बैंकिङ खबर । माइक्रोफाइनान्स क्षेत्रले बजेटलाई स्वागत गरेको छ । लघुवित्त क्षेत्रको उद्देश्यलाई सघाउ पुर्याउने खालको नीतिहरु आएको भन्दै माइक्रोफाइनान्सहरुले बजेटको स्वागत गरेका हुन् । माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीले विपन्न वर्गलाई बजेटले लक्षित गरेकाले उनीहरुको जीवनस्तर सुधारमा ठूलो मद्दत पुग्ने बताए ।
लघुवित्तको मर्म र सरकारी नीति मिलेको छ
रामचन्द्र जोशी, अध्यक्ष, माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन
हाल सार्वजनिक भएको बजेटले विपन्न वर्गलाई लक्षित गरेको छ । यस बर्ष सार्वजनिक भएको बजेट अत्यन्त राम्रो तवरबाट विनियोजित भएको छ । सरकारी तवरबाट पनि विपन्न वर्गलाई लक्षित गरेको छ । सरकार र लघुवित्त संस्था दुवै पक्ष मिलेर विपन्न वर्गलाई सहयोग गर्दा उनीहरुको जीवनस्तर सुधार हुन्छ । त्यस्तै, अर्थमन्त्रीले विपन्न वर्गलाई विना धितो कर्जा दिन, विभिन्न तालिम र शिक्षा क्षेत्रमा शैक्षिक प्रमाणपत्र धितो राखि पाँच प्रतिशत व्याजदरमा सात लाख ऋण दिने घोषणा गरेका छन् । यसो गर्नाले विपन्न वर्गहरुको जीवनस्तर सुधार हुन्छ । समग्रमा, अहिले सार्वजनिक भएको बजेट सन्तोषजनक छ । लघुवित्तको मर्म र सरकारी नीति मिलेको छ । लघुवित्तले विपन्न वर्गमाथि जुन रुपमा काम गर्न खोजेको थियो, सरकारले पनि सोही नीति अबलम्बन गरेको छ । गरिब तथा विपन्न वर्गहरुलाई फोकस गरेर कार्यक्रम आएको हुनाले सार्वजनिक बजेट सन्तोषजनक छ ।

