April 13th, 2020

भारतीय रिजर्व बैंकले भन्यो ‘कोभिड १९ ले अनुमान भन्दा बढी आर्थिक क्षति गर्नेछ’

बैंकिङ खबर । भारतको रिजर्व बैंकको नीतिगत समीक्षा बैठकले कोभिड १९ महामारीको प्रतिकूल असरहरुलाई कम गर्न चौतर्फी उपायहरु आवश्यक रहेको निश्कर्ष निकालेको छ । यस अवस्थालाई ध्यानमा राखी रिजर्व बैंकले आर्थिक बृद्धि र वित्तीय स्थिरता कायम गर्न सक्षम हुनका लागि आवश्यक सबै कदम चाल्ने भएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर शाक्तिकांत दासको अध्यक्षतामा रहेको मौद्रिक नीति समितिको बैठकले अनुमान गरिए भन्दा धेरै बढी आर्थिक अबस्था कम्जोर हुने अनुमान गरेको छ । तीन दिने बैठक पछि आरबीआईले प्रमुख नीतिदर ’रेपो’ मा ०.७५ प्रतिशतले घटाएर ४.४० प्रतिशत र रिभर्स रेपो दर ०.९० प्रतिशतले घटाएर ४ प्रतिशतमा ल्याइएको छ । यस बैठकको सोमबार रिजर्व बैंकले जारी गरेको विवरण अनुसार दासले विश्वव्यापी रुपमा समष्टि आर्थिक स्थिति बिग्रिएको बताएका छन् । उनले धेरै देशका अधिकारीहरू र केन्द्रीय बैंकहरूले लकडाउन र सामाजिक दूरीका कारण समष्टि आर्थिक गिरावटसँग सामना गर्न लक्षित नीतिगत साधनहरूको विस्तृत श्रृंखला प्रयोग गरेको जनाएका छन् । उनले भने “विश्वव्यापी मन्दीको सम्भावना बढ्दो छ, जुन अघिल्लो विश्वव्यापी वित्तीय संकटको भन्दा पनि गहिरो हुन सक्छ ।”
दासका अनुसार भारतमा पनि अल्पकालिन अवधिको वृद्धि अनुमानमा ठूलो गिरावट आएको छ । सुरुमा विश्वव्यापी गिरावट र कोविड १९ को संक्रमणको वृद्धिका कारण र यस पछि महामारीलाई रोक्न सरकारले देशव्यापी लकडाउन घोषणा गरेपछि यस्तो अवस्था भइरहेको देखिएको हो । मुद्रास्फीतिबारे पनि दासले परिदृश्यमा व्यापक बदलाव आएको जनाएका छन् । कमजोर जीडीपी मागले मुद्रास्फीति नियन्त्रण गर्न मद्दत गर्दछ । गभर्नरले कोभिड १९ लाई मानव जीवन र व्यापक अर्थव्यवस्थालाई तहसनहस गर्नु अघि नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]