बैंकिङ खबर / अर्थ मन्त्रालयले उद्योगी तथा व्यवसायीका गुनासा र समस्याको छिटो सम्बोधन गर्न ‘रेस्पोन्स डेस्क’ स्थापना गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार उद्योगी तथा व्यवसायीहरूसँगको छलफलअघि उक्त घोषणा गरेका हुन्।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट उठेका समस्यालाई अब लामो समयसम्म अल्झाएर नराखी सम्बन्धित निकायसँग तत्काल समन्वय गरेर समाधानको प्रक्रियामा लगिने बताए। ‘रेस्पोन्स डेस्क’ मार्फत व्यवसायीहरूले उठाएका विषयको नियमित अनुगमन तथा आवश्यक समन्वय गरिने उनले जानकारी दिए।
उनले अब समस्या थन्क्याउने होइन, समाधान गर्ने कार्यसंस्कृतिको विकासमा सरकार केन्द्रित रहने बताए। निजी क्षेत्रको मनोबल उकास्न र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले उद्योग सञ्चालनमा देखिएका जग्गा, विद्युत्, श्रम, ढुवानी, वित्तीय पहुँच तथा कच्चा पदार्थसँग सम्बन्धित अवरोध हटाउन आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न सरकार तयार रहेको पनि बताए।

