
निक्षेपमा बढोत्तरी, आम्दानी, कर्जा असुली, बैंकिंग सम्पतिको बिक्री, मुद्राबजारबाट प्राप्त सापटी आदि बैंकिंग क्षेत्रको सन्दर्भमा तरलताका स्रोत हुन् भने यसको उपयोग निक्षेपको भुक्तानी, कर्जा प्रवाह, संचालन खर्च तथा कर भुक्तानी, मुद्राबजारबाट प्राप्त रकमको भुक्तानी, लगानीकर्ताहरुलाई लाभांश भुक्तानी आदि मार्फत हुन्छ । यी मध्ये प्रमुख श्रोत निक्षेप हो भने यसको उपयोग कर्जा तथा लगानीको माध्यमबाट हुन्छ ।
बैंक तथा वित्तीय संस्थामा कुनै समय बिन्दुमा तरलता सन्तुलनको अवस्था विरलै हुने गर्दछ । बैंकहरु कहिले तरलताको कमी त कहिले अधिक तरलताको समस्यासँग जुधिरहेका हुन्छन् । तरलता समस्या समाधानका लागि निश्चित प्रक्रिया अपनाउने गरिन्छ । यसका लागि पहिले तरलताको पहिचान गर्ने त्यसपछि व्यवस्थापन गर्ने अनि उपयोग गर्ने गर्नुपर्छ । यी तीन विषयहरु अन्तरसम्बन्धित भएकाले एउटाको सफल कार्यान्वयनले मात्र अर्कोको कार्यान्वयनको लागि मार्ग प्रशस्त गर्दछ ।
पहिचानको चरण तरलता व्यवस्थापनको आधारभुत चरण हो । यस अन्तर्गत तरलतालाई प्रभाव पार्ने विभिन्न शीर्षकका मौज्दातको पहिचान गर्ने, पोजिसन निक्र्योल गर्ने, तथ्यांक संकलन तथा प्रशोधन गर्ने काम गरिन्छ । यसबाट बैंकको तरल सम्पति तथा दायित्वको पहिचान हुन्छ । पहिचान गरिएको तरलताको अधिकतम आम्दानी हुने गरी उपयोग गर्न मद्दत गर्ने काम व्यवस्थापनको चरणमा गरिन्छ । यस अन्तर्गत तरल सम्पतिलाई एकिकृत गर्ने, समुहीकृत गर्ने तथा प्रयोग गर्ने काम गरिन्छ । बैंक तथा वित्तीय संस्थाको सम्पतिमा वृद्दि गर्ने उद्दश्यले निरन्तर गरिरहने कार्य तरलताको उपयोगको चरणमा हुन्छ । यसको लागि सवै मुद्राहरुको, सवै खाताहरुको र सबै ग्राहकहरुको तरलताको अवस्था जान्न सक्ने उच्चस्तरको समझदारीको आवश्यकता हुन्छ ।
अहिले नेपालमा तरलता अभावको अवस्था छ । नेपाल राष्ट्र बैंकले मौद्रिक अधिकारीको हैसियतले मौद्रिक नीति मार्फत विभिन्न उपकरणहरुको प्रयोग गर्दै तरलता व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले तरलता बढी भए खिच्ने र कम भए प्रवाह गर्ने गर्दछ । तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ भने तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ ।
वर्तमान समयमा देखिएको तरलताको समस्या समाधानका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :
रिपो
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको
समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।
सोझै खरिद
बैंकिङ प्रणालीमा संरचनात्मक प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण“सोझै खरिद” हो । यो उपकरणको निष्कासनमा नेपाल राष्ट्र बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाहरूबाट खरिद गर्दछ । बोलकबोलमा सफल बोलकर्ताको टे«जरी बिल नेपाल राष्ट्र बैंकले खरिद गरी सो वापत हुने रकम ती बोलकर्तालाई भुक्तानी गर्ने भएकोले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।
सीसीडी रेसियोमा कडाई
अहिले अधिकांश बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतनजिक पुगेको अवस्था छ । पहिले बैंकहरु ७८ प्रतिशतसम्म पुग्दा कर्जा प्रवाहमा नियन्त्रण गर्थे । राष्ट्र बैंकले अर्को बैंकबाट सीसीडी रेसियो नै किन्न पाइने व्यवस्था गरेपछि बैंकहरु बिना संकोच कर्जा प्रवाह गरिरहेका छन् । यसबारे अनुगमन गरी उचित विकल्प निकाल्नुपर्ने देखिन्छ ।




