ए.पी. ढकाल । आजभोली दैनिक जसो आउने कर्मचारी माग विज्ञापनहरू हेर्दा लाग्छ बैंकहरू साँच्चै कर्मचारीहरू अभाव झेलिरहेका छन् । कहिले कुन बैंकको त कहिले कुन बैंकको कर्मचारी माग विज्ञापन दैनिक जसो आइरहन्छन् । झट्ट हेर्दा लाग्छ देशमा धेरै नै रोजगारी सृजना भएको छ । धेरैले सोच्छन् होला अब बैंकमा जागिर खान पाइने भइयो । तर वास्तविकता अलिक फरक छ । कतिपय बैंकहरुमा अरूको व्यवसाय र अरुको कर्मचारी तान्ने होड चलिरहेको छ । कर्मचारी नै तानेपछि व्यवसाय पनि सँगै आउँछ भन्ने मानसिकता रहेको छ । आफ्नो कर्मचारीहरूलाई तालिम, क्षमता अभिवृद्धि लगायतको झन्झटभन्दा आजकाल अरूको तालिम प्राप्त कर्मचारीलाई आफ्नो बनाउनु उपयूक्त देख्नु खासमा राम्रो होइन । तर उपयुक्त कर्मचारीहरू सित्तिमिति संस्था छोडिहाल्दैनन् । प्राय ः राम्रा र इमान्दार कर्मचारीहरू आफू जुन संस्थामा आवद्ध छन्, त्यसप्रति बफादार रहन्छन् र हत्तपत अरू संस्थाको महत्वाकांक्षा स्विकार गरिहाल्दैनन् । तर समस्या अर्कै छ । जसको चाकडि गर्ने क्षमता छ, माथिसम्म पहुँच छ, त्यो नै सबैभन्दा अब्बल ठहरिन्छ । जो इमान्दार छ, कामप्रति बफादार छ, अनि आफ्नो कामलाई सर्वाेपरि ठान्छ, अनि सिपको साथसाथै क्षमता पनि छ तर उ कसैको चाकडि गर्दैन, पहुँच छैन त्यो दविएर बसेको हुन्छ । उ न त आफ्नो संस्थामा प्रमोशनको आशा राख्न सक्छ न त आफु काम गरिरहेको संस्था छोडेर अरू संस्थामा जान सक्छ ।
चाकडीभन्दा दक्षता महत्वपूर्ण
साँच्चै भन्ने हो भने बैंकिङ व्यवस्थापन तहमा रहेको कमजोरी पनि यहि हो । आफु कुन अवस्थाको सामना गरेर त्यो स्थानसम्म पुगेको हुन्छ फेरी अरू कसैको लागी किन अवसर दिने वा अझ भनौँ कोही आफुभन्दा खुबिवान आयो त्यसलाइ अवसर दियो भने आफुभन्दा माथि पुग्ला भन्ने डर । आफ्नै संस्थामा काम गर्नेको खुबि थाहा त अवश्य पनि हुन्छ नै । त्यो खुबि र क्षमता बुझ्दा बुझ्दै पनि बैंकहरू किन आफ्ना बैंकका कर्मचारीलाई छोडेर अरू बैंकका त्यहि तहकाहरूलाई भर्ति गर्न चाहान्छ ? अरू बैंकमा काम गरेको कर्मचारी आउँदैमा बैंकको हैसियत एकाएक माथि पुग्ने त अवश्य पनि होइन होला । आज एउटा बैंकले अर्काे बैंकको कर्मचारी तान्छ भने अवश्य भोली उसले पनि सम्बन्धित बैंकको कर्मचारी तानि नै हाल्छ । अनि नाफाघाटा बराबर । यसर्थ यस्तो खेलमा बैंकहरु लाग्नु व्यर्थ छ ।
बैंकहरूले राम्रो काम गरिआएका कर्मचारीहरूलाई प्रमोशन दिने अनि तल्लो तहमा भर्ना गर्दा कामको आधारमा स्वतः बढुवा हुने पम्पराले कर्मचारीमा हौसला प्रदान हुने र बैकिङ्ग कसुर जति पनि बडिरहेको छ त्यो पनि स्वतः कम हुँदै जाने निश्चित हो । आजभोली जति पनि बैंकहरूमा अपराधिक गतिविधि बढिरहेको छ त्यसको जिम्मेवार अरू कोही नभई बैंकहरू आफैँ हुन् । क्षमता भन्दा अरूको देखासिकि र होडबाजीमा कर्मचारी भर्ना गर्नु गलत कार्य हो । जसले गर्दा बैंकभित्र हुने कर्मचारीले राम्रो काम गर्दा गर्दै पनि अवसरबाट बञ्चित हुँदा नचाहँदा नचाहँदै पनि ऊ नराम्रो सोँच्न बाध्य हुन्छ ।
बैंकमा हुने जोखिम न्युनिकरणमा बेलैमा ध्यान दिन जरुरी छ । आजसम्म देशको सबभन्दा पारदर्शि र आर्थिक उन्नतिको आधार भनेर चिनिएको बैकिङ्ग क्षेत्रलाई अब्बल बनाइराख्न बैंककै कर्मचारीको अहात रहन्छ । यसकारण कर्मचारी भर्ना गर्दा अन्य बैंकबाट चोर्ने, तान्ने र आफन्त एवं नातावादलाई प्रोत्साहन दिने कार्य बैंकहरुले बन्द गर्नु उपयूक्त हुन्छ । त्यसो भयो भने मात्रै बैंकप्रतिको विश्वास अझ फराकिलो हुने छ ।

