सन् २०१६ को पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा अनपेक्षित सुधार आएको एक सरकारी तथ्याङ्कले देखाएको छ । जनवरी–मार्च अवधिमा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ दशमलव १ प्रतिशत बढेको अर्थ मन्त्रालयले बताएको छ । पहिलो त्रैमासको आर्थिक वृद्घि यसअघि गरिएको शून्य दशमलव ८ प्रतिशतको तुलनामा बढी हो । सो अवधिमा अमेरिकाको निर्यातमा उच्च वृद्घि भएका कारण अर्थतन्त्र फस्टाएको हुन सक्ने विश्लेषण गरिएको छ । यद्यपि सो अवधिमा उपभोक्ता खर्च भने सन् २०१४ को पहिलो त्रैमासयताकै सुस्त अर्थात् १ दशमलव ५ प्रतिशत बढेको तथ्याङ्क छ ।
स्वास्थ्य सेवाजस्ता सेवा क्षेत्रमा उपभोक्ताको खर्च घटेको र केही क्षेत्रमा अत्यधिक जाडो मौसमका कारण पनि उपभोक्ता खर्च गर्न सचेत भएको पाइएको छ । यसले दोस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्रको सकारात्मक नतीजा आउने सङ्केत दिएको बताइएको छ । तर, बेलायतले गरेको यूरोपेली सङ्घ छोड्ने निर्णय भने अर्थतन्त्रका लागि केही टाउको दुखाइको विषय बन्न सक्ने धेरैको अनुमान छ । यो वर्ष अमेरिकी अर्थतन्त्र झण्डै २ दशमलव ४ प्रतिशत बढ्ने अर्थ्विद्हरूको अनुमान छ । एजेन्सी