काठमाडौं । वरिष्ठ कृषि अर्थविद् तथा वातावरणविद् लक्ष्मण गुरुङले पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएको बताएका छन्। उनका अनुसार ग्रामीण तहका कृषकहरूले डिजिटल माध्यमको उपयोग गर्दै कृषि उत्पादन, बजार व्यवस्थापन तथा सूचना प्राप्तिमा उल्लेखनीय लाभ लिन थालेका छन्। यसले कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्नुका साथै उत्पादनशीलता र आम्दानी बढाउन सहयोग पुर्याइरहेको छ।
मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘एआई एन्ड डिजिटलाइजेसन समिट २०२६’ मा गुरुङले डिजिटल प्रविधि र एआईले गाउँ र सहरबीचको दूरी मात्र कम नगरी नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। कृषकहरूले अनलाइन प्लेटफर्म, डिजिटल बजार र आधुनिक प्रविधिको प्रयोगमार्फत आफ्ना उत्पादनको प्रचार–प्रसार तथा बिक्री वितरण गर्न सक्ने भएकाले यसले निर्यात प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको धारणा छ। उनले विश्वव्यापी रूपमा कृषि क्षेत्रमा डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै नेपालले पनि यस अवसरलाई सदुपयोग गर्नुपर्ने बताए। एआईको प्रयोगबाट उत्पादन योजना, रोग–कीरा व्यवस्थापन, मौसम पूर्वानुमान, बजार विश्लेषण तथा आपूर्ति शृंखला व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।
ग्रामीण अर्थतन्त्रको दिगो विकासका लागि सूचना तथा सञ्चार पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै गुरुङले राज्यले विशेष गरी ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवा विस्तारमा लगानी बढाउनुपर्ने बताए। इन्टरनेट पहुँच सहज र सर्वसुलभ भएमा कृषकहरू आधुनिक प्रविधिसँग जोडिन सक्ने, बजारको जानकारी तत्काल प्राप्त गर्न सक्ने तथा आफ्ना उत्पादनलाई व्यापक बजारसम्म पुर्याउन सक्ने उनको विश्वास छ। उनले कृषकहरूको डिजिटल साक्षरता अभिवृद्धि गर्न र प्रविधिमैत्री कृषि वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। डिजिटलाइजेसन र एआईको प्रभावकारी उपयोगले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउँदै कृषि क्षेत्रको आधुनिकीकरण र समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको निष्कर्ष छ।


