बैंकिङ खबर । नेपाल राष्ट्र बैंकसँग दुई वर्षभन्दा बढीको बजार माग धान्न सक्ने सिक्का मौज्दात रहेको छ । हाल सिक्को लागि कुनै कठिनाई नहुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकसँग १ रुपैयाँ र २ रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात छ । सो मौज्दातले दुई वर्ष सम्म सजिलै बजारको माग धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
हाल राष्ट्र बैंक टक्सार विभागसँग १८ करोडभन्दा बढी सिक्काको मौज्दात छ । त्यस्तै, राष्ट्र बैंकको विराटनगर शाखासँग ७४ करोड रुपैयाँ भन्दा बढी, जनकपुर शाखासँग ५९ लाख रुपैयाँ, वीरगंन्ज शाखासँग ९५ लाख रुपैयाँ सिक्का मौज्दात छ । त्यस्तै, राष्ट्र बैंकको पोखरा शाखा कार्यालयसंग ३४ लाख रुपैयाँ, भैरहवा शाखासँग २१ लाख रुपैयाँ, नेपालगञ्ज शाखासँग ६७ लाख र धनगढी शाखा कार्यालयमा ७८ लाख रुपैयाँ सिक्का मौज्दात रहेको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ । राष्ट्र बैंकसँग भएको सो मौज्दातले तत्काल सिक्का नछापे पनि बजार माग धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘हामीसँग भएको सिक्काको मौज्दातलेदुई वषसम्म धान्न सक्छ ।’ सहायक प्रवक्ता पण्डितका अनुसार राष्ट्र बैंकले विभिन्न पाँच कम्पनीहरुलाई सिक्का छपाईका लागि टेन्डर खोल्ने प्रक्रिया अघि बढाएको छ ।
राष्ट्र बैंक अनुसार सबैभन्दा बढी सिक्का तुला दानमा प्रयोग हुने गरेको छ । धार्मिक विधिअनुसार मानिस बराबरको सिक्का दानमा दिने गरिन्छ, जसलाई तुला दान भनिन्छ । त्यस्तै, महानगरका पसलहरु ,माइक्रो बस, बैंक तथा वित्तीय संस्थाहरु, डिपार्टमेन्ट स्टोरहरु, नेवारहरुको पूजामा तथा अन्य विभिन्न प्रयोजनका लागि १ र २ रुपैयाँ दरका सिक्का बढी मात्रामा प्रयोग हुने गरेका छन् । हाल दैनिक १ र २ रुपैयाँका दैनिक २ लाख रुपैयाँ बराबरका सिक्का बिक्री हुने गरेको विभागको भनाई छ ।

