने उल्लेख गर्दै डिजिटलाइजेसन र एआईलाई केवल विकल्पका रूपमा नभई आवश्यकता र अपरिहार्यताको रूपमा लिनुपर्ने धारणा राखे। बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफूलाई रूपान्तरण गर्न नसके प्रतिस्पर्धामा टिक्न कठिन हुने उनले चेतावनी दिए। कार्यक्रममा उनले नेपालले डिजिटल बैंकिङ र डिजिटल पेमेन्टमा हासिल गरेको उपलब्धिलाई अब एआई, डाटा एनालिटिक्स र स्वचालित वित्तीय सेवासँग जोड्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। यसले बैंकिङ क्षेत्रलाई थप आधुनिक, प्रभावकारी र ग्राहकमैत्री बनाउनुका साथै समग्र वित्तीय प्रणालीको दक्षता र विश्वसनीयता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने उनको निष्कर्ष थियो।


