February 3rd, 2019

जीवन बीमा के हो ? के के छन् यसका फाइदाहरु

बैंकिङ खबर । जीवन बीमा बचत र लगानी दुवै हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समयअवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । जीवन बीमाले जस्तोसुकै पिडीतलाई पनि डर त्रासबाट मुक्त गराएर सहयोग गर्ने गर्दछ ।

जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ । बोनस  इन्स्योरेन्सबाट बोनस प्राप्त हुन्छ । मानिसहरुले जीवन बीमा गरेका हुन्छन् । बीमा समयअवधी सकिसकेपछि बीमीतमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिने गर्दछ । 

जीवन रक्षा 
इन्स्योरेन्सबाट बोनसभन्दा पनि महत्वपुर्ण पक्ष भनेको जीवनको सुरक्षा हो । जीबन बीमाले मानिसको मृत्युपछि मात्र नभएर कुनै घातक रोक लाग्यो भने पनि त्यसको उपचारका लागि पैसा दिने गर्दछ । मानिसको जीवनमा अनेक प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिमध्ये सबैभन्दा ठुलो विपत्ति मृत्यु हो । रोगव्याधि, दुर्घटना वा अन्य कुनै कारणले मानिसहरुको अकाल मृत्यु हुन सक्छ । यस्तो अवस्थामा मृतकको परिवारलाई आर्थिक टेवा दिने माध्यम भनेको बीमा नै हो । बीमा कम्पनीबाट बोनसभन्दा पनि कस्तो खालको सुरक्षा प्राप्त हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । कसलाई के हुन्छ भनेर भन्न सकिँदैन । त्यसकारण सबै मानिसहरुले बीमा गर्नुपर्छ । बीमा कम्पनीले बचत पनि गर्दछ । थोरै थोरै पैसा धेरै वर्षसम्म जम्मा गर्दै जाँदा पछि यसलाई लगानीको माध्यमबाट पनि अपनाउन सकिन्छ ।

आर्थिक सुरक्षा
जीवन बीमाको चर्चा हुनेबित्तिकै आर्थिक सुरक्षाको पनि कुरा आउँछ । बीमा नै यस्तो साधन हो, जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको कवचका रूपमा काम गरेको हुन्छ । बीमामा बीमितको धेरै ठूलो रकमको जोखिम वहन भएको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमाङ्क तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई प्रदान गर्छ । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।

परनिर्भरता उन्मूलन 
जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन ।

भविष्यको योजना निर्माण
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसँग भविष्यका योजनाहरु पनि हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । उदाहरणका लागि ३ वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

मुलुकको विकासमा भूमिका
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ ।  पूर्वाधार निर्माणमा सबैभन्दा बढी पुँजी जीवन बिमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।

छोराछोरीको शिक्षा
हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]