रामकिशोर मेहता । स्थापना कालदेखि १९ वर्षसम्म नेपालको केन्द्रीय बैंकको समेत काम गरेको नेपाल बैंक लिमिटेडको वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएसँगै नेपालमा बैंकिङ्ग क्षेत्रको औपचारिक शुरुवात भएको हो । नेपालको केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना वि.सं. २०१३ मा भएपछि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड विशुद्ध वाणिज्य बैंकको रुपमा निरन्तर सञ्चालनमा रहेको यस बैंकको प्रतिष्पर्धीको रुपमा राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकको क्रमशः वि.सं.२०२२ र २०२४ मा स्थापना भयो ।
विभिन्न अर्थशास्त्रीहरुको विभिन्न शोधहरुले बैंक तथा वित्तीय संस्थाहरुको उदारिकरणको पक्षमा दिएको निष्कर्षको आधारमा विश्वको अधिकांश देशहरुले अवलम्बन गरेको आर्थिक क्षेत्रको उदारीकरणबाट नेपालले आफुलाई अलग राख्न सकेन । विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको सहयोग तथा सुमmावमा नेपालले पनि १९८० दशकको मध्यतिर आफनो नीतिमा परिवर्तन गरि प्राइभेट बैंकलाई समेत आर्थिक क्षत्रमा प्रवेश गराउने नीति अवलम्बन गर्यो । फलस्वरुप नेपालमा पहिलो बैंक स्थापना भएको ४७ वर्ष पछि विदेशी तथा नेपालीको संयूक्त लगानीमा वि.सं. २०४१ सालमा पहिलो प्राइभेट बैंक नविल बैंकको स्थापना भयो । त्यसपछि अन्य बैंकहरुको समेत स्थापना हुन थाल्यो । परिणामस्वरुप हाल नेपालको आर्थिक क्षेत्रमा विभिन्न प्रकार तथा स्तरको बैंक तथा वित्तीय संस्था तथा सहकारीहरुको समिश्रण रहेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार नेपालमा अहिले २८ वाणिज्य बैंक, ३५ विकास बैंक, ३८ वित्तीय कम्पनिहरु, ६२ वटा माइक्रोफाइनान्स तथा ठूलो संख्यामा सहकारी संस्थाहरु सञ्चालनमा छन् । यसरी सयौँको संख्यामा रहेको बैंक तथा वित्तीय संस्थाहरुको हजारौँको संख्यामा रहेको विभिन्न शाखाहरुबाट नेपालमा वित्तीय कारोबारहरु हुने गर्दछ । यद्यपी देशको हरेक भुगोल तथा क्षेत्रमा बैंकको शाखाहरुको उपस्थिती एकनासको रहेको छैन । यस तथ्यलाई मध्यनजर गरि नेपाल सरकारले देशको प्रत्येक स्थानीय निकायमा कम्तिमा एउटा वाण्ज्यि बैंकको शाखा स्थापना गर्ने नीति लिएको छ । नेपाल सरकारको नीतिमा सहयोग गर्ने गरि नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा उनिहरुले गरेको वाचा अनुसार शाखा स्थापना गर्न हालै समयसीमा निर्धारण गरेको छ ।
जसरी कुनै गाउँमा स्थापना भएको स्कुलले मात्र गाउँको सबै बालबालिकाहरुले शिक्षा आर्जन गर्ने ग्यारेन्टि गर्न सकिँदैन, त्यसरी नै देशमा संख्यात्मक वृद्घि भएको बैंक तथा वित्तीय संस्थाहरुको शाखाहरुले मात्र सबै जनता लाभान्वित हुने अवस्था नभएको हुन सक्छ । तसर्थ, सबै जनतालाई बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउन आवश्यक हुन जान्छ ।
वित्तीय साक्षरता वा शिक्षा भनेको नेपाल राष्ट्र बैंकको नेतृत्व वा निर्देशन बमोजिम अन्य बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न योजना बनाई जनताहरुले वित्तीय संस्थाहरुको विभिन्न सेवाहरुको बारेमा जानकारी लिन सकिने उद्देश्य राखी बैंकहरुको व्यवसाय वृद्घिमा समेत सहयोग पुग्ने अन्तर्निहित लक्ष्य प्राप्ति गर्न बैंकहरुद्वारा सञ्चालित विभिन्न क्रार्यक्रमहरु सम्झनु पर्दछ । नेपालमा वित्तीय साक्षरताको महत्वलाई निम्नलिखित बुँदाहरु मार्फत समेत बुझ्न सकिन्छ :
१। सरकारी नीतिको उचित कार्यन्वयन गर्न
सरकारले देशको समग्र अर्थतन्त्रको समय सापेक्ष विशलेषण गरि उचित नीति तथा नियमहरु बनाउने गर्दछ । यसरी बनाएको नीति तथा नियमहरुको सफल कार्यान्वयनका लागि जनताहरुमा बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवाहरुको यथोचित जानकारी हुनुको साथै बैकिङ्ग बानीको विकास भएको हुनुपर्दछ । जस्तै सरकारले मुद्रा स्फीति नियन्त्रण गर्नको लागि मौद्रिक नीतिमार्फत अवलम्बन गर्ने विभिन्न औजारहरु जनतामा बैकिङ्ग बानीको अभावको कारण आशातित परिणाम ल्याउन सकिँदैन ।
२। वित्तीय निर्णय गर्न
वित्तीय साक्षरताले जनताहरुको वित्तीय निर्णय गर्ने क्षमतामा अभिवृद्घि गर्ने गर्दछ । वित्तीय साक्षरताको अभावमा जनताले अनौपचारिक तथा असंगठित क्षेत्रमा भर पर्ने अवस्थाको सृजना भएको हुन्छ । परिणाम स्वरुप उनीहरुले महँगो व्याजदरमा ऋण लिई आफनो कारोबार गरिरहेको हुन्छ । यदि वित्तीय साक्षरताको माध्यममार्फत जनताहरुलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरिरहेको विभिन्न सेवाहरुको जानकारी गराउन सकियो भने समाजमा रहेको केहि व्यक्तिहरुले साधारण तथा गरिब जनतालाई शोषण गर्ने प्रवृतिको अन्तय हुन सक्छ ।
३। विभिन्न नयाँ प्रविधिहरुको प्रयोग गर्न
वित्तीय साक्षरता मार्फत देशमा भित्रिएको पछिल्लो प्रविधीहरुको बारेमा जानकारी गराएर उक्त प्रविधिहरुको प्रयोगमार्फत छिटो तथा किफायती तरिकाले बैंकिङ्ग सेवा उपलब्ध गराई जनताको समय तथा लागतको वचत गर्नमा सहयोग गरि अर्थतन्त्रको विकासमा समेत मद्दत गर्न सकिन्छ ।
४। जनताको आर्थिक अवस्थामा सुधार ल्याउन
वित्तीय साक्षरतामार्फत जनतालाई गैरबैंकिङ्ग तथा असंगठित क्षेत्रबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्न सहयोग गरि समाजमा रहेका केहि शोषक व्यक्तिहरुको चंगुलबाट छुटकारा दिलाई सस्तो तथा आवश्यक रकमको कर्जा सुविधा उपभोग गर्न चाहिने विभिन्न कागजात तथा प्रक्रियाको बारेमा जानकारी गराई जनताको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि पनि वित्तीय साक्षरताको महत्व रहेको छ ।
५। देशको सन्तुलित विकास गर्न
देशको विभिन्न क्षेत्रमा रहेको बैंकको शाखाहरुबाट प्राथमिकताको क्षेत्रमा लगानी गरि देशको समग्र अर्थतन्त्रको साथै अविकसित क्षेत्रको यथोचित तथा द्रुत विकास गर्नको लागि समेत वित्तीय साक्षरताको महत्व रहेको छ । बैंकहरुको भौतिक उपस्थितीले मात्र देश तथा जनताको समुचित विकास सम्भव छैन ।
६। रोजगारी सिर्जना गर्न
वित्तीय साक्षरता मार्फत बैंकहरुसँग रहेको लगानीयोग्य कोषलाई देशको वृहत्तर हितको क्षेत्रमा लगानी गरि देशको अर्थतन्त्रको विकाशमा सहयोग पुर्याई बस्तु बजार तथा वित्तीय बजार समेतमा रोजगारीको थप सृजना गर्नको लागि वित्तीय साक्षरताको महत्व रहेको छ ।
७। मौद्रिकीकरण गर्न
वित्तीय साक्षरताको अभावमा अझै पनि देशको केहि भागमा बस्तुको सट्टा बस्तु अर्थात बार्टर सिस्टमको माध्यमबाट खरिद बिक्रि हुने गर्दछ । फलस्वरुप, सहज तथा छिटो विनिमयको अवसरबाट वञ्चित हुनुको साथै देशको कुल ग्राहस्थ उत्पादन समेतको सहि गणना नभएको अवस्था रहेको छ । तसर्थ, वित्तीय साक्षरता मार्फत यस्ता कमीकमजोरीहरुलाई हटाउन सकिन्छ ।
८। उद्यमशीलताको विकास गर्न
वित्तीय साक्षरता मार्फत उचित व्याजदर तथा आवश्यक रकमको उपल्बधता सुनिशिचत गराई जनतामा उद्यमशीलताको सृजना गर्न सकिन्छ । असंगठित क्षेत्रको चर्को व्याजको कारणले समेत कति व्यक्तिहरु आफ्नै स्तरबाट केहि गर्ने समेत सोच्न सकिरहेका हुँदैनन् ।
९। बैंकहरुको गलत नीतिहरुको अन्त्य गर्न
वित्तीय शिक्षाको माध्यमबाट जनताहरुलाई बैंकहरुको विभिन्न नीति नियमहरुको बारेमा जानकारी गराई बैंकहरुले अवलम्बन गरिरहेको गलत नीतिहरुको विरोध गरी बैंकहरुलाई जनताको हित हुने नीति अपनाउन बाध्य पार्न सकिन्छ । यसको साथै विभिन्न र्बैकहरुले सेवा प्रदान गरे वापत असुल गर्ने रकमको तुल्नात्मक अध्यन गरि जनतालाई शोषण गर्ने बैंकलाई समेत सस्तोमा सेवा प्रदान गर्न बाध्य पार्न वित्तीय साक्षरताको महत्व रहेको हुन्छ ।
माथि उल्लेखित बुँदाहरु बाहेक देशको शोधान्तर वचतमा वृद्धि गर्न, चेक प्रयोग गर्ने बानीको विकास गरि मुद्रा प्रयोग गर्दा हुने जोखिम कम गर्न, सरकारले प्रदान गर्ने विभिन्न किसिमको भत्ताहरु बैंकहरुबाट सजिलै पाउन, बचत गर्ने बानीको विकास गर्न लगायत अन्य धेरै प्रयोजनको लागि वित्तीय साक्षरताको महत्व रहेको छ ।
हालै गरिएको एक सर्वेक्षण अनुुसार नेपालको १५ वर्ष वा सो भन्दा बढी उमेर समुहको लगभग १७ प्रतिशत व्यक्तिहरु मात्रको बैंक तथा वित्तीय संस्थाहरुमा खाता रहेको छ । यसले के देखाउँदछ भने नेपालको बहुसंख्यक व्यक्तिहरु औपचारिक बैंकिङ्ग क्षेत्रबाट बाहिर रहेका छन् । तसर्थ, नेपालको वित्तीय साक्षरता अभिवृद्घिका लागि विश्वको अन्य देशहरुको केन्द्रीय बैंकहरुले नेतृत्व गरेको जस्तै नेपाल राष्ट्र बैंकले पनि यस सन्दर्भमा अग्रणी भुमिका खेल्न आवश्यक छ ।


